Friday, June 5, 2026

गुल्मीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

0
रिडीमा यात्रु सहायता कक्षको उद्घाटन गर्दै ।

तिलाचन पाण्डे
असोज २१,२०८१ गुल्मीः चाडपर्व लक्षित यात्रुहरुको सुरक्षाका लागि गुल्मीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको बुढाथोकी बसपार्क,उदिनढुङगा,रुरुक्षेत्र गाउँपालिकाको रिडी,मुसिकोट नगरपालिकाको वामी,चन्द्रकोट गाउँपालिकाको शान्तीपुर, सत्यवती गाउँपालिकाको जोहाङ र मदाने गाउँपालिकाको पुर्कोटदहमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दसैँतिहार छट पर्वलाई मध्यनजर गर्दै यात्रुहरुको भीड लाग्ने स्थानहरुमा सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । एक स्थानमा दुई जनाका दरले १४ जनाको जनशक्ति खटिएको र आवश्यक परेमा थप जनशक्ति पनि परिचालन गर्न सक्ने उहाँले बताउनुभयो ।

चाडपर्वको मौका छोपी सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र बढी भाडा लिन सक्ने भन्दै चेकजाँचमा कडाई गरिएको उहाँले बताउनुभयो । चाडपर्वको समयमा यात्रुहरु ठगिने,बढी भीडभाड हुने भएकाले त्यसको न्यूनीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको पोखरेलको भनाइ छ । आफूहरुलाई परेको समस्या र कुनै अन्यौलता भएमा यात्रुहरुले सहायता कक्षबाट सेवा लिन सक्ने गरी ब्यबस्था गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय गुल्मीले चाडपर्व लक्षित सुरक्षा योजना बनाइ लागुसमेत गरेको जनाएको छ । चाडपर्वको समयमा अपराधिक घटना ,चोरी, मदिरा सेवन गरी झैझगडा, हो हल्लालगायतका कार्यहरु हुनसक्ने भएकाले ग्रामीण स्तरमासमेत प्रहरी परिचालन गरेको पोखरेलले बताउनुभयो ।

कार्यालयले क्विक रिसपोन्स टिम पनि बनाएर आवश्यकता अनुसार तयारी अवस्थामा राखेको पोखरेलले बताउनुभयो ।

भ्रामक सूचनाको पछि नलाग्न गुल्मीदरबारको आग्रह

0
पत्रकार भेटघाट कार्यक्रममा पालिकाको धारण राख्नुहुँदै गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापा । तस्विर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज १४,२०८१ गुल्मीः गुल्मीदरबार गाउँपालिकाले भ्रामक सूचनाको पछि नलाग्न गाउँपालिका बासीलाई आग्रह गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले केही सञ्चार माध्यममा गाउँपालिकाप्रति लक्षित गर्दै भ्रामक र तथ्यहीन समाचार आएकाले त्यसमा कुनै सत्यता नभएको बताउनुभएको छ । गाउँपालिका पालिका भित्रका नागरिकप्रति बफादार,उत्तरदायी रहनुका साथै कसैमाथि राजनीतिक पूर्वाग्रहले नहेरिएको उहाँले स्पस्ट पार्नुभएको छ । स्थानीय सरकारले सबैलाई समान ब्यबहार गरेको बताउँदै पालिका भित्रका नागरिकलाई सम्पन्न र आत्मनिर्भर बनाउनका लागि पालिका लागि परेको उहाँको भनाइ छ ।
गाउँपालिका भित्रका ९० प्रतिशत नागरिकहरुको घरमा एक घर एक धारा पुगेको बताउँदै यस आर्थिक वर्षमा सबैको घरमा एक घर एक धारा पुग्ने दाबी गर्नुभयो । जसका लागि उचित बजेटको ब्यबस्था गरेको उहाँको भनाइ छ ।

यस्तै गुल्मी जिल्लामै पहिलो १५ वेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनको तयारी रहेको बताउनुभयो । एम बी बी एस डाक्टरका लागि आवेदन खुलाएको बताउँदै अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरिएकाले जतिसक्दो छिटो सञ्चालनका लागि पालिकाले तयारी गरिरहेको थापाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा सडकहरुको स्तरवृद्धि गर्नका लागि टेण्डर खोलिएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा करिव सात किलोमिटर सडक कालोपत्रे गर्ने र १० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य लिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पालिकाको ४६ करोडको बजेटले अपेक्षा गरे अनुसार कार्य सम्पन्न गर्न नसकिने भएकाले संघीय र प्रदेश सरकारबाट थप बजेटको ब्यबस्था गरी सडकको स्तरउन्नतीका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदैँ आएको गाउपालिकाले जनाएको छ ।

गुल्मीदरबार गाउँपालिकामा खादा निषेध

0
गुल्मीदरबार गाउँपालिकाको कार्यालय । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज १३,२०८१ गुल्मीः गुल्मीदरबार गाउँपालिकाले पालिका भित्र खादा निषेध गरेको छ ।

गाउँपालिकाले खादामा मात्रै धेरै रकम खर्च हुने र त्यसको पुनः प्रयोग पनि नहुने भएकाले निषेध गरिएको गाउँपालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो ।

पालिका भित्र हुने जुनसुकै कार्यक्रमहरुमा खादा निषेध गरिएको र स्थानीय उत्पादन फूल, मालालाई भने प्राथमिकता दिएको उहाँको भनाइ छ । बाहिरबाट आउने एउटा खादालाई मात्रै एक सय रुपियाँ पर्ने भएकाले खर्चिलो हुने र त्यसको पुनः प्रयोग पनि नहुने भएकाले निषेध गरिएको थापाले बताउनुभयो । पालिका भित्र स्थानीयले उत्पादन गर्ने फुल मालालाई प्राथमिकता दिने र स्थानीयले नै खादा उत्पादन गरे भने त्यसलाई प्राथमिकता दिने गरी योजना बनाएको उहाँको भनाइ छ ।

पालिका भित्रका नागरिकलाई फूल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने गरी पालिकाले योजना बनाएकाले फूल उत्पादन र माला बनाउनेलाई पालिकाले सहयोग गर्ने पनि थापाले बताउनुभयो । पालिका भित्रका नागरिकलाई आत्म निर्भर बनाउनका लागि पालिकाले ब्यबवसायीक रुपमा कृषि र पशुपालनका साथै पर्यटनमा पनि जोड दिएको जनाएको छ ।

पछिल्लो समयमा युवाहरु विदेशीने लहर चलेको भन्दै त्यसलाई न्यूनीकरण गर्नका लागि पनि ब्यबसायीक रुपमा कृषि र पशुपालन नै उत्तम विकल्प रहेको थापाको दाबी छ ।

नागरिकता भन्दा राहदानी बनाउने बढी

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज १३,२०८१ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन् ।

१२० जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा २२७ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १२०, प्रतिलिपि ११६, नावलक परिचयपत्र १२, राहदानीका लागि आवेदन २२७ , राहदानी वितरण ११८,राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३१६, परिचयपत्र वितरण १५७, संस्था नविकरण ३ र १३२ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

यस्तै सोही अवधिमा राहदानीबाट १२ लाख २६ हजार पाँच सय रुपियाँ र संस्था नविकरणबाट १५ हजार गरि १२ लाख २६ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता ,राहदानी र परिचयपत्र बनाउनेको सङख्यामा वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ । दशै तिहारजस्ता पर्वहरु आएकाले पर्व मनाउन देशका शहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङख्यामा पनि वृद्धि हुने गैरेले बताउनुभयो ।

लोप हुँदै गोलो घर

0
लोप हुन थालेको खरले छाएको गोलो तथा घुमाउरो घर । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज ९,२०८१ गुल्मीः पछिल्लो समयमा पक्की घर निर्माण तीब्र हुँदै गएका छन् । जिल्लामा पुराना र खरले छाएका घरहरु बिस्थापित गर्दै जस्तापाता लगाउँन अभियान नै चलाइएको छ ।

तर धेरै पुरानो खरले छाएको गोलो ,घुमाउरो तथा कुँडुले घर भने देख्न छाडिएको छ । माटाले गारो लगाउने र खरले छाएको उक्त घरमा चिसो समयमा न्यानो हुने र गर्मीको समयमा पनि अन्य घरको तुलनामा गर्मी नहुने बुढापाकाहरुले बताउँदै आउनुभएको छ ।
जिल्लामा लोप हुँदै गएको उक्त घर कालीगण्डकी गाउँपालिकाको वडा नम्वर एकको हर्मिचौर र वडा नम्वर दुई अर्वेनीमा बढीमा एक दर्जन मात्रै छन् । त्यी घरहरु भुकम्पको समयमा समेत सुरक्षित रहेको हर्मिचौरका ८४ वर्षीय खिमानन्द पाण्डेले बताउनुभयो । त्यी घरहरु अहिले लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्य घरहरु खरले छाउँन भन्दा यस घरलाई छाउनका लागि झण्डै दोब्बर बढी खर आवश्यक पर्ने उहाँले बताउनुभयो । एक पटक छाएपछि करिब पाँच वर्ष सम्म पानी नचुहिने र चिसो र गर्मीबाट पनि अन्य घरको तुलनमा सुरक्षित रहेको पाण्डेले बताउनुभयो । २०७२ सालमा गएको भुकम्पमा पनि अन्य घरहरुमा ठूलो क्षती भएपनि गोलो घरहरु सुरक्षित रहेको उहाँको भनाइ छ ।

गोलो तथा घुमाउरो घर लोप हुँदै गएकाले त्यस्ता घरहरुलाई संरक्षण गर्नका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय युवा तीलक रानाले बताउनुयो । पछिल्लो पुस्तालाई यस्ता घरहरु पनि पहिले हुन्थ्ये भन्ने सिकाउनका लागि पनि संरक्षणको आवश्यक रहेको उहाँको भनाइ छ ।
यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले यस्ता घरहरुलाई संरक्षण गर्नका लागि पालिकाले योजना बनाएको बताउनुभयो । अहिलेको अवस्थामा गोलो तथा घुमाउरो घरहरु बिरलै हुँने भएकाले पालिका भित्र रहेका करिब एक दर्जन घरहरुलाई संरक्षण गर्नका लागि पालिका लागेको बताउनुभयो ।

दुई नगर र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा कालीगण्डकीमा मात्रै गोलो घर भएको हुन सक्ने भएकाले यसको संरक्षण गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । गोलो घर मात्रै नभई पुरानो इतिहास र संस्कृति पनि यस्ता घरहरुसङग जोडिएकाले संरक्षण गर्न र भावी पुस्तालाई सिकाउन पनि पालिका रहेको बताउनुभयो । गत वर्ष देखी नै गोलो घर संरक्षण गर्नका लागि योजना बनाएको भए पनि पूरा हुन नसकेकाले चालु आर्थिक वर्षमा पूरा गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।

एक हप्ताको समयमा गुल्मीमा नागरिकता भन्दा राहदानी बनाउने बढी

0
जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज ५,२०८१ गुल्मीः एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन् ।

८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा २१७ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता ८५, प्रतिलिपि ६३,गैरआवसीय दुई, नावलक परिचयपत्र दुई, राहदानीका लागि आवेदन २१७ , राहदानी वितरण १९९,राष्ट्रिय परिचयपत्रका लागि आवेदन २५५, परिचयपत्र वितरण १२९, संस्था नविकरण ११ र १२५ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

यस्तै सोही अवधिमा राहदानीबाट ११ लाख दुई हजार पाँच सय रुपियाँ र संस्था नविकरणबाट ४९ हजार गरि ११ लाख ५१ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता ,राहदानी र परिचयपत्र बनाउनेको सङख्यामा वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

दशै तिहारजस्ता पर्वहरु आएकाले पर्व मनाउन देशका शहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङख्यामा पनि वृद्धि हुने शर्माले बताउनुभयो ।

मैत्री सहकारीद्धारा प्रशासनमा शुद्ध पिउँने पानीको फिल्टर जडान

0

तिलाचन पाण्डे
भदौ २७,२०८१ गुल्मीः स्थापना दिवसको अवसरमा यहाँको एक संस्थाले जिल्ला प्रशासनमा शुद्ध पिउँने पानीको फिल्टर जडान गरिदिएको छ ।

२४ औँ स्थापना दिवसको अवसरमा मैत्री बहुउद्येश्यीय सहकारी संस्थाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा करिव ४० हजार बरारबरको शुद्ध पिउँने पानीका लागि फिल्टर जडान गरिदिएको संस्थाका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सेवाग्राहीको पनि पनि बढी चाप हुने र शुद्ध पिउँने पानीको अभाव देखिएकाले स्थापना दिवसमा फिल्टर जडान गरिदिएको गौतमको भनाइ छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सामाजिक कार्य गरेको र यस्तै कार्यहरुलाई निरन्तरता दिदैँ जाने गौतमको दाबी छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संस्थाले गरेको सहयोगले सेवाग्राहीलाई थप राहत पुग्ने बताउनुभयो । एक बोतल पानी किन्नका लागि प्रशासन परिसरभन्दा बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनुका साथै समय र पैसा दुबैको बचत हुने उहाँको भनाइ छ । प्रशासन परिसरमै सेवाग्राीलाई फिल्टरबाट शुद्ध पिउँने ब्यबस्था मिलाइ दिएकोमा संस्थालाई धन्यबाद ब्यक्त गर्दै यस्तै रचानात्मक कार्यलाई निरन्तरता दिन आग्रह गर्दै संस्थाको थप सफलताको लागि शुभकामना समेत ब्यक्त गर्नुभयो ।

प्रशासन परिसरमा शुद्ध पिउँने पानीको फिल्टर जडान भएपछि आफूहरुलाई सेवा लिनका लागि पालो जान्छ की भन्ने भय हराउनुका साथै पैसा पनि बचत भएको सेवाग्राही मदन भण्डारीले बताउनुभयो ।

मैत्री बहुउद्येश्यीय सहकारी संस्थामा करिब १४ हजार सेयर सदस्यहरु रहेको र ८० करोड बढीको कारोवार भएको प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद आचार्यले जानकारी दिनुभयो । संस्थाले जिल्लामै पहिलो पटक ११ वटा बिद्युतीय गाडी सञ्चालनमा ल्याएको आचार्यले बताउनुभयो ।

पहिरोले वडासदस्य दम्पती पुरिए

0
फाइल फोटो

भदौ २३,२०८१सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान मानबहादुर चलाउनेलाई पहिरो पुरेको छ।

राति २ बजे आएको पहिरोले पुरिएको मध्ये चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउने घाइते भइ उद्धार गरेर लिम्सास्थित अस्पतालमा ल्याउदै गरेको वडाअध्यक्ष डम्वरबहादुर महताराले जानकारी दिए।

पुरिएका चलाउने दम्पतीलाई घर भित्रबाट निकाल्न नसकिएको उनको भनाइ रहेको छ। प्रहरी विहान ६ बजे घटना स्थल पुगे पनि दम्पतीलाई निकाल्न नसकिएको उनले बताए।

घटना स्थलमा रामीडाडा, नायकवाडा तथा सेपुखोलाबाट प्रहरी खटिएको जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

तिजको मौलिक संस्कृतिको जर्गेना गदै चन्द्रकोट, पालिकास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न

0

भदौ १७,२०८१ गुल्मी :चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला तिज गीत प्रतियोगीता आइतबार गाउँपालिकाको प्राङ्गण शान्तिपुरमा सम्पन्न भएको छ । मौलिक संस्कृतिको जर्गेना गर्ने, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयेजना गरिएको हो । चन्द्रकोट गाउँपालिकाको आयोजनामा पालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

महिलाहरुको महान पर्व हरितालिका तिज २०८१ को अवसरमा चन्द्रकोट गाउँपालिकाले कार्यालय परिसरमा प्रतियोगिता सम्पन्न गरेको हो । चन्द्रकोट गाउँपालिकाले महिला दिदिबहिनिहरुमा संस्कृति प्रतिको झुकाव, आत्मियता, एकता र सामाजिक बन्धनको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । उहाँले संस्कृतिको जगेर्नाका लागी यस्ता खाले कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतियागितामा सहभागीहरुले सामाजिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय पहिचाहन, वैदेशिक रोजगारी, महिला हिंसा तथा यहाँको रहनसहन झल्किने विषयवस्तुमा गित तथा नृत्य प्रस्तुत गरेका थिए । यस्तै हरितालिका तिजको महत्व, नारी जागरण, संस्कृति संरक्षण र भित्रिएको आधुनिकताले सामाजमा पारेको प्रभावको झल्को दिने विषयवस्तुमा सहभागिहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए।

आइतबार भएको प्रतियोगितामा गाउँपालिकाभरबाट २१ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा कालिका जागृती आमा समुह चन्द्रकोट ३ हर्राचौरले प्रथम स्थान हासिल गरेको छ । शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्ग द्वितीय, उदय माध्यमिक बिद्यालय चन्द्रकोट ४ शान्तिपुर तृतिय तथा सल्यार आमा समुह चन्द्रकोट ८ सान्तवना भएका थिए । विजेता समुहहरूलाई नगद, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १५,००० प्रमाणपत्र र मायाको चिनो, द्धितियलाई नगद रु १२,००० प्रमाणपत्र र मायाको चिनो, तृतिय हुनेलाई नगद रु ८,००० प्रमाणपत्र र मायाको चिनो, सान्तवना हुने समूहलाई नगद रु ५,००० प्रमाणपत्र र मायाको चिनो, प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाले अझै महिला दिदिबहिनिहरु शसक्त ढंगले लाग्नुपर्ने बताउनुभयो । उहाँले गीतका माध्यमबाट महिलाहरुले प्रस्तुत गरेका भावनाहरुले महिलाहरुलाई जागरण गराएको बताउनुभयो । उहाँले पटकपटक अरुलाई लडेका महिलाहरु अब आफ्नो हकहितका लागी लड्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति गुल्मीका उप प्रमुख तेजेन्द्र कुमार सलामीले हिजोका संस्कृति झल्किने खालका साँस्कृतिक कार्यक्रम महिलाहरुले देखाएको बताउनुभयो । आधा आकाश ढाकेका महिलाहरुको विभिन्न कालखण्डमा ठुलो योग्दान रहेको उल्लेख गर्नुभयो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले सामाजिक सद्भाव सहितका विभिन्न कार्य गर्न बाँकी रहेको बताउनुभयो । सबैले हातेमालो गरी विभिन्न बिभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाका दिदिबहिनीहरुको उपस्थितिले निकै खुशी लागेको उल्लेख गर्नुभयो । उहाँले सबै क्षेत्रमा महिलाहरुको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालकिा उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले महिला सशक्तिकरण र महिला जागरण निम्ति आयआर्जन बृद्धि गर्न गाउँपालिका सधैव लागेको बताउनुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले हरितालिका तिजको शुभकामना दिदैं यस्ता कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बन्न सिकाएको बताएका थिए । संविधानमा उल्लेख भएका महिलाहरुका अधिकारहरुलाई सुरक्षित गर्नुपर्ने बताए । यस्तै आफुभित्र भएको प्रतिभालाई बाहिर ल्यान कार्यक्रम कोशेढुङ्गा सावित भएको दाबी गरे । गाउँपालिका उपाध्यक्ष्य बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा राष्ट्रियसभा सदस्य बिष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै जिल्ला समन्वय समिति उप प्रमुख तेजेन्द्र कुमार सलामीको विशिष्ट आतिथ्यता, गाउँपालिका अध्यक्ष युबराज केसी, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, निबर्तमान उपाध्यक्ष राधिका अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, महिला संघ संगठनका गाउँपालिका स्तरिय प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न महिला तथा आमासमूह तथा क्लबहरूका सदस्यहरू, पत्रकार एवम् संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्टाफ नर्स अन्जना गिरीले गुर्नभएको थियो । कार्यक्रममा कलाकार रामप्रसाद पौडेल र सकुन्तला गैरेको प्रस्तुती समेत रहेको थियो । गाउँपालिकाले सोही कार्यक्रममा १५ सय बढीलाई दर समेत खुवाएको थियो ।

तीजमा दुध उत्पादन गर्ने ५३ महिलालाई कपडा उपहार

0

टोपलाल अर्याल
भदौ१७,२०८१ गुल्मी :दुधको स्मार्ट गाउँ छत्रदेव गाउँपालिका ७ ढिकुरा अर्घाखाँचीका महिलाहरुलाई तीजको अवसरमा कपडा उपहार प्रदान गरिएको छ ।

तम्घासको राधाकृष्ण डेरी उद्योग र स्मार्ट दुध संकलक संस्थाले संयुक्त रुपमा ५३ जना दुध उत्पादक महिलाहरुलाई कपडा प्रदान गरेका हुन् । उनीहरुले गत बर्ष डल्लु हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र उपाध्यक्ष मनिषा शर्मा लगायतका जनप्रतिनिधीहरुको उपस्थितीमा कपडा वितरण गरिएको थियो । उनीहरुले तीजको अवसरमा महिला तथा किसानहरुलाई संस्थाले गरेको सहयोग र उर्जा निकै प्रसंसनीय भएको बताए ।

महिलाहरुको महान चाडको उपलक्ष्यमा पौरखी महिलाहरुलाई कृषिमा उर्जा प्रदान गर्न आफुहरुले बर्षेनी रचनात्मक कामहरु गर्दै आएको राधाकृष्ण डेरी उद्योगका संचालक महेन्द्र रायमाझीले जानकारी दिए । ढिकुरा दुध र तरकारीमा अब्बल गाउँ हो । त्यहाँको अधिकांश कृषि उपज र दुध तम्घास बजार आउने गरेको छ ।

छत्रदेव गाउँपालिका ५ का युवा महेन्द्र रायमाझीले परदेशबाट फर्किएर आएर स्वदेशमै आत्मनिर्भरताको लागि दुग्ध व्यावसाय गरिरहेका छन् । उनले दुवैमा चार बर्ष काम गरे । मासिक पारिश्रमीक डेढ लाख थियो । तर, फर्किएपछि फेरि परदेशको बाटो खोजेनन् । बरु तम्घास बजारमा राधाकृष्ण डेरी उद्योग मार्फत चार जनालाई रोजगारी समेत दिएका छन् । अहिले मासिक करिव दुई लाख कारोबार दुधबाट हुन्छ । उनलाई व्यावसायमा श्रीमती सरिता पाण्डेय रायमाझीको राम्रो साथ छ ।

परिवारसंगै स्वदेशमा महिनामा खर्च कटाएर करिव ७० हजार कमाई हुने भएकाले रायमाझी खुसी छन् ।