गुल्मीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

0
28
रिडीमा यात्रु सहायता कक्षको उद्घाटन गर्दै ।

तिलाचन पाण्डे
असोज २१,२०८१ गुल्मीः चाडपर्व लक्षित यात्रुहरुको सुरक्षाका लागि गुल्मीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको बुढाथोकी बसपार्क,उदिनढुङगा,रुरुक्षेत्र गाउँपालिकाको रिडी,मुसिकोट नगरपालिकाको वामी,चन्द्रकोट गाउँपालिकाको शान्तीपुर, सत्यवती गाउँपालिकाको जोहाङ र मदाने गाउँपालिकाको पुर्कोटदहमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दसैँतिहार छट पर्वलाई मध्यनजर गर्दै यात्रुहरुको भीड लाग्ने स्थानहरुमा सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । एक स्थानमा दुई जनाका दरले १४ जनाको जनशक्ति खटिएको र आवश्यक परेमा थप जनशक्ति पनि परिचालन गर्न सक्ने उहाँले बताउनुभयो ।

चाडपर्वको मौका छोपी सिट क्षमता भन्दा बढी यात्रु बोक्ने र बढी भाडा लिन सक्ने भन्दै चेकजाँचमा कडाई गरिएको उहाँले बताउनुभयो । चाडपर्वको समयमा यात्रुहरु ठगिने,बढी भीडभाड हुने भएकाले त्यसको न्यूनीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको पोखरेलको भनाइ छ । आफूहरुलाई परेको समस्या र कुनै अन्यौलता भएमा यात्रुहरुले सहायता कक्षबाट सेवा लिन सक्ने गरी ब्यबस्था गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय गुल्मीले चाडपर्व लक्षित सुरक्षा योजना बनाइ लागुसमेत गरेको जनाएको छ । चाडपर्वको समयमा अपराधिक घटना ,चोरी, मदिरा सेवन गरी झैझगडा, हो हल्लालगायतका कार्यहरु हुनसक्ने भएकाले ग्रामीण स्तरमासमेत प्रहरी परिचालन गरेको पोखरेलले बताउनुभयो ।

कार्यालयले क्विक रिसपोन्स टिम पनि बनाएर आवश्यकता अनुसार तयारी अवस्थामा राखेको पोखरेलले बताउनुभयो ।

SHARE