Wednesday, June 3, 2026

लुम्बिनीमा एमालेका मन्त्रीले दिए राजीनामा

0

जेठ २०,२०८३ रुपन्देही : लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदबाट नेपाल कम्युनिष्ट पार्टी एमालेका मन्त्रीले राजीनामा दिएका छन् ।

आफूहरुले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु हुनुहुन्छ ।

चार जना लागुऔषध कारोबारी पक्राउ

0

जेठ २०,२०८३ बाँके : बाँकेको कोहलपुर नगरपालिका–२ स्थित एक घरबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राठौंरका अनुसार कोहलपुर नगरपालिका–२ का द्वारिका प्रसाद थारुको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त घरमा छापा मारेको थियो। घरमा खानतलासी तथा चेकजाँच गर्ने क्रममा ७ ग्राम ५६० मिलिग्राम लागुऔषध ९ब्राउन सुगरजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसँगै अनुसन्धनकोक्रममा कोहलपुर नगरपालिका–२ का द्वारिका प्रसाद थारु, समिर विक, राकेश चौधरी तथा बैजनाथ गाउँपालिका–५ का ओमकान्त थारुलाई पक्राउ गरिएको छ । उनीहरुलाई लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बाँके जिल्लामा लागुऔषध दुर्व्यसन तथा कारोबारका घटना बढ्दै गएकाले प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। विशेषगरी ब्राउन सुगर, गाँजा तथा अन्य लागु पदार्थको ओसारपसार र बिक्री वितरण रोक्न विशेष अभियान चलाइएको प्रहरीले जनाएको छ ।

बुटवलबाट असी तोला सुन चोरी

0

जेठ २०,२०८३ बुटवल : रुपन्देहीको बुटवलबाट असी तोला सुन चोरी भएको छ । अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ । सुनका गरगहना र काँचो सुनसहित करिब ८० तोला सुन चोरी भएको हो ।

पसल सञ्चालक दीपक सेन्चुरी घुम्नका लागि पोखरा गएका सोमबार बिहान पसलको सटर खुलेको अवस्थामा देखेपछि स्थानीयले सञ्चालकलाई खबर गरेका थिए । त्यसपछि पसलमा पुगेका परिवारका सदस्य र कामदारले चोरी भएको पुष्टि गरेका हुन् ।

पसल सञ्चालक सेन्चुरीले सुनका गरगहना र काँचो सुन गरी ८० तोला चोरी भएको र जसको बजार मूल्य साढे दुई करोड पर्ने दाबी गरेका छन्  ।

घटनास्थल निरीक्षणका क्रममा पसलभित्र एउटा ठुलो चाबीको झुप्पा फेला परेको छ तर ती चाबीहरू पसलकै नभएको बताइएको छ ।

जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु

0

जेठ १९,२०८३ पर्वत : पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो ।

टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते हुनुभएको छ । दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

प्राविको छ हजार दरबन्दी, निमाविमा स्तरोन्नति गरिँदै

0

जेठ १९,२०८३ काठमाडौँ : सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी सङ्ख्या घट्दै गएको र माथिल्लो तहमा बढ्दै गएका कारण सरकारले प्राथमिक तहका छ हजार दरबन्दी स्तरोन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ । सरकारको पछिल्लो परिभाषा अनुसार कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह भनिन्छ । एकै तह अन्तर्गत रहे पनि तल्ला कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तरोन्नति गर्न लागिएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दरबन्दीबारे अध्ययन गरेर स्तरोन्नतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ । केन्द्रले पठाएको तथ्याङ्कमाथि मन्त्रालयले पनि अध्ययन गरिरहेको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार पहिलो चरणमा पाँच हजार ९६५ प्राविको दरबन्दी निमाविमा लैजान लागिएको छ । “त्यसपछि क्रमशः अन्य दरबन्दी पनि स्तरोन्नतिका लागि मन्त्रालयमा सिफारिस गर्दै छौँ,” महानिर्देशक न्यौपानेले भन्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी घट्दो र माथिल्लो तहमा बढ्दो क्रममा छ ।

तर निजी तथा संस्थागत विद्यालयमा भने तुलनात्मक रूपमा तल्ला तहमा धेरै र माथिल्ला तहमा थोरै विद्यार्थी देखिने गरेका छन् । केन्द्रका अनुसार शिक्षक विद्यार्थी अनुपात नमिल्दा अहिले प्राथमिक तहमा २० हजार शिक्षक दरबन्दी आवश्यकताभन्दा धेरै देखिएको छ । आवश्यकताभन्दा धेरै दरबन्दी देखिएको र अन्य तहमा मिलान गर्नुपर्ने भएका कारण प्राथमिक तहमा पछिल्लो दुई वर्षदेखि स्थायी शिक्षक पदपूर्तिसमेत गरिएको छैन ।

अहिले प्राथमिक तह ९कक्षा १ देखि ५० मा एक लाख ४५ हजार ७५३ शिक्षक दरबन्दी छन् । यो तहमा ३५ लाख ५४ हजार ९०४ जना विद्यार्थी अध्ययनरत छन् ।

तर कक्षा ६ देखि ८ सम्म ५९ हजार ५५२ जना मात्रै शिक्षक छन् । यो तहमा विद्यार्थी भने १८ लाख १९ हजार ३६८ जना मात्रै छन् । यस हिसाबले हेर्दा कक्षा १ देखि ५ मा एक शिक्षकको भागमा औसतमा २४ जना मात्रै विद्यार्थी पर्छन् ।

जबकी कक्षा ६ देखि ८ सम्म एक शिक्षकको भागमा औसतमा ३० जना विद्यार्थी पर्छन् । औसतमा शिक्षक विद्यार्थी अनुपात यति देखिएको भए पनि मुलुकको भौगोलिक अवस्थिति अनुसार निकै अमिल्दो छ । शिक्षक विद्यार्थीको अमिल्दो अनुपातलाई मिलाउनकै लागि शिक्षकको दरबन्दी पुनरवलोकन गर्न लागिएको केन्द्रले जनाएको छ । गोरखापत्र अनलाइन

वीरगन्जका मेयर सिंह पक्राउ

0

जेठ १९,२०८३ वीरगन्ज : वीरगन्जका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ ।

पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर एकदिन अदालत पुगेर त्यसपछि फरार भएकाले निजलाई नियन्त्रणमा लिएको हो । गएको १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

स्थानीय लियाकत अलीको जाहेरी बमोजिम जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीनजना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गुल्मीका ११ स्थानीय तहमा रास्वपाको नयाँ नेतृत्व

0

तिलाचन पाण्डे
जेठ १९,२०८३ गुल्मीः गुल्मीका ११ स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व चयन गरेको छ ।

पार्टीका जिल्ला सभापति भोजराज पाण्डेका अनुसार कालीगण्डकी गाउँपालिकामा गोबिन्द गौतमको नेतृत्व, चन्द्रकोटमा कमल खत्री, सत्यवतीमा कृष्णप्रसाद भट्टराई, रुरुक्षेत्रमा हुतराज गौतम, छत्रकोटमा रामकृष्ण न्यौपाने, इस्मामा नरेन्द्रप्रसाद रिजाल, धुर्कोटमा राजेन्द्र पोखरेल, मालिकामा टिका जिसी, मदानेमा देवेन्द्र सेन, मुसिकोट नगरपालिकामा सुभास जिसी र रेसुङगामा कृष्ण पराजुलीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

१२ वटा स्थानीय तह रहेको गुल्मीमा गुल्मीदरबार गाउँपालिकामा मात्र नयाँ नेतृत्व चयन गर्न बाँकी रहेको छ । त्यस गाउँपालिकाका वडा स्तरमा अधिवेशनहरु चलिरहेकाले त्यस पस्चात पालिकाको नेतृत्व चयन हुनेछ । पालिकाको अधिवेशन गर्नका लागि न्यूनतम ३० प्रतिशत वडाको अधिवेसन भएको हनुपर्ने भएकाले त्यस पालिकामा एउटा वडामा मात्रै अधिवेशन सम्पन्न भएकाले पालिकाको अधिवेशन गर्न नसकिएको हो ।

पालिकाहरुको अधिवेसन करिव सकिएकाले २३ गते जिल्लाको अधिवेसन गर्न लागिएको पाण्डेको भनाइ छ ।

२० हजार बढीले बढ्यो सुनको मूल्य

0

जेठ १७,२०८३ काठमाडौँ : विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुन तोलामा २० हजार ५०० ले बढेको हो ।

गत शुक्रबार दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

बढ्यो सुनको मूल्य

0

जेठ १५,२०८३काठमाण्डौ : शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो ।

शुक्रबार सुन तोलामा २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । बिहीबार तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गुल्मीका दुई वडा अध्यक्ष पदमुक्त

0

जेठ १५,२०८३ गुल्मी : गुल्मीका दुई वडा अध्यक्ष पदमुक्त हुनुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पदमबहादुर विष्ट पदमुक्त हुनुभएको हो।

कांग्रेसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपामा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको कांग्रेस गुल्मीले जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ। गोरखापत्र अनलाइन