लोप हुँदै गोलो घर

0
62
लोप हुन थालेको खरले छाएको गोलो तथा घुमाउरो घर । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज ९,२०८१ गुल्मीः पछिल्लो समयमा पक्की घर निर्माण तीब्र हुँदै गएका छन् । जिल्लामा पुराना र खरले छाएका घरहरु बिस्थापित गर्दै जस्तापाता लगाउँन अभियान नै चलाइएको छ ।

तर धेरै पुरानो खरले छाएको गोलो ,घुमाउरो तथा कुँडुले घर भने देख्न छाडिएको छ । माटाले गारो लगाउने र खरले छाएको उक्त घरमा चिसो समयमा न्यानो हुने र गर्मीको समयमा पनि अन्य घरको तुलनामा गर्मी नहुने बुढापाकाहरुले बताउँदै आउनुभएको छ ।
जिल्लामा लोप हुँदै गएको उक्त घर कालीगण्डकी गाउँपालिकाको वडा नम्वर एकको हर्मिचौर र वडा नम्वर दुई अर्वेनीमा बढीमा एक दर्जन मात्रै छन् । त्यी घरहरु भुकम्पको समयमा समेत सुरक्षित रहेको हर्मिचौरका ८४ वर्षीय खिमानन्द पाण्डेले बताउनुभयो । त्यी घरहरु अहिले लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्य घरहरु खरले छाउँन भन्दा यस घरलाई छाउनका लागि झण्डै दोब्बर बढी खर आवश्यक पर्ने उहाँले बताउनुभयो । एक पटक छाएपछि करिब पाँच वर्ष सम्म पानी नचुहिने र चिसो र गर्मीबाट पनि अन्य घरको तुलनमा सुरक्षित रहेको पाण्डेले बताउनुभयो । २०७२ सालमा गएको भुकम्पमा पनि अन्य घरहरुमा ठूलो क्षती भएपनि गोलो घरहरु सुरक्षित रहेको उहाँको भनाइ छ ।

गोलो तथा घुमाउरो घर लोप हुँदै गएकाले त्यस्ता घरहरुलाई संरक्षण गर्नका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय युवा तीलक रानाले बताउनुयो । पछिल्लो पुस्तालाई यस्ता घरहरु पनि पहिले हुन्थ्ये भन्ने सिकाउनका लागि पनि संरक्षणको आवश्यक रहेको उहाँको भनाइ छ ।
यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले यस्ता घरहरुलाई संरक्षण गर्नका लागि पालिकाले योजना बनाएको बताउनुभयो । अहिलेको अवस्थामा गोलो तथा घुमाउरो घरहरु बिरलै हुँने भएकाले पालिका भित्र रहेका करिब एक दर्जन घरहरुलाई संरक्षण गर्नका लागि पालिका लागेको बताउनुभयो ।

दुई नगर र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा कालीगण्डकीमा मात्रै गोलो घर भएको हुन सक्ने भएकाले यसको संरक्षण गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो । गोलो घर मात्रै नभई पुरानो इतिहास र संस्कृति पनि यस्ता घरहरुसङग जोडिएकाले संरक्षण गर्न र भावी पुस्तालाई सिकाउन पनि पालिका रहेको बताउनुभयो । गत वर्ष देखी नै गोलो घर संरक्षण गर्नका लागि योजना बनाएको भए पनि पूरा हुन नसकेकाले चालु आर्थिक वर्षमा पूरा गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।

SHARE