भ्रामक सूचनाको पछि नलाग्न गुल्मीदरबारको आग्रह

0
40
पत्रकार भेटघाट कार्यक्रममा पालिकाको धारण राख्नुहुँदै गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापा । तस्विर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज १४,२०८१ गुल्मीः गुल्मीदरबार गाउँपालिकाले भ्रामक सूचनाको पछि नलाग्न गाउँपालिका बासीलाई आग्रह गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले केही सञ्चार माध्यममा गाउँपालिकाप्रति लक्षित गर्दै भ्रामक र तथ्यहीन समाचार आएकाले त्यसमा कुनै सत्यता नभएको बताउनुभएको छ । गाउँपालिका पालिका भित्रका नागरिकप्रति बफादार,उत्तरदायी रहनुका साथै कसैमाथि राजनीतिक पूर्वाग्रहले नहेरिएको उहाँले स्पस्ट पार्नुभएको छ । स्थानीय सरकारले सबैलाई समान ब्यबहार गरेको बताउँदै पालिका भित्रका नागरिकलाई सम्पन्न र आत्मनिर्भर बनाउनका लागि पालिका लागि परेको उहाँको भनाइ छ ।
गाउँपालिका भित्रका ९० प्रतिशत नागरिकहरुको घरमा एक घर एक धारा पुगेको बताउँदै यस आर्थिक वर्षमा सबैको घरमा एक घर एक धारा पुग्ने दाबी गर्नुभयो । जसका लागि उचित बजेटको ब्यबस्था गरेको उहाँको भनाइ छ ।

यस्तै गुल्मी जिल्लामै पहिलो १५ वेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनको तयारी रहेको बताउनुभयो । एम बी बी एस डाक्टरका लागि आवेदन खुलाएको बताउँदै अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरिएकाले जतिसक्दो छिटो सञ्चालनका लागि पालिकाले तयारी गरिरहेको थापाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा सडकहरुको स्तरवृद्धि गर्नका लागि टेण्डर खोलिएको पालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा करिव सात किलोमिटर सडक कालोपत्रे गर्ने र १० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य लिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पालिकाको ४६ करोडको बजेटले अपेक्षा गरे अनुसार कार्य सम्पन्न गर्न नसकिने भएकाले संघीय र प्रदेश सरकारबाट थप बजेटको ब्यबस्था गरी सडकको स्तरउन्नतीका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदैँ आएको गाउपालिकाले जनाएको छ ।

SHARE