Friday, June 5, 2026

देशका ठुला दलहरु जनताप्रति गम्भीर भएनन् : जनमोर्चा

0
पत्रकार सम्मेलनमा पार्टीको धारण राख्दै जनामोर्चाका नेताहरु । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस २६,२०८१ गुल्मी :राष्ट्रिय जनमोर्चाले देशका ठुला दलहरु जनताप्रति गम्भीर नभएको टिप्पणी गरेको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर देशका ठुला दलहरु जनताप्रति भन्दा पनि ब्यक्तीगत स्वार्थमा लागेको जनाएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सल्लाहाकार सुरेश थापाले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी जनताप्रति भन्दा पनि ब्यक्तिगत स्वार्थमा लागेकाले महंगी र भष्ट्राचारले सीमा नाघेको बताउनुभयो ।

दैनिक युवाहरु विदेश पलायन हुँदा पनि युवाहरुलाई स्वदेशमा राख्ने वातावरण निर्माण गर्न नसक्नु दुःखद भएको उहाँको भनाइ छ । युवाहरु देशमा नहुँदा ठुला दलहरुको विरोध कम हुने र यसैमा उनीहरु रमाएको शंका आफूहरुलाई लाग्ने गरेको उहाँको दाबी छ ।
यस्तै पार्टीले आगामी चैत २४ गतेदेखि संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्न लागेको जनाएको छ । देशमा संघीयता जनताको माग र देशको राष्ट्रिय आवश्यकताका आधारमा नआएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले बताउनुभयो ।

चैत २४ देखी ३० गतेसम्म राजधानी काठमाडौँमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा, भष्ट्राचार उन्मूलन र सुशासनका लागि आन्दोलन गर्ने, जिल्लाभर माघ महिना भित्र संगठनात्मक तथा प्रचारप्रसार अभियानलाई तिव्र पार्ने जनाएको छ । पार्टीले स्थानीय स्तरमा बैठक, प्रशिक्षण,सदस्यता वितरण, टोल समितिहरुको गठन, पर्चा वितरण र कोणसभा गर्ने क्षेत्रीले बताउनुभयो ।

फागुन महिनामा आर्थिक अभियान सञ्चालन र चैत्रमा जिल्लाबाट काठमाडौंमा सयौँ जना सहभागिता बनाउने तयारी थालिएको जनमोर्चा गुल्मीले जनाएको छ । त्यस्तै रामकुमार क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय आन्दोलन व्यवस्थापन तथा परिचालन समिति निर्माण गरिएको छ ।

गुल्मीमा टिपर दुर्घटनामा चालकको मृत्यु, सह चालक घाइते

0

पुस १३,२०८१ गुल्मीः गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनुभएको छ ।

गएराती रिडीबाट निर्माण सामग्री लिएर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्वरको टिपर कालीगण्डकी करिडोरको सत्यवती दुई पहादीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा चालक पल्पा जिल्लास्थित रैनादेवी १ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको र सहचालक सल्यन जिल्ला वनगाउँ ७ का २३ वर्षीय मोहन जैसी घाइते भएको प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

घाइते जैसीको अवस्था सामान्य भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टिपर सडकदेखी करिव २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्यालेस्टाइन माथि इजरायलद्धारा चलाइएको नरसंहार विरुद्ध गुल्मीमा हस्ताक्षर संकलन

0

पुस ११,२०८१ गुल्मीः प्यालेस्टाइन माथि इजरायलद्धारा चलाइएको नरसंहार विरुद्ध गुल्मीमा हस्ताक्षर संकलन अभियान चलाइएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी गुल्मीले प्यालेस्टाइनी निर्दोश जनता माथिको हमला बन्द गर्नका लागि हस्ताक्षर अभियान संकलन गरेको हो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चलेको हस्ताक्षर संकलन गर्ने अभियान मार्फत प्रदेशभरको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री समक्ष पठाउने योजना रहेको माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले जानकारी दिनुभयो ।

हस्ताक्षर अभियान मार्फत विश्व जगतको ध्यान केन्द्रित गर्ने र नरसंहार रोक्नका लागि दवाव दिने उद्येश्य रहेको थापाले बताउनुभयो ।

हस्ताक्षर संकलन अभियानमा करिव पाँच सय गुल्मेली नागरिकको सक्रिय सहभागिता रहेको उहाँको दाबी छ ।

जिपलाइन सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटक बढ्ने छत्रकोटको विश्वास

0
जिपलाइन चढ्दै आन्तरिक पर्यटक । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस १०,२०८१ गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिकाले जिल्लामै पहिलो पटक जिपलाइन सञ्चालनमा ल्याएको छ ।
छत्रकोट गाउँपालिकाको वडानम्वर तीन देवालय मन्दिर परिसरबाट देवी भगवती मन्दिरसम्म एक हजार असी मिटरको लम्वाइमा जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइन सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने गाउँपालिकाले विश्वास लिएको छ ।

लुम्विनी प्रदेश र गाउँपालिकाको ८६ लाख ७३ हजार १४४ रुपियाँको संयुक्त लगानीमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालि काठमाण्डौँले निर्माणको कार्य सम्पन्न गरी जिपलाइन सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले जानकारी दिनुभयो । जिप लाइनले आन्तरिक पर्यटकमा वृद्धि हुने र यस क्षेत्रको थप प्रचारमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । जिपलाइनबाट हिमाल, पहाड र तराइ देख्न सकिने भएकाले आन्तरिक पर्यटकहरु आउनेमा आफू ढुक्क रहेको उहाँको दाबी छ । यस क्षेत्रमा पिक्नीक स्थल र धार्मिक स्थल पनि भएकाले यहाँ आएका धेरै जसो ब्यक्तिहरु जिपलाइन प्रयोग गर्ने पालिकाले दाबी गरेको छ ।

जिपलाइनको शुल्क पनि अन्यत्र भन्दा सस्तो रहेकाले अन्य स्थानको तुलनामा बढी चल्ने पाण्डेको दाबी छ । जिपलाइन चढ्ने विद्याथीका लागि तीन सय, छत्रकोट गाउँपालिका भित्रका नागरिकका लागि चार सय, पालिका भन्दा वाहिरका नागरिकका लागि पाँच सय र विदेशी नागरिकका लागि एक हजार पाँच सय शुल्क निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।
जिपलाइन सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा दिने गरी पालिकाले तयारी गरेको बताउँदा निजी क्षेत्र नआउन्जेल पालिकाले नै ब्यबस्थापन गरेर चलाउने उहाँले बताउनुभयो ।

जिपलाइन चढ्नेका लागि १० लाख रुपियाँको दुर्घटना विमा गरिएको पुरीले बताउनुभयो । सुरुको स्टेशनदेखी ल्यान्डिङ हुने स्थानसम्मको समय ५५ देखी ७७ सेकेण्डसम्म लाग्ने छ । नगरकोट जिपलाइन प्रालिका दुइ जना दक्ष प्राविधिकद्धारा स्थानीय तीन जना र नगर प्रहरी दुई जना गरी पाँच जनालाई १२ दिनको तालिम प्रदान गरी जिपलाइन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

कंके देउरालीको प्रचार गर्न महोत्सव

0
पत्रकार सम्मेलनमा बोल्नुहुँदै मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस ४,२०८१ गुल्मीः धार्मिक तथा पर्यटकीय स्थल कंके देउरालीको प्रचार प्रसार गर्नका लागि महोत्सवको आयोजना गरिएको छ ।
मदाने गाउँपालिकाको पुर्कोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कंके देउरालीको प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।

गाउँपालिकाले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ५ गतेदेखी ७ गतेसम्म प्रथम कंके देउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८१ को आयोजना गरिएको जनाएको छ । गाउँपालिकाको आयोजना र कंके देउराली पर्यटन पूर्वाधार विकास समितिको सह आयोजनामा महोत्सव गर्न लागिएको कुँवरले बताउनुभयो ।

कंके देउरालीलाई पर्यटकीय रुपमा थप प्रचार प्रसार गरी आन्तरीक पर्यटक ल्याउनका लागि महोत्सवले थप टेवा दिने कुँवरको दाबी छ । एक हजार ९५० फिट उचाइ रहेको उक्त स्थानमा कंके देउराली जलासय निर्माणको कार्य अगाडि बढेकाले पर्यटकका लागि थप आकर्षण हुने उहाँको भनाइ छ । अर्घाखाँचीको सुपा देउराली आएका पर्यटकलाई कंके देउरालीमा ल्याउने गरी योजना रहेको कुँवरले बताउनुभयो ।

यसका साथै गाउँपालिका भित्र उत्पादित कृषि उपजको प्रर्दशन गरिने उपाध्यक्ष सरिता खडकाले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेको प्रतिभालाई खोजी गरी मदाने तारा पनि सञ्चालन गर्न लागिएको खडकाले बताउनुभयो । महोत्सवका लागि पालिकाले चार लाख रुपियाँ बजेट ब्यबस्थापन गरेको उपाध्यक्ष खडकाले जानकारी दिनुभयो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउँदै महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने गाउँपालिकाले जनाएको छ ।

गुल्मीमा राजीनामा दिने शिक्षकहरुको लर्को

0
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको कार्यालय । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस २,२०८१ गुल्मीःपछिल्लो समय गुल्मीमा शिक्षकहरुद्धारा राजीनामा दिनेको लर्को लागेको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार साउन १ गतेदेखी हालसम्म १८ जनाले राजीनामा दिएका छन् । प्राथमिक तहमा १६ जना, माध्यमिक तहमा दुई जना गरी कुल १८ जनाको राजीनामा स्वीकृत भएको कार्यालयका प्राविधिक सहायक रामप्रसाद पन्थीले जानकारी दिनुभयो ।

उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भिमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिनुभएको हो । थापाले बिरामी भएर र भण्डारीले तथ्याङक अधिकृतमा नाम निकालेर राजीनामा दिएको पन्थीले बताउनुभयो । यस्तै १७ जना शिक्षकको अनिवार्य अवकास भएको पनि उहाँले बताउनुभयो ।

पछिल्लो समयमा शिक्षण पेशामा त्यती रुचि नहुँनु र वेदैशिक रोजगारीको लहरले पनि राजीनामा दिनेहरुको सङख्यामा वृद्धि हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । आफू केही महिना पहिले मात्रै गुल्मीमा आएको बताउँदै आफू आए लगत्तै राजीनामाको लर्को लागेको उहाँले जिल्ला समन्वय समिति गुल्मीमा भएको एक सार्वजनिक कार्यक्रममासमेत बताउनुभएको थियो । राजीनामा दिनेमा करिव आधाको सङख्यामा वैदेशिक रोजगार रहने गरेको उहाँको भनाइ छ ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेका अनुसार शिक्षण पेशामा आकर्षण र उचित सम्मान नहुनाले पनि बीचैमा छाड्नेको लर्को लाग्ने गरेको बताउनुभयो । यसका साथै विद्यालयहरु राजनीतिक अखडा बन्नु, शिक्षकहरुलाई जीवन निर्वाह गर्न पनि धौधौ हुनु, शिक्षण पेशामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेशाबाट राजीनामा दिने गरेको उहाँको तर्क छ । यहि अवस्था कायमै रहेमा भविष्मा शिक्षण पेशामा संकट देखा पर्न सक्ने उहाँको भनाइ छ ।

पछिल्लो समय गुल्मीमा अग्रेजी,विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरु पाउँनै मुस्किल हुन थालेको छ । केही समय पहिले सदरमुकाम तम्घासकै रेसुङगा माध्यमिक विद्यालयले माध्यमिक तहको अंग्रेजी राहत शिक्षकमा विज्ञापन गर्दा शिक्षक पाउँन सकेको थिएन । तेस्रो पटकसम्म विज्ञापन गर्दा बल्ल तल्ल शिक्षक पाएको विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले बताउनुभयो । अहिले पनि नगरपालिका भित्र जनविकास माध्यमिक विद्यालयमा निम्नमाध्यमिक तहको गणितमा र त्रिभुवन माध्यमिक विद्यालयमा अग्रेजी संघीय अनुदानमा शिक्षक अभाव भएको सूचना कार्यालयमा आएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्राविधिक सहायक रामप्रसाद पन्थीले बताउनुभयो ।

गुल्मीमा सामुदायीक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङख्या रहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

गाउँमा भेटिँदैनन् बिरामीलाई अस्पताल लैजाने मानिस

0

मंसिर २२,२०८१ बागलुङ : काठेखोला गाउँपालिका(५ करलिम गाउँ बसाइँसराइले गर्दा सुनसान बनेको छ। छरछिमेक र आफन्त बसाइँ सरेर बजार झरेपछि अहिले गाउँमा रहेका पनि निराश छन्। बसाइँ नसरेकाले पनि आफ्नो परिवारलाई शहर(बजारमा राखेका छन्। युवा शक्ति विदेश हुँदा गाउँमा बूढापाकाबाहेक अन्य पाउन सकिन्न।

काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो। यहाँका अधिकांश युवा, जापान, कोरिया र अष्ट्रेलियामा छन् भने उनीहरूको परिवार बागलुङ, पोखरा, काठमाडौँ र चिवतन बसाई सरेका छन्। बसाइँसराइले गाउँमा हरेक वृद्धवृद्धालाई बिरामी हुँदा अस्पतालसम्म पुर् याउने मान्छे समय–समयमा समस्या पर्ने गरेको छ। गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तको समस्या बढ्दै गएको छ। यसले स्थानीय त्रसित बनेका छन्। गाउँमा वृद्धवृद्धा र महिला मात्रै रहेको हुँदा हिँडडुल गर्न पनि डर हुने स्थानीय मैना सुवेदीले गुनासो गरे। श्रमशक्तिको अभावमा खेतीबारीमा खेती गर्नसमेत छोडिएको उनले बताए।

‘मान्छेहरु सबै बजार झरे, गाउँमा बस्नै छोडे, पहिले कति रमाइलो थियो यो ठाउँ अहिले वीरक्त लाग्ने भएको छ, यहाँ वरपरका सबै घर खाली छन्, अर्मपर्म गरेर खेतीपाती गर्नलाई मान्छे पाइँदैनन्, पहिले मुरीका मुरी धान, मकै, कादो फल्ने बारीमा अहिले वनमारा पलाएको छ’, उनले भने।

स्थानीय चिरञ्जीवी कँडेलले राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। बसाइँसराइ गरेर जानेर घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ। अहिले गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको कँडेल बताउनुहुन्छ। पहिलेको तुलनामा धेरै विकास भए पनि बसाइँसराइ नरोकिएको उनको भनाइ छ।

युवा शक्ति विदेश पालयन भएका छन्। गाउँका हुने खानेहरु सेवा सुविधाको खोजी गर्दै बसाइँसराइ गरेर बजार झरेपछि गाउँमा न्यून वर्गका मानिसहरु मात्रै छ। स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्दै गए पनि बसाइँसराइ रोकिएको छैन। काठेखोलाको करलिम मात्र होइन जिल्लाको अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ। जसले ग्रामीण क्षेत्र सुनसान भएका छन्।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बसाइँसराइ रोक्नका लागि नागरिकलाई उद्यमसँग जोड्ने र व्यावसायिक बनाउने खालका कार्यक्रम ल्याएको बताए। धेरैजसो गुणस्तरीय स्वास्थ्य र शिक्षाका लागि बसाइँसराइ गरेको भन्दै पालिकाले अहिले ती क्षेत्रमा लगानी गरिरहेको उनको भनाइ छ। रासस

महिलाहरुले नेतृत्व गरेको सहकारीमा सात करोडको पुँजी

0

तिलाचन पाण्डे
मंसिर १७,२०८१ गुल्मीः अझै पनि समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने प्रसस्त उदाहरणहरु पाइन्छन् । उनीहरु खाली घरको चुलो चौकोमा मात्र सीमित रहने भन्ने भास्य पनि समाजमा प्रयाप्त पाइन्छ ।
तर गुल्मीमा भने एक सहकारी संस्थाको नेतृत्व नै महिलाहरुले गर्दै मासिक ३० रुपियाँका दरले बचत गर्दै आएको उक्त सहकारीमा अहिले सात करोड बढीको पुँजी रहेको छ ।

सदरमुकाम तम्घासमा रहेको अमरकल्याण महिला विकास बहुउद्येश्यीय सहकारी संस्थामा अहिले सात करोड बढीको पुँजी भएको ब्यवस्थापक अञ्जु पन्थीले जानकारी दिनुभयो ।

२०६२ साल असार ३० गते सहकारी डिभिजन सहकारी कार्यालय पाल्पामा दर्ता भई कार्य सुरु गरेको सहकारीमा अहिले सात करोड ५३ लाख ३१ हजार ६३९ रुपियाँ कुल पुँजी रहेको पन्थीले बताउनुभयो ।

१९ औँ वार्षिक साधरण सभामा सहकारीको माध्यमबाट शुपथ पसल सञ्चालन, कृषि तथा ब्यपारहरुमा लगानी गर्दै आएको संस्थाले जनाएको छ । महिलाहरुले सञ्चालन गरेको सहकारीको माध्यमबाट आफूहरु ढुक्कका साथ आफना कुराहरु राख्न सक्ने र स सानो रकमका लागि श्रीमानको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको संस्थाका उपाध्यक्ष गीता पाण्डेले जानकारी दिनुभयो ।
सहकारीले जिल्लामा लैङगिक हिंसामा परेका महिला तथा बालबालिकालाई अल्पकालीन आस्रय दिनुका साथै उचित मार्ग देखाउँदै आएको पन्थीले बताउनुभयो ।

१९ औँ साधारण सभाको उद्घाटन गर्दै रेसुङगा नगरपालिकाका उपप्रमुख अमृतादेबी कुँवरले महिलाहरु पनि पछिल्लो समयमा उदाहरणीय कार्यमा लागेको भन्दै अझै परिस्कृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पहिले चुलो चौकोमा मात्रै सीमित रहने महिलाहरु अहिले खुलेरै नेतृत्व गर्ने स्थानमा पुग्नु गर्वको विषय भएको बताउनुभयो ।

पछिल्लो समयमा केही सहकारी संस्थाहरुको बदनियतका कारण सबै सहकारीहरुलाई ट्याग लाग्ने गरेको बताउँदै सहकारीलाई सही तरिकाले सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । नगरपालिकाले नगरभित्रका सहकारीहरुलाई नियमन गर्ने अधिकार पनि भएकाले सुक्ष्म तरिकाले नियालेको उहाँको दाबी छ । शनिवार सम्पन्न १९ औँ साधारण सभा तथा छैठौँ अधिवेशनबाट गीता पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जसको उपाध्यक्षमा बिष्णुमाया शिरिस,सचिवमा दीपा ज्ञवाली पन्थी, कोषाध्यक्षमा सुन्धरा गैरेसहित ९ जनाको कार्यसमिति रहेको ब्यबस्थापक अञ्जु पन्थीले जानकारी दिनुभयो । यस्तै लेखा समितिको संयोजकमा रस्मिता भण्डारी पाण्डे , सदस्यहरुमा विमला श्रेष्ठ र कमला थापा चयन भएको पन्थीले बताउनुभयो । निर्वाचित समितिको कार्यकाल चार वर्षको रहने छ ।

अमरकल्याण महिला सहकारीको अध्यक्षमा गीता पाण्डे निर्वाचित

0

मंसिर १६,२०८१ गुल्मी : अमरकल्याण महिला बहुउद्येश्यीय सहकारी संस्थाको अध्यक्षमा गीता पाण्डे निर्वाचित हुनुभएको छ ।

शनिवार सम्पन्न १९ औँ साधरण सभा तथा छैठौँ अधिवेशनबाट पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको हो । जसको उपाध्यक्षमा बिष्णुमाया शिरिष,सचिवमा दीपा ज्ञवाली पन्थी,कोषाध्यक्षमा सुन्धरा गैरेसहित ९ जनाको कार्यसमिति रहेको ब्यबस्थापक अञ्जु पन्थीले जानकारी दिनुभयो । यस्तै लेखा समितिको संयोजकमा रस्मिता भण्डारी पाण्डे , सदस्यहरुमा विमला श्रेष्ठ र कमला थापा चयन भएको पन्थीले बताउनुभयो ।

१९ औँ साधारण सभाको उद्घाटन गर्दै रेसुंगा नगरपालिकाका उपप्रमुख अमृतादेबी कुँवरले महिलाहरु पनि पछिल्लो समयमा उदाहरणीय कार्यमा लागेको भन्दै अझै परिस्कृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पहिले चुलो चौकोमा मात्रै सीमित रहने महिलाहरु अहिले खुलेरै नेतृत्व गर्ने स्थानमा पुग्नु गर्वको विषय भएको बताउनुभयो ।

पछिल्लो समयमा केही सहकारी संस्थाहरुको बदनियतका कारण सबै सहकारीहरुलाई ट्याग लाग्ने गरेको बताउँदै सहकारीलाई सही तरिकाले सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । नगरपालिकाले नगरभित्रका सहकारीहरुलाई नियमन गर्ने अधिकार पनि भएकाले सुक्ष्म तरिकाले नियालेको उहाँको दाबी छ ।

सहकारीले बचत मात्रै संकलन नगरी सामाजिक कार्यमा समेत उदाहरणीय कार्य गर्दै आएको छ । सहकारी मार्फत लैगिंक हिंसामा परेका महिला तथा बालबालिकालाइ अल्पकालिन आस्रय दिदैँ आएको ब्यबस्थापक पन्थीले बताउनुभयो ।

मुसिकोट १ मा माओवादीका दुर्गाले निर्वाचन जित्ने दाबी

0
मतदातासँग मत माग्दै दुर्गा बिक

मंसिर १२,२०८१ गुल्मीः आगामी मंसिर १६ गते हुने मुसिकोट १ को उप निर्वाचनमा माओवादीका दुर्गा बिकले निर्वाचन जित्ने माओवादी केन्द्रले दाबी गरेको छ ।

निर्वाचनको घर दैलो अभियानका क्रममा माओवादीका नेता वुद्धि जिसीले अन्य पार्टीको तुलनामा माओवादीका उम्मेद्वार अब्बल भएको बताउँदै बिकले निर्वाचन जित्ने दाबी गर्नुभयो । परिवर्तनको पक्षधर माओवादी भएको बताउँदै सबैको लोकप्रिय, सरल, बिकासप्रेमी उम्मेद्वार बिकलाई मुसिकोट १ का जनताले मत दिएर निर्वाचित गर्नेमा आफू ढुक्क भएको उहाँको भनाइ छ । अन्य दलले गरेको कार्य जनताले देखीसकेकाले एक पटक दुर्गा बिकलाई निर्वाचित गराउन सकेमा केही परिवर्तन हुन्छ की भन्नेमा त्यहाँका मतदाता रहेको जिसीले बताउनुभयो ।

जितका आधारहरु के के छन् त भन्ने पक्षमा जिसीले बिक एक असल,सरल, बिकासप्रेमी,वौद्धिक र परिवर्तनकारी सोच भएकाले नै जितको आधार भएको उहाँको भनाइ छ ।
नेपाली काँग्रेस र एमालेले पनि आफूहरुको उम्मेद्वारले जित्ने दाबी गर्दै आएका छन् ।

मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पाटीबाट इश्वरी खाती क्षेत्री,स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

मुसिकोट नगरपालिका वडा नम्वर एकमा चार हजार ५१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।