रामपुरका धान बालीमा गवारोको प्रकोपले सतायो

0
518

सुशीला रेग्मी

भदौ १९ ,२०७७ पाल्पा : हरियाली धान बालीमा गवारो रोगले सताउन थालेपछि कृषक समस्यामा परेका छन् । यसवर्ष समय अनुकुल भएकाले राम्रो धान उत्पादन दिने कृषकले आशा गरेका छन् तर यसै बखत धान बालीमा गवारो किराले सताएपछि उत्पादन घट्ने चिन्ताले सताएको छ ।

गवारो लागेपछि रामपुर नगरपालिका ६ विजयपुरका कृषक हरिप्रसाद गैरे चिन्तित हुनुहुन्छ । उहाँको सात रोपनी खेतमा लगाइएको सबै धानमा गवारोको प्रकोप देखिएको छ ।

यस भन्दा अघिल्ला वर्ष सावित्री, हाईब्रिड, रामधान जस्ता धान लगाउँदै आएका थिए । मुल धानको वीउ उत्पादनका लागि प्रदेश नम्बर पाँच सरकारद्धारा कोभिड लक्षित कार्यक्रम अन्र्तगत रु एक लाखको सहयोगमा राधा १४ जानतको धानको वीउ कृषकलाई वितरण गरी पहिलो पटक कृषकले नयाँ धानको वीउ लगाएका छन् ।

मुल वीउ उत्पादनका लागि लगाइएको धान बालीमा गवारोको समस्या देखिएपछि वीउ जोगाउनै मुस्किल पर्ने कृषक लेखनाथ रेग्मी बताउछन् । यहाँ सातबिसे कृषक समुहले बिगत आठ वर्ष देखि नै धानको मुल वीउ उत्पादन गर्दै आइरहेको छ ।

वीउ उत्पादनका लागि दुई सय रोपनी क्षेत्रफलमा ३६ घरपरिवारका कृषकले लगाइएको धानमा गवारोको प्रकोप देखिएको समुहका अध्यक्ष धर्मराज ढकाल बताउछन् ।

“वर्षेनी मुल वीउ उत्पादन गरी अन्यत्र पठाउने गरेका छौँ, यो वर्ष बेला बेलामा पानी परिरहेकाले धान राम्रै हुन्छ भन्ने खुशीयाली थियो तर अहिले गवारोको प्रकोपले वीउ उत्पादन क्षेत्रमा सखापै पार्ने स्थिती बनाएको छ” अध्यक्ष ढकालले भने ।

रामपुर नगरपालिका भित्र राधा १४, सावित्री जातका धानमा बढी गवारोको समस्या देखिएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए । उनका अनुसार बिशेषगरी धानको वीउ उत्पादन क्षेत्र र स्मार्ट कृषि गाउँ कार्यक्रम संचालित क्षेत्रमा लगाएको धानमा गवारोको प्रकोप बढी देखिएको पाइएको छ ।

धानको व्याड देखि नै गवारोले सताउने हुदा सुरुमा नै पहिचान गर्न सकियो भने यस रोगबाट धान बाली बचाउन सकिन्छ । गवारो रोग नियन्त्रणका लागि बजारमा आएका विभिन्न विषादीहरु प्रयोग गरी धान बाली क्षति हुनबाट जोगाउन कृषि शाखा प्रमुख पाण्डेयको अनुरोध छ ।

रामपुर नगरपालिका क्षेत्रमा पन्ध्र दिन अघि देखि गवारो रोगले सताएको छ । धान बालीमा आवश्यक पर्ने सुक्ष्मतत्वको कमीका कारण गवारो रोगको समस्या निम्तने गर्दछ ।

जिल्लाको रामपुर बाहेक अन्य कुनै पनि स्थानमा गवारो रोगको समस्याबारे कार्यालयमा हालसम्म जानकारी नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।

उनका अनुसार गवारो रोगको महामारी नै बढ्दै गएमा ज्ञानकेन्द्रले स्थलगत रुपमा आकस्मिक बाली संरक्षण कार्यक्रम संचालन गरी उपचार पद्धति कृषकलाई जानकारी दिइनेछ ।

धानको तलको भागमा सानो सेतो खालको किरा सुरुमा लाग्ने गर्दछ । पछि लामो हुदै ठुलो पुतली बनेर सताउँछ । यसले धानको गुबो नै काटेर खाइदिने र धान बाली उत्पादनमा ठुलो नोक्सान पु¥याउने हुदा पहिले नै सर्तक रहन कृषि प्राबिधिकको आग्रह छ ।

SHARE