पाल्पामा केरा खेतीलाई पकेट क्षेत्रका रुपमा बिस्तार गरिदै

0
515

सुशीला रेग्मी

रामपुर (पाल्पा), २० साउन ः खेती गर्न छाडीएका बाँझो जमिनमा कृषकले केरा लगाएर हराभरा बनाउन थालेका छन् । कृषि ज्ञानकेन्द्र पाल्पाले केरा खेतीलाई पकेट क्षेत्रका रुपमा बिस्तार गर्न अनुदान सहयोग कार्यक्रम ल्याएपछि जिल्लामा केरा खेतीतर्फ कृषक आकर्षित हुदै गएका छन् ।

जिल्लाको रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका र निस्दी गाउँपालिकाको ज्यामिरे क्षेत्रमा व्यवसायीक रुपमा केरा खेती गरिएको छ । बगनासकाली गाउँपालिका ६ शिखरडाँडामा ओम कृषि तथा पशुपंक्षी फार्मका संचालक ओम पचभैयाले २० रोपनी क्षेत्रफलमा केरा लगाएका छन् ।

केरा खेती बिस्तार तथा प्रवद्र्धनका लागि कृषि ज्ञानकेन्द्र पाल्पाले आ.व. २०७६÷०७७ मा ५० प्रतिशत अनुदानमा रु एक लाखको एक हजार ६०० जि नाइन जातको केराको विरुवा, युरिया, पोटास तथा प्राङ्गारीक मल सहयोग गरेको छ । केराबाट राम्रो आम्दानी लिन सकिने हुदा पचभैयाले व्यवसायीकतामा जोड दिएका छन । वर्षेनी केराका विरुवा थप गर्दै जाने पचभैयाको योजना छ ।

कृषि ज्ञानकेन्द्रले रामपुर नगरपालिका ६ मा संचालित रामपुर केरा पकेट क्षेत्र समितिलाई २०७६÷०७७ मा ५० प्रतिशत अनुदानमा पाँच वटा हाते ट्याक्टर, जि नाइन जातको (भाइरसजन्य रोगबाट मुक्त) तीन हजार केराका विरुवा, युरिया, पोटास, प्राङ्गारिक मल उपलब्ध गराएको छ ।

केरा पकेट क्षेत्रका रुपमा रामपुर चिनाउने र यसैबाट प्रशस्त आयस्रोत लिन सकिने हुदा पकेट क्षेत्र बिस्तारमा लागेको समितिका अध्यक्ष लोकनाथ ढकाल बताए । ढकाल दुई वर्ष अघि देखि केरा खेतीमा लागेका हुन ।

ढकालँले धान मकै गहुँ राम्रै उत्पादन हुने करिव नौ रोपनी जग्गामा मालभोग, जि नाइन र उइलियम जातको नौ सय बोट केरा लगाएका छन् ।
रामपुर नगरपालिकाका सोमबहादुर सेनले हाल २७ रोपनी क्षेत्रफलमा केरा लगाएका छन् । तीन वर्ष अघिबाट २० रोपनीमा व्यवसाय सुरु गरेका सेनले केराबाट राम्रो उत्पादन हुने सम्भावना देखेपछि अहिले सात रोपनी क्षेत्र बिस्तार गरी २७ रोपनी पु¥याएका छन् ।

“ज्ञानकेन्द्रले व्यवसायीकतामा जोड दिदै जि नाइन जातको सात सय विरुवा उपलब्ध गराएको छ, यसभन्दा अघि आफ्नै लगानीमा एक हजार पाँच सय विरुवा लगाएको छ, उत्पादन बिस्तारै हुदै गएको छ” सेनले बताए ।

कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका सेनले गाउँका खेतीयोग्य जमिन सदुपयोग गर्दै अन्नबाली भन्दा केरा लगाएर राम्रो आयआर्जन गर्न सकिने भएको हुदा केरा खेती सुरु गरेको बताए ।

रामपुरमा बाहिरबाट ठुलो परिमाणमा केरा भित्रिने गरेको छ । केराको लागि राम्रो सम्भावना बोकेको हुदा रामपुर नगरपालिका क्षेत्रका कृषकले अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी गर्न सक्ने कृषि शाखा प्रमुख रामहरी पाण्डे बताए ।

व्यावसायीकताको हिसाबले रामपुरमा एक कृषकले कम्तिमा चार रोपनी क्षेत्रफलमा दुई सय बोट देखि बढीमा २० रोपनी क्षेत्रफलमा एक हजार पाँच सय बोट सम्म केरा लगाएको कृषि शाखा प्रमुख पाण्डेयले जनाए ।

रामपुर नगरपालिका क्षेत्रमा करिव पाँच सय रोपनी क्षेत्रफलमा केरा खेती गरिएको छ । व्यावसायिक रुपमा यहाँका २५ कृषकले केरा लगाएका छन् । रामपुर नगरपालिका वडा नं ३ को रजघरा, ५ को गौडाहान, वडा नं ६ को मैदानबारी क्षेत्रमा व्यावसायिक रुपमा कृषकले केरा खेती सुरु गरेका छन् ।

यो क्षेत्रका लागि उत्तम मानिएको जी नाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् । फालिएका जग्गा सदुपयोगमा आउने हुदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तवरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केरा खेती सम्बन्धमा स्थलगत रुपमा प्राबिधिक सेवा दिन थालेपछि कृषकले व्यावसाय बढाउदै गएका छन् ।

जिल्लामा केरा खेती गरिने ६७ हेक्टर जमिनमध्ये हाल उत्पादनशिल ५७ हेक्टर जमिनमा केरा लगाइदै आइएको कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रुपमा यहाँ आठ सय ७० मेट्रिकटन केरा उत्पादन हुने गरेको छ ।

बाँझो रहेका जग्गा सदुपयोग हुने, बजारमा केराको माग बढ्न थालेपछि कृषकले व्यावसायिक तवरबाट केरा खेती सुरु गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताए ।

“केरा खेतीबाट मनग्य आम्दानी हुने भएपछि कृषकहरु व्यावसायीक रुपमा आकर्षित हुन थालेका छन्, ठुलो क्षेत्रफलमा व्यवसाय गर्नेका लागि ज्ञानकेन्द्र सहयोगका कार्यक्रम संचालन गरिरहेको छ” प्रमुख अर्यालले जनाए ।

केरा पकेट क्षेत्रका लागि कम्तिमा दुई सय रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्नेछ । केराका लागि व्यवसायीक सम्भावना जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिका वडा नं १ को हुँगी क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

SHARE