मकै बालीमा फौजी किराको प्रकोप

0
717

सुशीला रेग्मी

रामपुर (पाल्पा) १७ जेठ : मकै बालीमा अमेरिकन फौजी किराको प्रकोपले सताउन थालेपछि पाल्पाका कृषक हैरानीमा परेका छन् । हुर्कदै गरेका मकैमा फौजी किरा लागेर सखापै पार्न थालेको कृषकको गुनासो छ ।

बगनासकाली गाउँपालिका २ पोखराथोक बस्ने कृषक लेखनाथ गैरे पन्ध्र रोपनी क्षेत्रफलमा लगाएको मकै बालीमा फौजी किरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा छन् । उनले वर्षेनी वीउ उत्पादनका लागि मकै लगाउदै आएका छन् ।

“वीउ उत्पादनका लागि मकै लगाउने गरेको छु, बिगतका वर्षमा राम्रै उत्पादन हुन्थ्यो, यो वर्ष फौजी किराले उत्पादन घट्ने भयो, विषादी प्रयोग गर्न पनि बजारमा लिन जान पाइएको छैन” गैरेले भने ।

बगनासकाली गाउँपालिकाको वडा नं १, २, ३, ४ , ६, ७ र ९ मा फौजी किराले बढी सताएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् ।

उहाँका अनुसार प्राबिधिकले स्थलगत रुपमा कृषकलाई फौजी किरा पहिचान गर्न लगाउने र निराकरणका लागि विषादी प्रयोगको उपाय सिकाउने गरिएको छ । यहाँ तीन हप्ता अघि देखि किराको प्रकोप देखिएको छ ।

रामपुर नगरपालिकाको वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी किराले मकै बालीमा सताउन थालेको छ । कृषक संग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेट संग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए।

नगरको वडा नं १० को हेक्लाङ्ग क्षेत्रमा बढी किराको प्रकोप भेटिएको छ । यहाँ करिव एक हजार रोपनी क्षेत्रफलमा फौजी किराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीय दामोदर तिमिल्सिनाले बताए ।

आख्ला लागेका मकैमा किराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारी बताउछन्।

विषादी लिनका लागि एग्रोभेटमा पुग्न सवारी साधन चलाउन नपाउँदा कृषकलाई समस्या परेको उनको गुनासो छ । यसभन्दा अघि पनि यहाँ लगाइएको धान बालीमा फौजी किराले सताएर बाली नोक्सान पारेको थियो ।

जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोला लगायतका स्थानमा फौजी किराको प्रकोप देखिएको खबर प्राप्त भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।
स्थलगत अवलोकनका लागि जान सक्ने परिस्थिती नभएका कारण टेलिफोनबाटै नियन्त्रणका लागि प्राबिधिक सल्लाह दिने गरेको अर्यालको भनाई छ ।

के हो त फौजी किरा ?

फौजी किरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यो राति चर्न मन पराउँछ । यो किरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पु‍¥याउने किराको लार्भाले हो । फौजी किराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ । खाना र बासस्थानको खोजीमा यो किराको वयस्क पुतली एक दिनमा एक सय किलोमिटर र जीवनमा दुई हजार किलोमिटरसम्म उडेर जान सक्छ ।

फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ ।

लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्नेछ ।

मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने, राम्रोसँग खोस्टाले घोगा छोपिने जातको मकै लगाउने गर्नुपर्छ । बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात एक हप्ताभित्र रोप्ने, मकैमा कोसेबाली अन्तरबालीको रुपमा लगाउँदा किराको प्रकोप कम गर्न सकिन्छ । अण्डाहरु संकलन गरेर नष्ट गर्ने, गुभोमा मसिनो माटो वा खरानी राख्दा पनि यसको नियन्त्रणमा सघाउँ पुग्दछ ।

SHARE