पाल्पाको रामपुरमा आरन व्यवसाय संरक्षण गरिदै

0
807

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ चैत  : विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन व्यवसाय लोप हुन नदिन संरक्षण गरिन थालिएको छ ।

पुर्खादेखि नै गरिदै आएको आरन व्यवसायको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ को कार्यालयले संरक्षण अभियान सुरु गरेको छ । विश्वकर्मा समुदायको चिनारीका रुपमा रहेको आरन व्यवसाय समुदायबाटै लोप हुन थालेपछि वडा कार्यालयले संरक्षण गर्दै विभिन्न सहयोग गर्न थालेको छ ।

आरन व्यवसाय संरक्षण अभियानमार्फत सहयोगका विभिन्न कार्यक्रम ल्याउन थालेपछि व्यवसायीहरु खुशी भएका छन् । वडा कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पंखा जस्ता विभिन्न सहयोग गरेको वडा सदस्य पार्वती परियारले बताउनुभयो ।

कार्यालयले गत वर्षदेखि नै यो कार्यक्रम सुुरु गरेको हो । वडामा करिव आधा दर्जन आरन व्यवसायीहरु छन् । आरन व्यवसायलाई जोगाउन र संरक्षण गर्न वडा कार्यालयबाट जस्तापाता र पंखा पाएपछि व्यवसायमा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताउनुभयो ।

“आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पंखा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ” विकले भन्नुभयो । उहाँले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताउनुभयो ।

अहिले सम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाउनु भएको थिएन । वडा कार्यालयबाट सहयोग पाएपछि व्यवस्थित तरिकाले व्यसाय चलाउने उहाँ बताउनुहुन्छ । आरन व्यवसायबाट विकले १५ जनाको परिवार धान्दै आउनुभएको छ ।

वडाको मौलाथर बस्ने युवा सुरेन्द्र कामी बाउबाजेको पेशा जोगाउन आरन व्यवसायमा आबद्ध हुनुहुन्छ । विसं २०५४ सालदेखि गाउँमा सबैले छाड्दै गएको आरन व्यवसाय जोगाउन दुखसुखले चलाउँदै आउनुभएको छ ।

“पेशा जोगाउनका लागि जेनतेनले चलाएको थिए, यसभन्दा अगाडी सहयोग केही नपाएपनि अहिले जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउनु पर्छ भन्दै जस्तापाता र पंखा सहयोग गर्नुभएको छ, असाध्यै खुशी लागेको छ” कामीले भन्नुभयो ।

यसै व्यवसायबाट सात जनाको परिवारको गुजारा चलाउनुहुन्छ । व्यवसायमा वडा कार्यालयको सहयोग मिलेपछि यसलाई बिस्तार गरी राम्रो संग चलाएर आम्दानी बढाउने कामी बताउनुहुन्छ ।

जस्तापाता छाउन नसकेर चुहिने अस्थायी छानोमुनी आरन व्यवसाय चलाउदै आउनुभएका गामपोखरा बस्ने कृष्णकुमारी कामी जस्तापाता र आरन चलाउन पंखा पाउँदा खुशी हुनुहुन्छ ।

उहाँले हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बन्चरो, हसिया लगायतका विभिन्न सामग्री बनाउने गर्नुहुन्छ ।

यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानको रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुदै गएको हो ।

पुरानो व्यवसाय संरक्षण नहुदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडा अध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ ।

“युवापुस्ताहरु आरन सम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुदा आरन व्यवसाय हराउदै गएपछि यसको संरक्षणमा वडा कार्यालय लागेको छ” अध्यक्ष नेपालीले भन्नुभयो ।

गाउँघरमा कोइलाको अभाव हुदै जादा आरन व्यवसाय चलाउन समस्या परेको हो । गाउँघरमा भने आरन चलाउने युवाहरु कमै छन् ।

दश वर्ष पहिले यस क्षेत्रमा ५० भन्दा बढी आरन व्यवसाय संचालनमा थिए । अहिले भने एकादुईले मात्र व्यवसाय चलाएको पाइन्छ । विश्वकर्मा समुदायका पाकापुस्ताहरु भने आरन व्यवसाय लोप हुदै जादा चिन्ता व्यक्त गरिरहेका छन् ।

SHARE