रामजानकी मन्दिर निर्माण कार्य २०७२ सालदेखि अधुराको अधुरै

0
323

सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ असोज : जनकपुरको झ–झल्को दिने गरी निर्माण कार्य सुरु गरिएको रामजानकी मन्दिरले गति लिन नसक्दा निर्माण कार्य अधुरै बनेको छ ।
पाल्पाको ऐतिहासिकतालाई मध्यनजर गर्दै रामपुर नगरपालिका ५ स्थित राममन्दिर परिसरमा छत्रशैली र गुम्बाशैली आकारमा स्थानीयको सक्रियतामा ठूलो लगानीमा मन्दिर निर्माण थालनी गरियो ।
मन्दिर निर्माण कार्य सम्पन्न भई चालु हुने समयमा अहिले बीचमै काम ठप्प छ । विसं २०७२ को कात्र्तिकबाट अनुमानित करिव रु दश करोडको लागतमा निर्माण कार्य अगाडी बढाइयो ।
ठूलो योजना सानो वजेटबाट निर्माण कार्य थालनी गरियो तर सम्पन्न गर्न वजेट अभावको समस्याले बीचमै काम रोक्नु परेको रामजानकी मन्दिर विकास परिषद्का अध्यक्ष फणेश्वर गौतमले बताउनुभयो । यसै वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएपनि कामले गति नलिदा वेवारिसे जस्तै बनेको छ ।
“रामपुरलाई धार्मिक नगरीका रुपमा विकास गर्न ठूलो योजना बनाएर मन्दिर निर्माण सुरुवात गरियो, अहिले वजेट अभावमा निर्माण कार्य नै अलपत्र बनेको छ, स्थानीय सरकार रामपुर नगरपालिकाले छुट्टाएको सानो वजेटले काम धेरै गर्न नसकिने, वजेटकै समस्याले पिरोलेको छ” अध्यक्ष गौतमले भन्नुभयो ।
मन्दिर निर्माण सुरु भएपछि रामपुर नगरपालिकाले तीन आर्थिक वर्षमा गरी रु १३ लाख रकम उपलब्ध गराएको र समितिले ठूलो योजना ल्याएको हुदा समितिको माग अनुसारको वजेट उपलब्ध गराउन नसकिएको रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “हामीले विभिन्न क्षेत्रमा पनि हेर्नुप¥यो, एकै ठाउँमा मात्रै वजेट छुट्टयाउँदा अन्यत्र विकास हुदैन, एकै पटक धेरै वजेट उपलब्ध गराउन नसकेपनि क्रमश ः मन्दिर निर्माणमा वडा र नगरपालिका कार्यालयबाट सक्दो सहयोग हुनेछ” ।
रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा उपलब्ध गराएको रु पाँच लाख रकमबाट मन्दिरको दोस्रो तलाको गारो लगाउने र झ्याल राख्ने काम सम्पन्न भएको छ ।
मन्दिर छाउन ठूलो रकम लाग्ने हुदा छाउने काम अलपत्रै छ । छानो छाउने व्यवस्था भएमा मुख्य मन्दिर जसोतसो चालु गरी पूजाआजा व्यवस्थापन गर्न सकिने समितिको भनाई छ ।

चार तलाको मुख्य रामजानकीको मन्दिर करिव ६० प्रतिशत मात्रै काम सकिएको छ भने समितिको योजना अनुसार मन्दिरका अलवा दुई वटा सत्तल भवन निर्माण कार्य भने सुरु नै हुन सकेको छैन ।
भगवान् रामचन्द्र वनवास जाँदा बास बसेको यस रामपुर क्षेत्रलाई धार्मिक नगरीका रुपमा विकास गरी जनकपुरधामको झल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण सुरु गरिएको हो ।
पौराणिक समयमा भगवान् रामचन्द्र बनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउदा रामपुरमा आएर बसोबास गरेको इतिहास छ । रामकै नामबाट राममन्दिर यहाँ रहेको हुदा सोही ठाउँमा रामको ईतिहास जोगाउन रामजानकी मन्दिर निर्माण सुरु गरिएको हो ।
रामचन्द्रले रामपुर ५ को बेझाड बजार नजिकै भात पकाई खाएको रामचुलो राममन्दिर परिसरमा धार्मिक तथा ऐतिहासिक महत्वलाई बचाई राख्न रामपुरवासीले रामजानकी मन्दिर निर्माण गर्न कस्सिएका हुन् ।
ऐतिहासिक महत्वसंग जोडिएको यस रामचुलोको प्रवद्र्धन र संरक्षण गर्ने उद्धेश्यले यहाँका स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा यसलाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि मन्दिर निर्माण सुरु भएको हो ।
रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाई राख्न यहाँका स्थानीयवासीको पहलमा विसं २०७१ माघमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरियो । सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी रकम सङ्कलन गरी मन्दिर निर्माण कार्य थालनी गरिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिनुभयो । महायज्ञमा कतिपय दानदाताले घोषणा गरेको नगद र जिन्सी रकम नउठ्दा पनि काम गर्न अप्ठ्यारो परेको छ ।
मन्दिरको कोषमा प्राप्त वजेट नहुदा निर्माण कार्यलाई दु्रत गतिमा अगाडी बढाउन नसकिएकाले निर्माण कार्यमा सम्बन्धित निकाय स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिएर वजेट व्यवस्थापन गरिदिन मन्दिर व्यवस्थापन समितिका सदस्य मिनराज रेग्मी अनुरोध गर्नुहुन्छ ।
रामपुर नगरपालिकामै धार्मिक क्षेत्रमा ठुलो योजनाका रुपमा निर्माण भएको रामजानकी मन्दिर पहिलो हो । यस मन्दिरको निर्माण कार्यमा रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् । पूर्वको जनकपुरमा अवस्थित रामजानकी मन्दिर जस्तै प्रख्यात बनाउन यहाँका सरोकारवालाले मन्दिर निर्माणमा जोड दिएका हुन् ।
निर्माण कार्य अगाडी बढाउन स्थानीयवासीले दबाब दिइरहेका छन् । मन्दिर निर्माणले गति लिन नसक्दा भने आम नागरिकले चिन्ता व्यक्त गरिरहेका छन् ।
मन्दिरको स्वामित्वमा रहेको करिव चार रोपनी क्षेत्रफलमा निर्माणको काम थालिएको हो । नयाँ शैली र आकारमा निर्मित कार्य थालनी भएकाले यस मन्दिरले सुरुवातीको क्रममा यहाँ अवलोकन गर्न आउनेको चहलपहल थियो ।
निर्माण कार्य अलपत्र हुदा मन्दिर वरपर झाँडीले भरिएको छ । समितिका अनुसार कोरोनाको कहर सुरु भए देखि नै निर्माण कार्य रोकिएको छ ।
गत आर्थिक वर्षमा भने नगरपालिकाले उपलब्ध गराएको रु पाँच लाख वजेट व्यवस्थापन गर्न गारो लगाउने, झ्याल राख्ने मात्र काम भएको छ । यो मन्दिर निर्माण सम्पन्न भएपछि रामपुरको धार्मिक पर्यटन विकासमा ठुलो टेवा पुग्नेछ ।
मुक्तिनाथ, देवघाटधाम संग जोडिएको कालीगण्डकीले यस क्षेत्रलाई पनि जोडेको हुदा मन्दिर निर्माण भएपश्चात् यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्रिनेछन् ।
कालीगण्डकी करिडोरको सडकको विकासले पनि मुक्तिनाथ र देवघाटधाम पुग्ने पर्यटक रामजानकी मन्दिर दर्शनको लागी रामपुरमा आउने यहाँका स्थानीय बताउँछन् । यस रामजानकी मन्दिरलाई यहाँका स्थानीयवासीले विकासको मेरुदण्डका रुपमा लिएका छन् ।

SHARE