कृषि अध्ययन सिकाई केन्द्र बन्दै पाल्पाको ‘रामपुर’

0
281

—सुशीला रेग्मी
भदौ५,२०७८ पाल्पाः रोल्पा जिल्लाको लिवाङ नगरपालिका २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाई अध्ययन केन्द्रका रुपमा लिनुभएको छ ।
उहाँलाई रोल्पा देखि पाल्पाको रामपुर आउन जान सहज त छैन तैपनि आफ्नो कृषि बाली विज्ञान अध्ययन संग संगै प्रयोगात्मक तालिमका लागि भने उहाँले रामपुरलाई नै रोज्नुभएको छ ।
पाल्पा जिल्लामै ठुलो क्षमताको उच्च प्रविधि (हाईटेक) को तरकारी टनेलमा प्रयोगात्मक ज्ञान सिप सिक्न पाइने भएपछि डाँगीले रामपुरमा नै नयाँ प्रविधि सिक्दै हुनुहुन्छ ।
“घर टाढा छ भन्ने मात्रै हो, यहाँ आइपुगेपछि धेरै प्रविधि सिक्न पाइएको छ, यहाँ सिकेको ज्ञान, सिप, अनुभव व्यहारिक जीवनलाई अत्यन्तै उपयोगी छ, हाईटेक टनेलभित्र सबै प्रविधिको ज्ञान सिप सिक्ने र बुझ्ने अवसर मिलेको छ” उहाँले भन्नुभयो ।
रोल्पा देखि रामपुर आइपुग्न सडक सहज भएको खण्डमा एक दिनको पुरा समय लाग्छ । सार्वजनिक गाडीमा भाडा शुल्क मात्रै रु एक हजार ५०० लाग्छ । घर नजिकै अर्थात् छिमेकी जिल्ला, अन्यत्र ठाउँको तुलनामा यहाँ आफ्नो जीवनोपयोगी हुने प्रविधि र सिकाईले उहाँलाई धेरै सहज भएको छ ।
यस्तै प्युठान जिल्ला झिमरुक गाउँपालिका वडा नं ३ ओखरकोट आलखोला घर बताउने जलजला केसी रामपुरमै नयाँ प्रविधि सहितको हाईटेक सुबिधा भएको खबरले रामपुरलाई नै सिकाई थलो बनाउनुभएको छ ।
रामतुलसी मावि कृषि बाली विज्ञान तेस्रो वर्षमा अध्ययनरत केसीले विद्यालय नजिकै रहेको कृषि शाखा कार्यालयमा निर्माण भएको हाईटेक टनेलमा नयाँ प्रविधि सिक्ने अवसर पाएपछि अन्यत्र ठाउँ खोज्दै भौतारिनुपर्ने समस्या टरेको बताउनुहुन्छ ।
“कृषि प्रयोगात्मक अध्ययनका लागि विभिन्न ठाउँमा जानुपथ्र्यो, सबै ठाउँमा हाम्रो लागि आवश्यक पर्ने सबै सुबिधा हुदैनथ्यो, यति ठुलो क्षमताको हाईटेक अन्यत्र जिल्लामा पनि कमै हुन्छ, यहाँ त दैनिक नयाँ प्रविधि संग काम गर्ने अवसर मिलेको छ” केसीले भन्नुभयो ।
उच्च प्रविधि (हाईटेक) को तरकारी टनेल पाल्पा जिल्लाकै सबैभन्दा ठुलो र नमुना भएकाले पनि अहिले कृषि बाली विज्ञान पढ्ने विद्यार्थीका लागि तालिम सिकाई केन्द्र बनेको छ ।
नयाँ प्रविधि सिक्न पाइने भएपछि पढाई संग संगै प्रयोगात्मक सिकाई केन्द्र रामपुरलाई नै रोजाईमा पारेको स्याङ्गजा चापाकोट नगरपालिका वडा नं ६ साँखर बस्ने मुना खनाल बताउनुहुन्छ ।
यहाँ तीन वर्ष अघि देखि उच्च प्रविधि (हाइटेक) को तरकारी टनेल निर्माण भई सञ्चालनमा आएपछि कृषि बाली विज्ञान पढ्दै गरेका विद्यार्र्थीलाई अध्ययन पुरा गर्न अनिवार्य प्रयोगात्मक तालिम लिन र कृषकलाई कृषि प्रविधि सिक्न धेरै सहज भएको छ ।
व्यावसायिक कृषिमा नयाँ प्रविधि सिकाउन र अध्ययन केन्द्रका लागी यहाँ टनेल निर्माण गरिएको हो । रामपुर क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन र कृषकमा नयाँ प्रविधिबारे जानकारी गराउन यस टनेलले ठुलो टेवा पुगेको युवा कृषि उद्यमी दिलबहादुर थापा बताउनुहुन्छ ।
“बाहिर गएर नयाँ प्रविधि हेर्ने अवसर कृषकलाई मिल्दैन, आफ्नै व्यवसायमा व्यस्त भइन्छ, रामपुरमा नै सञ्चालनमा आएको नयाँ प्रविधि सहितको टनेलमा गएर आवश्यक परेका बेला कृषि प्राविधिक संग सोधपुछ गर्ने, नयाँ प्रविधि सिक्ने र घरमा आएर सोही अनुसार खेती गर्न थालेपछि धेरै राम्रो भएको छ” कृषक थापाले भन्नुभयो ।
कृषकलाई अनुदान भन्दा पनि यस्तै खालका नयाँ प्रविधि आवश्यक रहेको र प्रविधि जानेमात्रै उत्पादन बृद्धि गर्न सकिने कृषक थापाको भनाई छ ।
ठुलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ प्रविधिको अवलोकन गरी घर घरमा आधुनिक कृषि प्रविधि पनि अवलम्वन गर्न थालेको रामपुर नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “कृषि सिकाई अध्ययन केन्द्रका रुपमा विकास गरिएको छ, धेरैजसो कृषि बाली विज्ञान पढ्दै गरेका विद्यार्थी, कृषक समुह, सहकारी, ठुला कृषि उद्यम गर्ने कृषकहरु नयाँ प्रविधि सिक्न आउने गर्नुभएको छ, टनेलबाट आम्दानी भन्दा पनि सिकाई अध्ययनका रुपमा विकास गरिएको छौँ”।
पहिलो र दोस्रो वर्ष गोलभेँडा, लहरेबाली प्रजातिका तरकारी खेती पनि गरियो । उत्पादन राम्रै भएपनि यस टनेललाई आयआर्जनसंग मात्रै नभई सिकाई अध्ययन केन्द्र बनाएर काम गरेको शाखा प्रमुख पाण्डेयको भनाई छ ।
कृषि शाखाको परिसरमा साढे दुई रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाई, ३६ मिटर चौडाई रहेको टनेल निर्माण भएको छ । लुम्बिनी प्रदेश सरकारको रु २५ लाख सहयोग र रामपुर नगरपालिकाको रु ३१ लाख गरी रु ५६ लाखको लागतमा टनेल निर्माण गरिएको हो ।
ठुलो क्षमताको टनेल भएकाले धेरैले नौलो प्रविधि मान्दै अवलोकन गर्ने गरेका छन् । कृषिको व्यावसायिकरणतर्फ उन्मुख बन्दै गएको रामपुर नगरपालिका यतिखेर आधुनिक प्रविधिमा फड्को मार्न थालेको छ ।

यो प्रविधिको टनेल समय समयमा मर्मत सम्भार गरिएको खण्डमा दश वर्ष देखि वीस वर्ष सम्म प्रयोग गर्न सकिन्छ । गर्मीयाममा चिसो तापक्रम, थोपा सिंचाई प्रविधि, हावामा सापेक्षिक आद्रता कायम गर्ने, घामको तापक्रम छेक्ने, किरा लाग्नबाट बचाउने गर्छ ।
यस उच्च प्रविधिको तरकारी टनेलमा मौसमी तथा बेमौसमी तरकारीहरु लगाउन सकिन्छ । टनेलभित्र तरकारी लगाउँदा गर्मीयाममा सेन्सर मार्फत कुलिंग प्याड र फ्यानको प्रयोग गरी चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गर्ने गर्छ ।
साथै थोपा ंिसंचाई प्रविधि, सेड नेटद्धारा घामको तापक्रम छेक्ने, किरा छेक्ने जालीको प्रयोगले विरुवामा किरा लाग्नबाट बचाउने, जाडोयाममा रोलिङ्ग यु.भी. प्लाष्टिकद्धारा बाहिरको भन्दा तापक्रम बृद्धि गराई विरुवालाई आवश्यक तापक्रम मान कायम गर्ने जस्ता बिशेषता रहन्छन् ।
यसले कृषकलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ । यसको मुख्य उद्धेश्य बेमौसमी तरकारी उत्पादन गर्नु हो । नविनतम प्रविधि रामपुरमा भित्रिएपछि युवाहरुमा कृषिप्रतिको आकर्षण समेत बढ्दै गएको छ ।
नयाँ प्रविधिको टनेल निर्माण भएपछि यस क्षेत्रमा आधुनिक प्रविधिबाट तरकारी खेती बिस्तार, कृषिजन्य यान्त्रिकरणको प्रयोग बढ्दो रहेको छ । नयाँ प्रविधि रामपुरमा भित्रिन थालेपछि निर्वाहमुखी कृषि व्यवसाय गरेका कृषकको व्यवसायिक कृषिमा आकर्षण बढ्दो छ ।
यहाँ टनेल निर्माण पश्चात अहिले रामपुरमा विभिन्न क्षेत्रबाट कृषि समुह, विद्यार्थी, विभिन्न संघ संस्था, व्यक्तिहरु अवलोकन गर्न आउने गरेका छन् । समुहमा अवलोकन गर्न आउनेलाई रु एक हजार शुल्क, प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागी रु ५० टिकट कायम गरिएको छ ।
यस टनेलमा प्रयोगात्मक सिप सिक्न पाल्पा सहित सल्यान, रोल्पा, दाङ, प्युठान, स्याङ्गजा, तनहुँ लगायत विभिन्न जिल्लाका विद्यार्थीहरु भित्रिएका छन् ।

SHARE