रामपुर नगरको कृषिमा नमुना कार्य : युवालाई व्याज अनुदान

0
278

सुशीला रेग्मी
भदौ १,२०७८ पाल्पा :समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समय देखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ ।
रामपुर नगरपालिकाले कृषि उद्यम गर्न ईच्छुक युवालाई व्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन शुरु गर्नुभएको छ ।
“कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन शुरु गरेको छु, दुईवर्ष सम्मको व्याज पनि तिर्नु नपर्ने रहेछ, नगर सरकारले युवा लक्षित व्याज अनुदान कार्यक्रम ल्याएपछि हाँसपालन शुरु गरेको छु” मियाँले भन्नुभयो ।
उहाँको फार्ममा हाल माउ र चल्ला गरी करिव पाँच सय हाँस छन् । हाँससंगै स्थानीय जातको चार सय कुखुरा पाल्ने तयारी गर्नुभएको छ । उहाँले गतवर्ष ४५० हाँस बिक्रि गरिसक्नुभएको छ ।
त्यस्तै विनोद श्रेष्ठले नगरपालिकाले रु दश लाख बराबरको व्याज अनुदान उपलब्ध गराएपछि गाईभैसीपालनलाई बिस्तार गर्नुभएको छ । नगर सरकारको सहयोगले कृषि तथा पशुपालन व्यवसायमा दीर्घकालिन रुपमा लाग्ने युवालाई प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।
“दुईवर्ष सम्म बैंकबाट झिकेको ऋणको व्याज नगरपालिकाले बुझाइदिने भएपछि व्यवसाय गर्न धेरै राहत पुगेको छ, व्याज बुझाउनु नपरेपछि ऋणको भार कृषकलाई कम परेको छ, आम्दानी विभिन्न क्षेत्रमा खर्चन पाइएको छ” उहाँले भन्नुभयो ।
उहाँले नगरपालिकाको सहयोगमा आठ भैसी, सात गाईपालन व्यवसाय चलाउनुभएको छ । यस कार्यक्रमले युवालाई गाउँमै बसेर कृषि उद्यम गर्न आकर्षित बनाएको श्रेष्ठको अनुभव छ ।
बलबहादुर घर्तीले दुईवर्ष सम्मको व्याज नगरपालिकाले बुझाउने भएपछि कृषि विकास बैंकबाट रु दश लाख कर्जा लिनुभयो । सो रकम बंगुरपालनमा लगानी गर्नुभएको छ । दुईवर्ष देखि बंगुरपालन व्यवसाय गर्नुभएका उहाँको फार्ममा हाल १० माउ, ५५ बंगुरका पाठापाठी छन् ।
व्यवसायबाट गरेको आम्दानी बैंकबाट झिकेको ऋणको व्याज बुझाउनुपर्दा कतिपयले आम्दानी नै लिन नसक्ने अवस्था पनि छ । महिनैपिच्छे बैंकमा व्याज बुझाउने समस्याले कृषकले लगानी र मेहनत अनुसारको प्रतिफल लिन नसकिरहेको अवस्थामा यस कार्यक्रमले व्याज बुझाउनुपर्ने झण्झट हटेको अगुवा कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ ।
अर्यालले भैसीपालनका लागि नगरपालिबाट रु १० लाख व्याज अनुदान कर्जा लिनुभएको छ । रामपुर नगरले शुरु गरेको व्याज अनुदान कार्यक्रम नमुना रहेको अर्यालको भनाई छ ।
“बैंकबाट ऋण झिकेर व्यवसायमा लगानी गरियो, समयमा व्याज बुझाउन नसक्दा कृषकलाई तनाव हुन्थ्यो, अब नगरपालिकाले दुईवर्ष सम्मको व्याज तिर्ने भएपछि व्याज बुझाउन कता दाम खोज्ने भन्ने पिरलो हट्यो” अर्यालले भन्नुभयो ।
रु १२ लाख सम्मको कृषि कर्जामा दुईवर्षको पूर्ण अनुदान उपलब्ध गराउने युवा स्वरोजगार कार्यक्रम कार्यविधि तयार गरी आर्थिक वर्ष २०७५÷०७६ देखि कार्यक्रम संचालन गरियो ।
आ.व. ०७६÷०७७ मा ३३ जना युवा उद्यमीले यस कार्यक्रम अन्र्तगत रु दुई करोड १८ लाख ५५ हजार कर्जा लिएका छन् । त्यस्तै आ.व. ०७६÷०७७ मा दोस्रो चरणमा ११ जना युवा उद्यमीले यस कार्यक्रम अन्र्तगत रु ८१ लाख ५० हजार कर्जा लिएका छन् ।
आ.व. ०७७÷०७८ मा २३ युवा उद्यमीले यस कार्यक्रम अन्र्तगत रु एक करोड ९२ लाख कर्जा लिएर व्यवसाय चलाएका छन् ।
आ.व. ०७७÷०७८ को अन्त्य सम्म यस युवा स्वरोजगार कार्यक्रम अन्र्तगत छनौट भई सम्झौता भएका ६७ युवा उद्यमीले जम्मा रु चार करोड ९२ लाख पाँच हजार बराबरको कर्जा लिई नगरपालिका संग सम्झौता गरिसकेको र सोही अनुसार नगरपालिकाले सो रकमको दुई वर्ष सम्मको शत प्रतिशत व्याज अनुदानको रुपमा उपलब्ध गराउँदै आएको छ ।
आ.व. ०७७÷०७८ को पहिलो चौमासिकमा ३५ युवा उद्यमीलाई रु ११ लाख व्याज अनुदान उपलब्ध गराइएको छ । आ.व. ०७७÷०७८ मा पेश भएका प्रस्तावनाबाट ८६ युवा उद्यमी छनौट गरिएको र दोस्रो चौमासिकमा ३८ युवा उद्यमीलाई पाँच महिनाको रु ११ लाख ५५ हजार ४११ रकम व्याज अनुदान उपलब्ध गराइएको छ ।
आ.व. ०७७÷०७८ को तेस्रो चौमासिकमा ६३ उद्यमीहरुलाई रु १४ लाख ५१ हजार २३९ रकम उपलब्ध गराइएको छ । गत असार मसान्त सम्ममा युवा स्वरोजगार कार्यक्रमबाट युवा उद्यमीलाई रु ४२ लाख ५७ हजार ८२३ व्याज अनुदान उपलब्ध गराइएको युवा स्वरोजगार कार्यक्रम समितिका सदस्य सचिव तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।
“यस कार्यक्रमले कृषि व्यवसाय दर्ता गर्ने र नयाँ फार्म स्थापना, कृषि तथा पशुपालनको व्यवसायीकरण भएको छ, अनुदान कार्यक्रममा सहभागी युवाहरु उत्साहजनक रुपमा कृषिमा लाग्नु भएको छ” पाण्डेयले भन्नुभयो ।
युवा उद्यमीहरुलाई कृषि तथा अन्य व्यवसाय स्थापना र व्यवसाय बृद्धिको लागि कृषि कर्जामा पूर्ण अनुदानले रामपुर नगरपालिकामा कृषि तथा पशुपंक्षीपालन सम्बन्धी फार्म दर्तामा बृद्धि भएको पाण्डेयले बताउनुभयो । उहाँका अनुसार साथै यस कार्यक्रमले युवाहरुको रोजाइ कृषि व्यवसाय बन्न थालेको छ ।
रामपुर नगरपालिकालाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउन र स्थानीय उत्पादनलाई प्राथमिकता दिने, वैदेशिक रोजगारमा जाने युवालाई गाउँमै बसेर काम गर्न प्रेरणा मिलोस् भनेर यो कार्यक्रम शुरु गरिएको हो ।
यसै आर्थिक वर्ष देखि यस कार्यक्रममा समावेश भएका युवालाई कृषिमा प्रोत्साहन गर्दै रु १२ लाख व्याज अनुदान दिदै आइएकोमा थप गरी रु २० लाख सम्म पु¥याउने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
तरकारी, फलफूल खेती, नर्सरी स्थापना वा नबिन कृषि प्रबिधिको हकमा व्यक्तिगत कम्तिमा दुई रोपनी जग्गामा एकै खेती वा सामुहिक रुपमा दश रोपनीमा खेती गरेको हुनुपर्नेछ कार्यविधिमा उल्लेख छ ।
कुखुरापालनका लागि व्यक्तिगत कम्तिमा ५०० कुखुरा र सामुहिक कम्तिमा तीन हजार कुखुरा (लेयर्स जातको हकमा दुई हजार) पाल्ने योजना सहित कुखुरा अट्ने भौतिक संरचना भएको वा सोही संरचना बन्ने जग्गा हुुनुपर्नेछ ।
माछा पोखरीको हकमा व्यक्तिगत दुई रोपनी र सामुहिक १० रोपनीमा हालसालै निर्माण भएको वा निर्माण गर्न सक्ने जग्गा हुनुपर्नेछ ।
बाख्रापालनको हकमा व्यक्तिगत १० माउ र सामुहिक १०० वटा बाख्रा पालन गर्नुपर्ने, मौरीपालनको लागि व्यक्तिगत २० घार र सामुहिक १०० घार हुनुपर्ने, च्याउ खेतीमा व्यक्तिगत तीन डुमहाउस र सामुहिक १० डुमहाउस, बंगुरपालनमा व्यक्तिगत पाँच माउ र सामुहिक २५ माउ हुनुपर्ने, गाईभैसीमा व्यक्तिगत पाँच माउ र सामुहिक २० माउ हुनुपर्नेछ । यस कार्यक्रमम २१ वर्ष उमेर पुरा भई ५० वर्ष भित्रका व्यक्तिलाई मात्र समावेश गरिएको छ ।

SHARE