खुट्टाले लेखेर कक्षा ११ को परिक्षा दिदै ‘याम’

0
467

सुशीला रेग्मी
रामपुर पाल्पा, २२ साउन : आफूमा मेहनत र ईच्छा शक्ति छ भने आफ्नो लक्ष्यमा पुग्न सकिन्छ । यस्तै उदाहरणिय व्यक्ति हुनुहुन्छ, याम खाम्चा ।

दुबै हात चल्दैनन्, बोल्न नसक्ने तर सुन्न र देख्न राम्रो संग सक्ने यामले अहिले खुट्टाले लेखेर कक्षा ११ को परिक्षा दिइरहनुभएको छ । निस्दी गाउँपालिका वडा नं २ आनन्दीभन्ज्याङ्ग स्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरु विद्यार्थी सरह नै परिक्षामा सहभागी हुनुहुन्छ ।
भुईमा बसेर अगाडी प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्नुहुन्छ । विहान ११ ः ०० वजे देखि २: ०० वजे सम्म संचालन हुने परिक्षामा साधारण विद्यार्थी सरह नै तोकिएको समयमा नै परिक्षा दिन विद्यालय पुग्नुहुन्छ ।
अरु विद्यार्थी सरह नै एउटै कक्षाकोठाको अगाडी एक छेउमा बसेर परिक्षा दिने व्यवस्था मिलाइएको र परिक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था अनुसार नै यामको लागी तीन घण्टा ३० मिनेटको समय निर्धारण गरिएको शिक्षक विष्णु थापा बताउनुहुन्छ । उहाँका अनुसार याम संगै यस विद्यालयबाट १८ जना विद्यार्थी परिक्षामा सम्मिलित छन् ।
उहाँ भन्नुहुन्छ, “प्रश्न अस्पष्ट भएमा मात्रै शिक्षकलाई ईशारा गरेर बोलाएर खुट्टाले संकेत गरेर प्रश्न देखाउने गर्नुहुन्छ, खुट्टाको भरमा लेखाई भएकाले अलि ढिलो लेख्नुहुन्छ, तैपनि निर्धारण समयमा भने सबै प्रश्नको हल गर्नुहुन्छ, अनुशासित रुपमा परिक्षामा सहभागी हुनुभएको छ” ।
साउन २० गतेबाट सुरु भएको कक्षा ११ को परिक्षामा उहाँ निर्धक्क तयारीका साथ परिक्षामा सामेल हुनुभएको छ । खुट्टाकै लेखाईले नै माध्यमिक शिक्षा (एसईई) परिक्षा उत्र्तिण गरी अहिले कक्षा ११ को परिक्षा दिदै हुनुहुन्छ ।
शिक्षाशास्त्र सङ्कायमा नेपाली विषय लिएर ११ कक्षाको परिक्षामा सामेल यामले अनुशासनमा रहेर परिक्षामा सहभागीता जनाउनुभएको छ । शारीरिक रुपमा अशक्त रहेपनि स्मरण शक्ति राम्रो रहेका याम जिज्ञासु स्वभावका हुनुहुन्छ । केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै ईशारा गरेर जवाफ सोध्नुहुन्छ ।
उमेरले २४ वर्षमा लाग्नुभएका यामको दुबै हात चलाउन, बोल्न नमिल्ने यो समस्या जन्मजात नै हो । फरक क्षमता भएका यामको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । खुट्टाले लेखेर ठुलो मान्छे बन्ने सपना बोक्नुभएको छ । कक्षाकोठामा शिक्षकले पढाउँदा एक पटक भनेपछि मज्जाले बुझ्ने गर्नुहुन्छ । नबुझेको कुरा भएमा शिक्षकलाई ईशारा गरेर बोलाउने, खुट्टाले कापीमा लेखेर देखाउने र बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको यामलाई अक्षर चिनाउनुभएका बालज्योती प्राविका प्रधानाध्यापक रोशन सिं सारु बताउनुुहुन्छ ।
“विद्यालय विदाको समयमा घरमा बसेर पढ्ने क्रममा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोधपुछ गर्ने, नयाँ कुरा सिक्न खोज्ने अचम्मको स्वभाव छ” उहाँले भन्नुभयो ।
विद्यालयका वार्षिकउत्सव लगायतका विभिन्न कार्यक्रममा आफुले तयार पारेको कविता, गजल, कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर ल्यापटपमा विभिन्न रचना लेख्ने, गाउँका समाचार बनाउने कार्यमा उहाँ व्यस्त देखिनुहुन्छ ।
गर्भावस्थामा जण्डिस रोगले ग्रसित खाम्चा औषधी उपचारको अभावमा सधैभरी अर्काको साहारामा बाँच्नु परेको छ । पैदल हिडेर नियमित रुपमा समयमा नै विद्यालय जाने र घर फर्कने गर्नुहुन्छ । कक्षाकोठामा पनि अन्य विद्यार्थी सरह नै एक छेउमा भुईमा बसेर पढ्ने गर्नुहुन्छ ।
दुबै हात चलाउन नमिलेपनि फुर्सदको समय छ भने सकभर खुट्टाले चम्चाको सहायताले आफै पनि खाना खाने गरेको आमा योगमाया खाम्चा बताउनुहुन्छ

उहाँ भन्नुहुन्छ, “विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाई संग पनि खेल्न नजाने, परिवार संगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छन्” । आफुले गर्न सक्ने र मिल्ने जति काम उनी अरुलाई गर्न दिदैनन्, यो उनको सानैदेखिको बानी रहेको आमा खाम्चाले बताउनुभयो ।
मानबहादुर खाम्चाका तीन छोरा एक छोरीमध्ये माइलो सन्तानका रुपमा रहनुभएका यामको शारीरिक अवस्थाले सुरुमा उहाँ चिन्तित हुनुहुन्थ्यो । अहिले छोराको पढाईप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी हुनुहुन्छ ।
जन्मदै शारीरिक रुपमा कमजोर रहनुभएका याम आठ वर्षको उमेरपछि बिस्तारै हिडडुल गर्न सक्ने हुनुभयो । नयाँ व्यक्तिसंग चिनजान गर्ने, आफुले लेखेका तस्वीर, अक्षर देखाउने, नयाँ कुरा सिक्न खोज्ने, विभिन्न रचना लेख्ने लगायतका कार्यमा उहाँको रुची बढी छ ।
गृहकार्य सकिएपछि घरमा ल्यापटपमा विभिन्न कथा, कविता लेख्ने, ईन्टरनेट चलाउने, सामाजिक संजालमा आफ्ना लेख रचना, तस्वीर, स्टाटस पोष्ट गर्ने, सन्देश पठाएर कुराकानी लगायतका विभिन्न क्रियाकलाप गरेर बस्नुहुन्छ ।
ल्यापटपमा कथा, कविता लेख्ने, युट्युब हेर्ने, मोबाईलमा फेसबुक चलाउने, म्यासेन्जरमा सन्चो बिसन्चो लेखेर कुरा गर्ने, आफुले लेखेका रचना पठाउने, बढी ईमेल ईन्टरनेटमा शौखिन राख्ने, रेडियो सुन्ने, नयाँ व्यक्तिसंग परिचित हुन बढी मन पराउने यामका दाजु पुनाराम खाम्चाले बताउनुभयो ।
फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । यामले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठुलो मान्छे बन्ने सपना बोक्नुभएको छ ।
न हातले लेख्न सक्ने, न त बोल्न सक्ने तर पनि उहाँको खुट्टाको सहायताले गर्ने कार्य र लगनशीलता, मेहनत देख्ने जो कोहीलाई अचम्मित पार्ने खालको छ । सानैदेखि नै घर परिवारका सदस्य, साथीभाई संग मित्रवत व्यवहार गर्ने, उहाँको शान्त स्वभाव छ ।

SHARE