रामपुरमा खोपमा अनियमितता, नगरपालिकाद्धारा पत्रकार सम्मेलन

0
280

सुशीला रेग्मी
रामपुर (पाल्पा), २ असार :पाल्पाको रामपुर नगरपालिकामा खोपमा अनियमितता भएको सर्वत्र व्यापक गुनासो बढेपछि नगरपालिकाले पत्रकार सम्मेलन गरेको छ । गत जेठ २५ र २६ मा सरकारले काठमाण्डौँ उपत्यकामा ६० देखि ६४ वर्ष र काठमाण्डौँ बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेर समुहका लागि खोप अभियान चलाएको थियो । पाल्पाको रामपुर नगरपालिकाले गत जेठ २५ गते वडा नं १, २, ३, ४ र २६ गते ५, ६, ७, ८ ,९ र १० गते खोप सेवा दिएको छ । जेठ २५ र २६ गते खोप लगाउन छुटेकालाई २७ गते रामपुर अस्पतालबाट सेवा दिइएको थियो ।
जेठ २८ गते रामपुरम नगरपालिकाले लक्षित समूह भन्दा बाहिर खोप लगाएको प्रति आम नगरवासीले बिरोध जनाएका छन् । खोपमा अनियमितता भएको भन्दै आम नागरिकले बिरोध जनाएपछि नेकपा एमाले रामपुरले जेठ ३१ गते खोपको अनियमितताबारे छानबिन गरी दोषि उपर कारबाहीको माग गर्दै विज्ञप्ति निकालेपछि नगरपालिकाले मंगलवार (असार १ गते) पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
नगरपालिकामा ५५२ भाइल डोज खोप प्राप्त भएकोमा ४६७ भाइल डोज खोप लगाइयो भने बाँकी खोप जेठ २८ गते नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको मिलेमतोमा उनीहरुका घरपरिवार, आफन्त, राजनैतिक दलका नेता कार्यकर्ताले खोप लगाएपछि सबैले आलोचना गरेका छन् ।
नगरपालिकाका प्रमुख रमणबहादुर थापाले ५५२ डोज खोपमध्ये ४६७ प्रयोगमा आएको र बाँकी रहेको खोप जेठ २८ गते नगरभित्रका दीर्घरोगीलाई लगाउने वडा वडामा खबर गरेको र त्यसै क्रममा तोकेका व्यक्ति बाहेक अन्य व्यक्तिले पनि खोप सेवा लिएको बताउनुहुन्छ ।
“हामीलाई प्राप्त खोपमध्ये केही खोप बाँकी रहेको हुदा बाहिर पठाउन भन्दा दम, मुटु, दीर्घरोगीलाई बोलाएर लगाउने निर्णय ग¥यौँ, राजनैतिक दलका नेताले खोप लगाउने कार्यमा सहजिकरण गर्नुको सट्टा उल्टै उहाँहरुले नै आफ्ना आफन्त, परिवार बोलाएर लगाएको पाइएको छ” उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा केही वडामा जेठ २५ गतेको खोपबाटै अनियमितता भएको स्वीकारेपनि एक हप्ता बितिसकेको खोपको तथ्याङ्क वडाबाट नगरमा अझै नआएकोले बताउन नसकिएको जानकारी दिइएको छ ।
नगरपालिकाले जेठ ३१ गते सार्वजनिक गरेको तथ्याङ्कमा भने २५ र २६ गते संचालन भएको खोप अभियान अन्र्तगत वडा नं १ मा ३६, वडा नं २ मा २९ जना, ३ मा ४९, वडा नं ४ मा २५ जना, ५ मा ५२, वडा नं ६ मा ५० जना, ७ मा ४१, वडा नं ८ मा ६३ जना, ९ मा २७ र १० मा ३६ जनाले खोप सेवा लिएका छन् । त्यस्तै जेठ २७ गते वडामा लगाउन छुटेकालाई रामपुर अस्पतालमा सेवा संचालन गरी ६० जनालाई खोप लगाइएको छ । बाँकी रहेको खोप भने दीर्घरोगी, दम, मुटु रोगीको नाममा २८ गते १६७ जनाले खोप सेवा लिएको तथ्याङ्कमा उल्लेख छ ।
रामपुर नगरपालिकालाई प्राप्त भएको ५५२ भाइल डोज खोप हो भने नगरपालिकाले जारी गरेको तथ्याङ्कमा जम्मा ६३७ जनाले खोप लगाएको विवरण देखिन्छ । केही खोप निस्दी गाउँपालिकामा लक्षित वर्गलाई लगाएर बाँकी रहेको खोप रामपुर अस्पतालको केन्द्रबाट जेठ २८ गते लगाएको भन्ने कुरा पनि उठेको छ । यस सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा नगर प्रमख थापाले आफुलाई कुनै जानकारी नभएको बताउनुहुदै हरेक नागरिकलाई खोप दिने सोचमा नगरपालिका रहेको र दुई दिनको नियमित खोपमा केही छुटेकालाई तेस्रो दिन खोप दिने सल्लाहमा लगाइएको उल्लेख गर्नुभयो ।
“जिल्लाले अनुमती दिएर बाँकी खोप फिर्ता नगर्ने भनेर लगाइने निर्णय अनुसार लगाइयो, नेकपा एमाले, कांग्रेसका नेतृत्व तह देखि पूर्व सांसद सम्मका व्यक्तिले खोप लगाउनु भएको विवरण हामीसंग छ, खोप लगाउने कार्यमा सहजिकरण गर्नुका सट्टा उल्टै उहाँहरुले नै खोप लगाउनुभयो, अहिले आएर उहाँहरुबाटै प्रेस विज्ञप्ती निकाल्नु लज्जास्पद कुरा हो, हामी खोप अनियमितता सम्बन्धी छानबिन गर्छौँ” नगर प्रमुख थापाले भन्नुभयो ।

बाहिर आएका बिषय प्रति अनुसन्धान गर्न प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएको बताउदै उहाँले दिर्घरोगीका लागि बचेको खोप लगाइएकोमा केही प्रहरी, स्वास्थ्यकर्मी, मजदुर सहितले लगाएको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले खोपमा त्रुटि भएको र अनियमितताको कुरा आमनागरिक, पत्रकारले उठाउनु भएको कुरा यथार्थ र जायज रहेको बताउनुभयो ।
उहाँ भन्नुहन्छ, “बाँकी खोप नै लगाउने भएपछि सुचना निकालेर नागरिकलाई बोलाउनुपथ्र्यो त्यो हुन सकेन, बाहिर नागरिकले भनेजस्तै स्वास्थ्यकर्मी, जनप्रतिनिधीले फोनमार्फत आफ्ना नागरिकलाई बोलाएर लक्षित समूह बाहेकका नागरिकलाई खोप लगाइदिएर गल्ति भएको छ, यो व्यापक अनियमितता भएको छ, त्यसको छानबिन हुन्छ” । प्रमुख प्रशासकिय अधिकृत नागिलाले खोपमा भएको अनियमिताबारे छानविन गरेर गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभयो ।
पटक–पटक पत्रकारले २८ गतेको खोपमा बढी विवाद आएको बताउदै जिज्ञासा राखेपनि त्यो दिन लगाइएको १७० भाइल खोपमा ३ प्रहरी, १५ स्वास्थ्यकर्मी, ६२–६४ उमेर समुहका ९ र केही मजदुर बाहेक अन्यको तथ्यांक आउन सकेन । जेठ २७ गते बाँकी भएको ८५ भाइल खोप लगाउने क्रममा बढेको भिडभाड थेग्न नसकेपछि आफू बाहिर निस्केको उल्लेख गर्दै स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले अरु खोपबारे आफू अनविज्ञ रहेको उल्लेख गर्नुभयो ।
रामपुर अस्पतालमा केही खोप पहिले नै लिएर आफन्तलाई लगाएको बताउदै थप खोपकोबारे अस्पतालले कहाँबाट ल्यायो त्यो आफुलाई जानकारी नभएको उहाँले जानकारी दिनुभयो।
भिडभाडमा युवावर्गले बढी लगाएको गुनासो पछि लाइनमा बसेकाहरु बिच नै खोप स्थगित भएको थियो । नगरपालिकाले पत्रकार सम्मेलनमा राजनितिक आस्थाका रुपमा भन्दा पनि बाँकी खोप एमाले कांग्रेसका अगुवाहरुले लगाएको बताउदै एमालेका दर्जन बढीका खोप लगाउनेहरुको मात्र नाम सार्वजनिक गरेको थियो ।
जेठ २८ गतेको खोप कार्यमा नगरका जनप्रतिनिधि आफैले घरपरिवारका सदस्य, आफन्त, छिमेकीलाई फोनमार्फत खोप लगाउन बोलाएपछि रामपुर अस्पतालमा भिडभाड बढेको एक प्रत्यक्षदर्शीले नाम नबताउने शर्तमा भने ।
केहीले भने नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा विपक्षी पार्टीका व्यक्तिलाई बढी लक्षित गरी नाम सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै यदि नाम नै सार्वजनिक गर्नु थियो भने लक्षित वर्ग बाहेक सबैको नाम उल्लेख गर्नुपर्ने हो, आफु निकटका व्यक्तिलाई ढाकछोप गरेर जोगाउन खोजिएको आरोप लगाएका छन् ।
अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डेन डा. विजय परियारले व्यवस्थापनमा ख्याल नगरीकन खोप चलाउदा अन्तिम दिन समस्या आएको बताउनुभयो । उहाँले खोप समयमा ड्युटीमा नरहेका स्वास्थ्यकर्मी सहित दिर्घरोगीका लागि सो खोप लगाएको बताउनुभयो ।

SHARE