रामपुरमा बाँदर आतङ्क रोक्न कृषकलाई उपकरण

0
545

सुशीला रेग्मी

रामपुर (पाल्पा), १३ असार : बाँदर आतङ्कको समस्याले हैरानीमा रहेका पाल्पाको रामपुर नगरपालिकाका कृषकलाई बाँदर भगाउने आधुनिक प्रबिधिको उपकरण उपलब्ध गराइएको छ । बाँदर आतङ्क बढी देखिएका नगरका कृषकलाई बाँदर भगाउने उपकरण सहयोग गरिएको हो ।

पहिलो चरणमा बाँदर भगाउने ५० वटा आधुनिक उपकरण कृषकलाई उपलब्ध गराउने कार्यक्रम अनुसार वितरण गरिएको र पुनः ५० वटा यन्त्र खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगर प्रमख रमणबहादुर थापा बताउँछन ।

“बाँदरले खेतबारीमा लगाएका अन्नबाली खाएर उत्पादन नै लिन नपाएको गुनासो पटक पटक आएको र अहिले स्थानीय युवाले निर्माण गरेको उपकरण प्रयोग गरी केही हदसम्म बाँदर भगाउन सकिने विश्वास लिइएको छ” नगर प्रमुख थापाले बताए ।

सो उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पारेका हुन्े । साढे दुई फिट लामो चार इन्च र तीन फिट लामो २. ५ इन्चको पिभिसी पाईप जोडेर तयार गरिएको उपकरण परिक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो ।

सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडीबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउँछन् ।

रामपुर नगरपालिका र कालीगण्डकी फाउण्डेशनको समन्वयमा वितरण गरिएको बाँदर भगाउने यन्त्र संगै केही ‘क्याल्सियम कार्बाेहाईड’ र ग्यास लाईटर पनि प्रदान गरिएको छ । सो यन्त्रको मुल्य तीन हजार ५०० रहेको छ । नगरपालिकाले बाँदर आतङ्कित क्षेत्रका कृषकलाई एक÷एक वटा उपकरण निशुल्क वितरण गरेको छ ।

रामपुर नगरपालिका ३ चन्दनपुर बस्ने गंगाबहादुर रानाले वर्षेनी १५÷२० रोपनी जमिनमा अन्नबाली, फलफूल तथा तरकारी खेती गरेपनि उत्पादन भने बाँदरकै आहारमै सीमित हुन्थ्यो ।

बाँदर भगाउन विभिन्न उपाय अपनाएपनि गाउँबाट बाँदर मुक्त गराउन नसकेको अवस्थामा आधुनिक उपकरणको प्रयोगबाट बाँदर आतङ्क रोक्ने प्रयासमा लाग्ने उनी बताउँछन् ।

बाँदरलाई खेतबारीबाट धपाउन खोज्दा मानिसलाई नै झम्टिने र टोक्ने गरेर पटक पटक घाइते बनाउँदा कृषकहरु बाँदरको समस्याले हैरानीमा छन् ।

बाँदर भगाउने कुनै विकल्प नभएका अवस्थामा नगरपालिकाले आधुनिक उपकरण दिएपछि बाँदर आतङ्क समस्या कम हुने रामपुर नगरपालिका ४ टुभाकका कृषक शेरबहादुर राना बताउँछन् ।

रामपुर नगरपालिकाको वडा नं १, २, ३, ४, ७, ८, ९ र १० का विभिन्न वस्तीमा ठुला ठुला समुहमा बाँदर गाउँ पसेर अनाजहरु खाएर सखापै पार्ने गरेको छ । कतिपयले बाँदर आतङ्कले वस्ती नै छाडेर तल्लो क्षेत्रमा बसोबास गरेका छन् । उत्पादनशिल जमिन बाँदरको समस्याले अहिले बाँझिदैछन् ।

बाँदर बढी लाग्ने क्षेत्रमा नगरपालिकाले बेसार, अमिला जातका फलफूलका विरुवा लगाउने कार्यक्रम ल्याएको छ । अहिले यहाँका माथिल्लो डाँडाभेगका कृषकले बाँझिएका जग्गालाई सदुपयोग गर्दै नगरको सहयोगमा सुन्तला, कागती, अमिला, बेसार जस्ता खेती लगाउन थालेका छन् ।

जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ । खेतबारीमा लगाएको अनाज उत्पादन लिने बेलामा बाँदरका समुह आएर खाएर सखापै पार्ने गरेको रम्भा १ बस्ने कृषक ऋषिराम अर्याल बताउँछन् ।

“ठुलो ठुलो समुहमा आएको बाँदर एकै पटक खेतबारीमा पस्दा बालीनाली सबै सखापै पार्ने गरेको छ, समुहमा आएका बाँदरलाई धपाउन खोल्दा उल्टै झम्टिएर घाइते समेत बनाएको छ” अर्यालले भने ।

बाँदरबाट अन्नबाली जोगाउन केही कृषकले खेतबारीमै छाप्रो बनाएर बस्ने गरेका छन् । बिहान उज्यालो भएदेखि साँझ अबेर सम्म पालो गरेर बाँदरको निगरानी गर्नु परेको कृषकहरु बताउँछन् ।

SHARE