लकडाउन : पाल्पा निस्दीका कृषक सूर्यमुखी फूल टिप्न व्यस्त

0
733

 

—सुशीला रेग्मी

रामपुर (पाल्पा), २० वैशाख ः बन्दाबन्दीका कारण देशैभर जनजीवन असहज भएका अवस्थामा निस्दी गाउँपालिका वडा नं ४ लामेदमारका कृषकभने सूर्यमुखी फूल टिप्दै समयलाई उपयोग गरेका छन् ।

अन्यत्र निस्कने अवस्था नभएपछि खेतमा लगाइएका सूर्यमुखीको फूल टिप्ने र घरमा सुकाउनु यहाँका कृषकको दैनिकी बनेको छ । यहाँ करिव ६० घरका कृषकले व्यवसायिक सूर्यमुखी खेती सुरु गरेका छन् ।

समूहमार्फत ६० घरधुरीका कृषकले एक सय ५२ रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती लगाइएको लामेदमार सूर्यमुखी पकेट क्षेत्रका अध्यक्ष केशबहादुर आले बताउनुहुन्छ ।

“अहिले कृषकलाई खेतमा जाने फूल टिप्ने र घरमा ल्याउने सुकाउने, भण्डारण गर्ने गर्दैमा ठिक्क छ, लकडाउनको समय सूर्यमुखी स्याहार्ने कार्यमा दिन बितिरहेको छ” – अध्यक्ष आलेले भन्नुभयो ।

खेतमा ढकमक्क फूलेका फूल टिपेर घरमा ल्याउँदा निकै आनन्द लाग्ने गरेको कृषक धनबहादुर खाम्चाले बताउनुभयो । परीक्षणका रुपमा दुई रोपनी खेतमा लगाएको सूर्यमुखी राम्रो भएपछि अर्को वर्ष पनि लगाउने उहाँ बताउनुहुन्छ ।

निस्दी गाउँपालिकाले सूर्यमुखीको पकेट क्षेत्र बिस्तार कार्यक्रमका लागि वीउ तथा मल व्यवस्थापनका लागि रु दुई लाख सहयोग गरिएको कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिनुभयो ।

“पहिलो पटक लगाइएको सूर्यमुखी खेतीले सोँचेभन्दा राम्रो उत्पादन भएपछि व्यवसायमा कृषकको आकर्षण बढ्दो छ, लकडाउनको समय सामाजिक दूरी कायम गरी खेती स्याहार्न व्यस्त छन्” उहाँले भन्नुभयो ।

गतवर्ष मुढाबास क्षेत्रमा पनि करिव एक सय ५० रोपनी क्षेत्रफलमा समुहमा सूर्यमुखी खेती गरिएको थियो । पाल्पा जिल्लामा हाल निस्दी गाउँपालिका र बगनासकाली गाउँपालिकामा व्यवसायिक सूयर्ममुखी खेती गरिएको छ ।

यसका अलवा रामपुर नगरपालिका, तानसेन नगरपालिकाको माडी क्षेत्र पनि सूर्यमुखी खेतीका लागि सम्भाव्य क्षेत्र रहेका छन् ।

बगनासकाली गाउँपालिकाले सूर्यमुखी खेतीलाई व्यवसायिकरण गर्नका लागि आर्थिक वर्ष २ं०७६÷०७७ को वजेट मार्फत निशुल्क वीउ वितरण गरेको छ ।

मौरी चरन क्षेत्र विस्तार गर्ने र कृषकलाई सूर्यमुखी खेतीतर्फ आकर्षित गर्ने उद्धेश्यले वीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्र हाल ९६ रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती गरिएको छ ।

वडा २, ८, ९ मा सूर्यमुखीको खेती तुलनात्मक रुपमा बढी भएतापनि अन्य वडाहरुमा पनि यसको खेती गरिदै आइएको छ । हाल व्यवसायिक तरिकाले यसको खेती गर्ने कृषकको सङ्ख्यामा भने कमी थप व्यवसायिकरण गर्दै अगाडी बढाउने योजना गाउँपालिकाको छ ।

ठूलो क्षेत्रमा खेती गरेको खण्डमा यसको बजार राम्रो रहेको छ । नगदेबालीका रुपमा रहेको सूर्यमुखीको व्यवसायिकरणका लागि जिल्लामा माग नआएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

“मागमा आधारित प्रस्ताव आह्वान गरिएको थियो तर कुनै पनि क्षेत्रबाट निवेदन परेन, कृषकबाट व्यवसायिक खेतीका लागि माग आएको खण्डमा सहयोग गर्नेछौँ” प्रमुख अर्यालले भन्नुभयो ।

कुनै समय घर आँगनका वरिपरी, करेसाबारीमा सौखका रुपमा लगाइने गरेपनि पछिल्लो समय भने कृषकले व्यवसायिक रुपमा खेती सुरु गरेका छन् । मौरी चरनका लागी सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारणले व्यवसायिक रुपमा खेती गर्न थालेका हुन् ।

सौन्दर्यताका लागि केही बोट आँगनीको डिल, छेउछाउमा लगाउदै आइएपनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्धेश्यले कृषकले अहिले व्यवसायीक रुपमा खेती गर्न थालेको पाइन्छ ।

एक बालीबाट तेब्बर बाली उत्पादन लिन सकिने हुदा पनि यस क्षेत्रमा कृषकको आकर्षण बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि रुपमा प्रयोग गर्न सकिन्छ ।

सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरण हुने अर्कोतर्फ वियाँबाट तेल आउने भएकाले व्यवसायिकतातर्फ कृषक लागेका छन् ।

खेतबारी जहाँ पानी जादैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महिना फूल फूल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिन्छ

SHARE