पाल्पा रामपुरको आलु स्याङ्जाको जिमुवा शित भण्डारमा

0
937

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ वैशाख  : रामपुर नगरपालिकामा शित भण्डार नभएपछि यहाँ उत्पादित आलु सुरक्षित भण्डारण गर्न स्याङ्जाको गल्याङ्ग नगरपालिका स्थित जिमुवा शित भण्डारमा लगिएको छ ।

नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा उत्पादित आलु वीउका लागि शित भण्डारमा पठाइएको हो ।

यहाँका दश कृषक समूह र व्यक्तिगत रुपमा कृषकले उत्पादन गरेका १३ टन आलु शित भण्डारमा पठाइएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताउनुभयो ।

“वडा कार्यालयको सहयोगमा कृषकको घर घरमा पुगेर आलु सङ्कलन गरेर शित भण्डारमा लगिएको छ, उत्पादन राम्रै भएपनि घरमा राख्न समस्या परेपछि शित भण्डारमा पठाइएको होे,” अध्यक्ष रेग्मीले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नं ६ को कार्यालयले यसवर्ष आलु खेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा एक सय ५० रोपनी क्षेत्रफलमा करिव ६० क्वीण्टल जनकदेव जातको आलुको वीउ अनुदानमा वितरण गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“वडालाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत आलु उत्पादनमा जोड दिएको छ, शित भण्डारमा आलु भण्डारणका लागि लाग्ने सबै खर्च वडा कार्यालयले व्यहोर्ने छ” उहाँले थप्नुभयो ।

वडाको अनुदान सहयोगमा लगाइएको ६० क्वीण्टल आलुबाट आठ सय क्वीण्टल आलु उत्पादन भएको छ । वडाको सहयोगमा लगाइएका तथा आफ्नै खर्चमा लगाइएका आलु शित भण्डारमा राख्न ईच्छुक सबै कृषकको आलु भण्डारणका लागि पठाइएको छ ।

रामपुरमा शित भण्डार नहुदा आलु अन्यत्र भण्डारणका लागि पठाउन समस्या भोग्दै आइरहेका कृषकहरु शित भण्डारमा पहिलो पटक आलु पठाउन पाउँदा खुशी भएका छन् ।

कतिपयले आर्थिक समस्याका कारण आलु अन्यत्र शित भण्डारमा लगेर राख्न सकिरहेका छैनन् । घरमा नै कुहाएर फाल्न बाध्य कृषकलाई वडाले घर घरबाट आलु सङ्कलन गरेर शित भण्डारमा लगेपछि कृषकलाई ठुलो राहत मिलेको हुमा देवकोटा बताउनुहुन्छ ।

यस पटक भने संस्थागत रुपमा पहिलो पटक शित भण्डारमा सहज रुपमा १२ क्वीन्टल आलु पठाइएको नदी किनारा कृषक समूहका सचिव सीता देवकोटाले बताउनुभयो ।

“समुहले करिव नौ रोपनी जग्गामा लगाएको पाँच क्वीन्टल आलुबाट ४० क्वीन्टल भन्दा बढी उत्पादन लिइयो, रु एक लाखको त खाने आलु खेतबाटै बिक्रि गरियो” देवकोटाले भन्नुभयो ।

पाँच रोपनीमा साढे तीन क्वीन्टल वीउ लगाएको कंडेलबारी कृषक समूहले करिव ३० क्वीण्टल आलु बिक्रि गरी रु ८० हजार बराबरको आम्दानी लिएको अध्यक्ष सीता भण्डारीले जानकारी दिनुभयो ।

उहाँको समूहले चार क्वीन्टल वीउ आलु शित भण्डारमा पठाएको छ । यसभन्दा अगाडी अन्यत्रबाट वीउ आलु खरिद गरेर कृषकले लगाउने गरेका थिए भने अब यहीँ उत्पादन भएको आलु वीउको रुपमा प्रयोग गर्न सकिन्छ ।

कृषकले उत्पादन गरेको जनकदेव जातको आलु वीउका लागि राम्रो रहेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरी पाण्डेय बताउनुहुन्छ ।

रामपुर नगरपालिकाको कृषि शाखा कार्यालयको परिषरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) को काम तयार भइसकेको छ ।

SHARE