लकडाउनले रामपुरका कृषक मारमा

0
1043

सुशीला रेग्मी

रामपुर (पाल्पा), २१ चैत  : कोरना भाइरस रोग भित्रन नदिनका लागि सरकारले लकडाउन गरेपछि कृषक मारमा परेका छन् । तरकारी, अण्डा तथा कुखुरा, दुध बिक्रि गर्न नपाउँदा कृषक समस्यामा परेका छन् ।

सरकारले भाइरसबाट जोगिन घरभित्रै बस्न आग्रह गर्दै गत चैत १० गतेबाट लकडाउन गरेपछि तरकारी, अण्डा, दुध बिक्रि गर्न नपाएको कृषकको गुनासो छ ।

रामपुर नगरपालिका वडा नं ८ मा संचालित रामपुर एग्रोफार्ममा दैनिक एघार कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्रि गर्न नपाउँदा समस्या परेको संचालक भुवन अर्याल बताउनुहुन्छ ।

“अण्डा उत्पादन भइरहेको छ, बिक्रि गर्न पाइएको छैन, एक सय वीस कार्टुन अण्डा मौज्जात छ तर बिक्रि नहुदा व्यवसाय धान्नै मुस्किल परेको छ” अर्यालले भन्नुभयो ।

 फार्ममा हाल तीन हजार लेयर्स जातको कुखुरा 

दानामात्रै दैनिक छ बोरा खुवाउनुपर्छ तर अण्डा बेच्न नपाउँदा ठुलो समस्या परेको हुदा बिहान साँझको समय तालिका बनाएर बिक्रि गर्ने वातावरण नगरपालिकाले मिलाइदिन उहाँ आग्रह गर्नुहुन्छ ।

लकडाउनको अवस्थामा कृषकलाई दाना आयात गर्न कठिनाइ परेको छ । सवारी साधन आवतजावतमा रोक लगाएपछि दाना आयात गर्न नपाउँदा पशुपालक तथा कुखुरापालक कृषकलाई व्यवसाय धान्नै गाह«ो परेको छ ।

रामपुर ८ रानीबासका हरिप्रसाद आचार्यको फार्ममा दैनिक सात पेटी अण्डा उत्पादन हुन्छ । लकडाउनले अहिले उहाँको फार्ममा ६० पेटी अण्डा मौज्जात छ । बजारमा बिक्रि गर्न नपाएको उहाँ गुनासो गर्नुहुन्छ ।

“अण्डा दिनहुँ उत्पादन हुन्छ, बिक्रि छैन, दानापानी दिइरहनुपर्छ, कमसेकम उत्पादन भएका अण्डा बिहान साँझ एक दुई घण्टा बिक्रि गर्न लैजाने वातावरण भए कृषकलाई राहत पुग्ने थियो” आचार्यले भन्नुभयो ।

दानाको अभाव हुदै गएपछि अहिले कुखुराको आहारमा कमी गराउनुभएको छ । एक हजार सात सय ५० कुखुरालाई दैनिक पाँच बोरा दाना दिने गरेकोमा अहिले घटाएर साढे दुई बोरा मात्र दिने गरेको उहाँ बताउनुहुन्छ ।

भैसीपालक कृषक नरनारायण अर्यालले पनि लकडाउनको सुरुका चार दिन जति दुध दुहेर भैसीलाई नै खुवाउन बाध्य हुनुभयो । दुध बिक्रि गर्न बजार जान नपाएपछि करिव छ सय लिटर दुध दुहेर भैसीलाई खुवाएको उहाँ बताउनुहुन्छ ।

“सुरुका चार दिन धेरै समस्या भयो, दुध दुहेर भैसीलाई खुवाउनुपर्ने स्थिती पनि आयो, अहिले दिनको एक पटक मात्रै बिहानै ६ नबज्दै डेरी पसलमा लगेर दिने गरेको छु” अर्यालले भन्नुभयो ।

उहाँको फार्ममा हाल ५९ वटा उन्नत जातका भैसी छन् । अर्यालले दैनिक एक सय ६० लिटर दुध बिक्रि गर्नुहुन्छ । लकडाउनले भैसीलाई दानापानी खुवाउन कम गर्नुपरेको उहाँको भनाई छ । पहिलेको तुलनामा आधा दानापानी खुवाउन कम गर्नुभएको छ ।

रामपुर ६ तालपोखराका तरकारी उत्पादक कृषक नारायणप्रसाद भण्डारीले उत्पादन गर्नुभएको काक्रा रातको समयमा व्यापारीलाई घरमै बोलाएर बिक्रि गर्नभएको छ ।

लकडाउनले गर्दा कृषकहरुलाई उत्पादित वस्तु बजार सम्म पु¥याउन समस्या परेको छ । बिहान साँझ समय तोकेर उत्पादन भएका वस्तु बिक्रि गर्ने वातावरण मिलाउन कृषकको अनुरोध छ । कच्चा पदार्थ भएकाले पनि उत्पादित वस्तु बिक्रि गर्न नपाउँदा त्यत्तिकै खेर फाल्नु पर्ने अवस्था आएको छ ।

दानाको अभावमा गौशालामा संचालनमा समस्या

कोरना भाइरसको सङ्क्रमणलाई न्युनिकरण गर्न सरकारले गरेको लकडाउनको प्रभावले रामपुरको गौशालामा पालिएका गाई समस्यामा परेका छन् ।

सरकारले लकडाउन गरेपछि गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ । रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा एक महिना अघिबाट मात्र संचालनमा आएको गौशालामा हाल एक सय ३५ गाई छन् ।

गाईलाई खुवाउन दाना घाँसको अभाव परेपछि स्थानीयहरु संग घाँसपात दाना जुटाएदिन आग्रह गरिएको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

“आवतजावत गर्न सवारी साधन चलाउन नगरपालिका भित्र निषेध गरिएको छ, गाईलाई बजारबाट दाना ल्याउन पाइएको छैन, गौशाला परिषरमा घाँसपात छैन, अन्यबाट खोजेर ल्याउने हो तर लकडाउनले गर्दा घाँसपात खोज्न टाढा जान पाइएको छैन” अध्यक्ष न्यौपानेले भन्नुभयो ।

लकडाउनका अवधीभर गाईलाई भोकमरीबाट बचाउन समितिले स्थानीयवासी संग घाँसपात दानापानीको सहयोगको याचना गरिरहेको छ । धेरै गाई हुदा पनि भोकमरीबाट बचाउन समस्या परिरहेको छ ।

रामपुर नगरपालिका भित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०÷२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ ।

SHARE