परियोजना कार्यान्वयन एकाई पाल्पाद्धारा अदुवा बेसार जोनको अनुगमन

0
136

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ असार : प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पा अन्तर्गत सञ्चालन भएको अदुवा तथा बेसार जोन कार्यक्रम तथा परियोजनाले सञ्चालन गरेका गतिविधिहरुको अनुगमन गरिएको छ ।

जोन कार्यक्रम अन्तर्गत संचालन भएका व्यावसायको अवलोकन तथा छलफल कार्यक्रम निस्दी गाउँपालिका वडा नं ५ ढुंगानावेशीमा भएको छ । पाल्पाको निस्दी, रामपुर, पूर्वखोला र बगनासकालीमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत परियोजनाको सहयोगमा सञ्चालन भएका गतिविधिहरुको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको टोलीले स्थलगत अनुगमन गरेको हो ।

गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको अदुवा प्रशोधन केन्द्र र जनता माध्यमिक विद्यालय निस्दी ५ ढुङ्गानाबेसीको स्थायी टनेल तथा च्याउ घरको अनुगमन गरेको हो । परियोजनाले गतवर्ष र चालु आर्थिक वर्षमा सहकारीलाई अदुवा प्रशोधन केन्द्रको लागि अदुवा धुने, काट्ने तथा पखाल्ने मेसिन प्रदान गरेको छ । परियोजना एकाईले प्राविधिक शिक्षालयको सहकार्यमा व्यवसायिक कृषि उत्पादन कार्यक्रममार्फत नर्सरी, च्याउ घर र तरकारी खेतीको लागि स्थायी टनेल निर्माणमा सहयोग गरेको जनाएको छ ।

जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका संयोजक टंकनाथ खनाल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी सुझाव संकलन सहित आफ्नो राय प्रस्तुत गरेका गर्नुभएको छ । समन्वय समितिका प्रमुख खनालको अध्यक्षतामाा भएको छलफल कार्यक्रममा सहभागीले अदुवा बेसार उत्पादनमा किसानले जोड दिएपनि बजार उतारचढाव रहदा समस्या परेको गुनासा राख्नुभएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सबै किसानलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको र अदुवा संगै बेसार खेतीमा थप केन्द्रित हुन सके कृषकलाई बजारको समस्या नहुने बताउनुभयो । उहाँले अदुवा बेसार संगै सुन्तला जात फलफूलमा अनुसन्धान आवश्यक रहेकाले प्रविधिको प्रयोगमा थप लगानी गर्नुपर्ने बताउनुभएको छ ।

 

जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले विद्यार्थीहरुको लागि कमाउँदै सिक्दै भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको कार्यक्रमलाई व्ययवस्थित बनाएर अघि बढ्न सके थप प्रभावकारी हुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले अदुवाको लागि प्राविधिक सहयोग संगै बजारिकरण र विविधिकरण गरेर बजारमा पाल्पाको अदुवा भनेर फरक पहिचान दिने खालको बनाउन सकियो भने आर्थिक क्षेत्रमा मात्र नभई पाल्पाको पहिचान बन्ने बताउनुभयो ।

 

जिल्ला समन्वय अधिकृत जनार्दन अधिकारी, जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञश्वर पन्थी, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रमुख दुर्गा खनाल, तरकारी जोन सञ्चालन समितिका संयोजक वेदप्रसाद सुवेदी, अदुवा बेसार जोन सञ्चालन समिति (निस्दी, रामपुर, बगनासकाली र पुर्वखोला) का संयोजक हेमबहादुर खाम्चा, सुन्तलाजात जोन सञ्चालन समितिका प्रतिनिधि कृष्ण कुँवर, सुन्तलाजात फलफूल विकास केन्द्रका वागवानी अधिकृत जोगेन्द्र कान्दु लगायतले आफ्नो धारणा राख्नु भएको छ ।

गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक दिलमाया सारुले निस्दी ५ मा उत्पादन भएको अदुवा आर्गानिक भएको प्रमाणित गरेर प्रशोधित अदुवा जर्मन लगायत विभिन्न देशसम्म पठाईएको र सहकारी आफैले सिधै पठाउने माध्यम नबन्दा बिचौलीयाबाट ठगिनु परेको बताउनुभयो । सहकारीले यसवर्ष ४५ हजार ९५६ किलो अदुवा खरिद गरी बिक्रि गरेको छ । खरिद गरिएको अदुवामध्ये ८०५ किलो प्रशोधन गरेर र अन्यलाई विउ तथा अन्य माध्यमबाट विक्री गरिएको पाइएको छ ।

 

सहकारीका अध्यक्ष अममायाँ मश्राङ्गीले विद्युत आपूर्तिमा समस्या हुँदा प्रशोधनमा समस्या भएको बताउनुभयो । जनता माध्यमिक विद्यालयका वरिष्ठ प्रशिक्षक सुशिल भण्डारीले प्रयोगात्मक कार्यका लागि समस्या भएकोमा परियोजनाबाट भएको कार्यले थप सहज हुने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख टुकबहादुर थापाले छलफल कार्यक्रमको सहजिकरण गर्नु भएको हो । परियोजना सञ्चालन संगै दिगोपनाको लागि छलफल गर्दै एकाई अघि बढेको र सिक्दै कमाउँदै कार्यको लागि परियोजनाले जनता माविमा रु दश लाखको ७५ प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिनुभयो ।

 

अदुवा बेसार कार्यक्रमका लागि विउ, यान्त्रीकरण र प्रशोधनमा परियोजनाले सहयोग गरिरहेको परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख थापाले बताउनुभयो । गल्धा सामाजिक उद्यमी महिला सहकारीले बिगत तीनवर्ष देखि गाउँमा उत्पादित अदुवा खरिद गरी बजारमा पठाउने गरिरहेको छ । अदुवा प्रशोधन केन्द्र स्थापना भएपछि गाउँको अदुवा गाउँमै प्रशोधन गरेर बजार पठाउँन किसानलाई सहज भएको छ ।

SHARE