शिक्षक दिवसको दिन पर्वतमा शिक्षक कर्मचारीको धर्ना

0
239

असोज १९
पर्वत : मंगलवार देशैभर शिक्षक दिवस मनाइरहँदा पर्वतको कुश्मा नगरपालिकाका विद्यालयमा कार्यरत बाल विकास केन्द्रमा कार्यरत शिक्षक, लेखापाल र कार्यालय सहयोगीहरू नगरपालिकाको कार्यालय अगाडि धर्नामा बसिरहेका छन्। उनीहरूले २०७५ सालदेखि सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गरिरहेका छन्।

अन्य कर्मचारीको तुलनामा आफूहरूलाई कम तलबमा काम गराएकाले तलब वृद्धिको माग गर्दै उनीहरू पटक पटक आन्दोलन गरिरहेका छन्। चालु आर्थिक वर्ष अगाडिसम्म कक्षा १ देखि ३ सम्म कार्यरत विद्यालयका कार्यालय सहयोगीलाई चार हजार, कक्षा १–५ मा कार्यरतलाई ४५ सय र त्योभन्दा माथिको तहसम्म सञ्चालित विद्यालयमा कार्यरतलाई ७ हजार ५०० रूपैयाँ मासिक तलब पाउँदै आएको थिए। यस्तै‚ लेखापाललाई ११ हजार ५०० रुपैयाँ तलब तोकिएको थियो।

शिक्षक महासंघसहित विद्यालय कर्मचारीहरूका आ–आफ्ना संगठनहरूले पनि गर्दै आएको आन्दोलनका कारण सरकारले केही त सुनुवाइ गरेको थियो। संघीय सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा गत साउनदेखि नै लागु हुने गरी सबैलाई आठ हजार रुपैयाँ दिने र बाँकी रकम थप गरी स्थानीय सरकारले दिने घोषणा गरेको थियो। तर‚ आफूहरूले सरकारले भनेको जसरी तलब नपाएको भन्दै उनीहरू केही दिनदेखि आन्दोलनमा छन्।

कुश्मा नगरपालिकाले कार्यपालिकाको बैठक बसेर निर्णय नभएका कारण पुरानै मापदण्डअनुसार तलब निकासा दिएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय समिति सदस्य तथा पर्वतका सचिव पदमलाल गौतमका अनुसार कार्यालय सहयोगीका लागि चार हजार र ४५ सय, लेखापालका लागि ११ हजार ५०० र इसिडी शिक्षकका लागि ६ हजार रुपैयाँका दरले तलब निकासा आएको छ।

कुश्मा नगरपालिकाले इसिडी शिक्षकका लागि यस अगाडिसम्म मासिक सात हजार रुपैयाँका दरले तलब दिँदै आएकोमा अहिले भने ६ हजार रुपैयाँका दरले दिइएको छ। शिक्षकहरूको आन्दोलनपछि दुई वर्ष अगाडिबाट मासिक ५०० रुपैयाँ थपिएकोमा गत वर्षदेखि पुनः ५०० थप गरिएको थियो। तर अहिले त्यही पनि नआएका कारण आफूहरू नगरपालिकाको गेटैमा धर्ना बस्नुको विकल्प नभएको धर्नामा सहभागी शिक्षक तथा कर्मचारीहरू बताउँछन्।

यसबारे कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद तिवारीले कार्यपालिकाको बैठक नबसेका कारण उनीहरूलाई पुरानै तलबमानका आधारमा रकम निकासा दिइएको भए पनि मंगलवार नै बैठक बसेर तलब निर्धारण गर्न लागिएको बताउँछन्। ‘यहाँ धर्नामा बस्नु पर्दैन विद्यालयमै जानुहोस् भनेका छौँ। उहाँहरू यहीँ आएर धर्नामा बस्नुभएको छ। उहाँहरूबारे निर्णय हुन्छ नै। तोकिए अनुसार नै पाउनुहुन्छ‚’ उनले भने, ‘आज नै बैठक बस्न लागिएको छ। इसिडी शिक्षकको १५ हजार होला, लेखापालको केही बढी होला। जति हुन्छ बढाएर निर्णय हुन्छ।’

आन्दोलनरत लेखापालहरूले भने आफूहरूको माग पूरा नभएमा विद्यालयका आर्थिक गतिविधि ठप्प पार्ने चेतावनी दिएका छन्।

पर्वतमा कुश्मा नगरपालिका, फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र बिहादी गाउँपालिका गरी सात वटा स्थानीय तहहरू छन्। कुश्मा नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले भने पारिश्रमिक १५ हजार रुपैयाँका दरले नै उपलब्ध गराउँदै आएको बताएका छन्।

महाशिला गाउँपालिकाले विद्यालय कर्मचारी ९लेखापाल० हरूलाई २० हजार ५०० रुपैयाँ तलब उपलब्ध गराइरहेको छ। जुन जिल्लामै सबैभन्दा बढी हो। गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उचैका अनुसार वार्षिक बजेटमा नै त्यसका लागि ५३ लाख रुपैयाँ छुट्टाइएको थियो।

‘हामीले कार्यालय सहयोगी, विद्यालय कर्मचारी र बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूलाई एकमुष्ट रूपमा सात हजार रुपैयाँ थप गर्ने निर्णय गरेर कार्यान्वयन गरिरहेका छौँ‚’ उनले भने, ‘शिक्षकहरू खुसी हुन सकेमा शिक्षामा गुणस्तर आउँछ। इसिडीमा पढाउनेहरू पनि १०–४ नै काम गर्नुभएको छ। तर त्यति तलबमा कसरी गर्नेरु श्रम शोषण हुनु हुँदैन।’ महाशिलाले दसैँ पेस्की स्वरूप मासिक तलब बराबरकै तलब रकम उपलब्ध गराइसकेको छ। थाहाबाट

SHARE