बुढेसकालमा आरन व्यवसायप्रतिको मोह

0
242

सुशीला रेग्मी
रामपुर (पाल्पा), ६ असोज : कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्थ्यो, ६४ वर्षीय अमरबहादुर विक ।
दिउँसोको चर्को घाममा ईस्टकोटको भरमा आरनमा पसिना काढ्दै हँसिया, कोलादो, कुटो, बञ्चरो लगायतका विभिन्न फलामजन्य औजारको काममा उहाँको जीवनचर्या बितिरहेको छ । उमेरले बुढौली टेक्यो, नाती नातीना, परिवारसंग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउनु उहाँको बाध्यता छ ।
रामपुर नगरपालिका ८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँच दशक बिताउनुभयो । जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु एक त उहाँको बाध्यता छ भने अर्कोतर्फ पेशाबाट अलग्गै बस्न भने पटक्कै मन छैन ।
उहाँ भन्नुहुन्छ, “मैले चौध वर्षको उमेर देखि नै घन ठटाएर आरनको काम शुरु गरेको हुँ, अहिलेसम्म पनि घन ठटाउने कामबाट मुक्त हुन सकिएको छैन, पढाई लेखाई नभएपछि आफूले जे जानियो त्यही काम समातियो” ।
घरमा बाउबाजेले धान्दै आएको आरन व्यवसायबाट सीप सिकेर उहाँले अहिलेसम्म निरन्तरता दिनुभएको छ । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् ।
“जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन शुरु गर्थे, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो” उहाँले हिजोको ती जवानी दिनका कुरा सम्झदै भन्नुभयो ।
बिहान गाउँघरमा भाले बास्न नपाउँदै सबेरै उठेर आरन चलाउने विकको अहिले भने उमेर ढल्कदै गएपछि जवानी अवस्थाकै जस्तै काममा छिटो छरितो नभएपनि दैनिकी भने आरनमै बितिरहेको छ ।
पहिला तामाको पनि काम गर्ने विकले हिजोआज भने उमेर ढल्कदै जाँदा फलामजन्य औजारको मात्रै काम गर्नुहुन्छ । फलामजन्य कामबाट अहिले दैनिकजसो रु एक हजार देखि रु एक हजार दुई सय सम्म कमाई गर्नुहुन्छ । ढल्कदो उमेरमा पनि विकले व्यवसायलाई निरन्तरता दिनुभएको छ ।
रामपुर नगरपालिका वडा नं ८ को कार्यालयले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षको अन्तमा आरन व्यवसाय चालाउने व्यवसायीलाई विभिन्न सामग्री सहयोग गरेको छ ।
रु २० हजार बराबरको रकमबाट दुई जना आरन व्यवसायीलाई जस्तापाता, घन, चिम्टा लगायतका सामग्री सहयोग गरेको वडा अध्यक्ष बोमबहादुर नामजाली बताउनुहुन्छ ।
रामपुर नगरपालिका ५ सुन्दरटोल बस्ने ६२ वर्षिय इन्द्रबहादुर विकले पनि आजसम्म आरन व्यवसाय धानेकै हुनुहुन्छ । आफ्नै घरको एक छेउमा बसेर ग्राहकको रोजाई अनुसारका फलाम, तामा लगायतका सामग्रीलाई हातले कुँदेर तयार पार्नुहुन्छ ।
“हामी विश्वकर्मा समुदायको पुरानो पेशा सबैले गाउँमा छाड्दै गएका छन्, आरनमै बसेर पङ्खा घुमाएर नियमित काम गर्ने कमै छन्, हामीले त बाँचुन्जेल सक्दासम्म दुःख सुखले व्यवसाय धानौँला, अबका सन्ततीले यसमा चासो भने दिदैनन्” उहाँले भन्नुभयो ।
विकले यो व्यवसाय गर्न थालेको चार दशक भयो, हिजोआज सबैले यो पेशा छाड्दै गएपनि उहाँले भने आफुले सकुन्जेल सम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “घरमै बसेर एक महिनामा रु २० हजार देखि रु ३० हजार सम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिदा हाम्रो पुर्खौली व्यवसाय नै सङ्कटमा पर्दै गएकोमा दुःख लागेको छ” ।
हातले कुदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर रु ६०० देखि एक हजार, हँसिया रु एक सय देखि तीन सय सम्ममा बिक्रि गर्ने गरेको विकले बताउनुभयो । गाउँघरमा कोइलाको अभाव हुदै जादा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाई छ ।
हातले कुदेर कलात्मक रुप दिई गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसिया लगायतका विभिन्न सामग्री लामो समय सम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ ।
यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानको रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुदै गएको छ ।
पुरानो व्यवसाय संरक्षण नहुदा समुदायको चिनारी नै लोप हुन थालेपछि रामपुर नगरपालिका वडा नं ४ मा आरन सम्बन्धी औजार व्यवसायीलाई उपलब्ध गराइएको छ ।
जस्तापाताको छानो, आरनमा काम गर्न प्रयोग हुने पङ्खा लगायतका सामग्री वडाले वजेट विनियोजन गरी यस अघि नै व्यवसायीलाई सहयोग गरिएको वडा सदस्य सिमादेवी राना बताउनुहुन्छ ।
“आरन व्यवसायलाई संरक्षण गर्न वडाभित्र भएका व्यवसायीलाई विभिन्न आवश्यक सामग्री उपलब्ध गराइएको छ, यदी कोही व्यवसायी व्यवसाय गर्न चाहानुहुन्छ भने उहाँहरुलाई वडाले व्यवसायमा सहयोग गर्नेछ” वडा सदस्य रानाले भन्नुभयो ।
युवापुस्ताहरु आरन सम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लाग्नु, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुदा आरन व्यवसाय हराउदै गएको पाकापुस्ता बताउँछन् । गाउँघरमा भने आरन चलाउने युवाहरु कमै छन् ।
एक दशक अघि यस क्षेत्रमा ५० भन्दा बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने कमैले मात्र व्यवसाय चलाएको पाइन्छ । विश्वकर्मा समुदायका पाकापुस्ताहरु भने आरन व्यवसाय लोप हुदै जादा चिन्ता व्यक्त गरिरहेका छन् ।

SHARE