भदौ ३१ २०७८
सुशीला रेग्मी
पाल्पा रामपुर : एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय बितेको पत्तो छैन। तरकारी खेती गर्दागर्दै कति छिटो २६ वर्ष भइसकेछ तर उनी भन्छन मलाई त हिजोआज जस्तै लाग्छ । व्यवसायिक रूपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो। यसबाट सफलता पाउँदै गर्दा झन् व्यवसायतर्फ मोह बढिरहेको छ। रामपुर नगरपालिका–५ राङभाङका गौतमलाई अझै पनि यो व्यवसायबाट टाढा रहन मन छैन। उनको परिवारको दरिलो आम्दानी नै तरकारी खेती बनेको छ।
यसै व्यवसायबाट गौतमले घरायसी खर्च, चार छोराछोरीको पढाइ खर्च राम्रैसँग धानेका छन्। उनी मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर वार्षिक रु छ लाख बराबरको कमाइ गर्छन्।
रोजगारको सिलसिलामा दुई दशक भारतमा बिताएका गौतमले गाउँ फर्केलगत्तै तरकारी खेती सुरू गरेका हुन्। तरकारी खेतीबाट उनले दाममात्र नभई समाजमा राम्रो पहिचान बनाएका छन्।
गौतमले बाह्रैमास विभिन्न जातका तरकारी उत्पादन गर्छन्। घरबाटै धमाधम बिक्री हुने हुँदा व्यवसायमा झन्झट छैन। अहिले उनले टनेलभित्र लगाएको गोलभेँडाको उत्पादन सुरू हुँदैछ भने काउली र बन्दा लगाउने तयारी गरेका छन्।
तरकारी उत्पादन हुनु अगावै माग गर्ने हुँदा व्यापारीलाई पुर्याउन नसकिएको उनकी श्रीमती टिकीसरा गौतम बताउँछिन्।
तरकारीको फल लाग्न सुरू भएपछि टिप्नुभन्दा पाँचरसात दिनअघि नै व्यापारीले माग गर्छन्, उत्पादन गरेमात्रै भयो, तरकारी बेच्ने पिरलो छैन,ु उनले भनिन्।
यस्तै, रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापाले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी व्यवसाय सुरू गरेका छन्।
उनले तीन वर्षअघि ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरी करिब दश रोपनी जग्गामा तरकारी व्यवसाय थालनी गरेका हुन्।तरकारी खेतीसँगै सयपत्री फूल खेतीमा पनि उनले जोड दिएका छन्। थापाको फार्ममा हाल बोडी, सिमीलगायत तरकारीको उत्पादन भइरहेको छ भने दसैं तिहार पर्वलाई लक्षित गरी काउली, बन्दा र सयपत्री फूल लगाएका छन्।
दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु, थापाले भने।
रामपुर नगरपालिकामा पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा किसान आकर्षित भएका छन् भने धेरै किसान व्यवसायउन्मुख बनेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्।
पाण्डेयका अनुसार रामपुर नगरपालिकाले व्यवसाय दर्ता गरेका वा समूहमा आबद्ध किसानलाई उन्नत तथा वर्णाशङ्कर तरकारीको बीउ, तरकारी टनेल, विषादी छर्ने स्प्रेयर, मल्चिङ्ग, थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी सिटलगायत कृषिजन्य सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ।