पाल्पाका कृषक मकै बाली छाडेर सूर्यमुखीमा आकर्षित

0
293
सूर्यमुखी फूलको अनुगमन गर्दै जनप्रतिनिधि, कृषि प्राबिधिक, कृषकहरु, तस्वीर: सुशीला रेग्मी

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३ असार : कुनै समय घर आँगनका डिल, वरपर, करेसाबारी, बगैचामा, शौख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने यसलाई कृषकले व्यवसायिकरणमा जोड दिएका छन् । आम्दानी र शौख परिपूर्तिका लागि यतिखेर पाल्पाका कृषकको रोजाईमा परेको छ, सूर्यमुखी खेती ।
मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यवसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मुल्य बृद्धि हुदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ ।
रामपुर नगपालिका वडा नं ५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर भने सूर्यमुखी फूलले ढकमक्क ढाकिएका छन् । घर अगाडीको खेतभरी पहेँलै सूर्यमुखी फूल्दा कृषि कार्य गर्दाको सबै थकान मेटिएको उहाँलाई अनुभुती हुन्छ ।
उहाँ भन्नुहुन्छ, “घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा जोँश जाँगर बढेर आउँछ, अहिले खेतभरी जताततै सूर्यमुखी नै सूर्यमुखी फूलेको छ, हराभरा देख्दा मनका पिडा सबै हराएर जान्छ, मनमा आनन्दानुभुती हुन्छ” ।
अहिले सूर्यमुखीमा भुल्ने भमरा र फूलको बास्नादारमा रमाउँने, फूलसंगै रमाउँदै सामाजिक संजाल फेसबुकमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल छ ।
यहाँ फूल्दै गरेको सूर्यमुखीसंग बालबालिका देखि युवायुवती बृद्धबृद्धाहरु सबै उमेर समुहका व्यक्ति फूलसंग रमाउँदै फोटो खिचाउने र सामाजिक संजालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभ्याउदो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रुहरु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।
अहिले यहाँ दैनिक तीन सय भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “खेतमा फूलेको फूल संग ठुलो संख्यामा अवलोकन गर्ने, रमाउने भेटिन्छन्, बिशेषगरी साँझपख भने सूर्यमुखीमा भीड लाग्ने गरेको छ, देख्दै आनन्द लाग्दछ, फूल्न पनि असाध्यै राम्रो फूलको छ” ।
उहाँले मकै बालीको उत्पादन लिदै आउनुभएको पाँच रोपनी खेतमा यसवर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउनुभएको छ ।
कृषि ज्ञानकेन्द्रको रु ६ लाख आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ५ को बेझाड खेतमा करिव दुई सय रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला मकैले भरिन्थे ।
आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यासायिकरण गरेका हुन् । अनुदानमा वीउ तथा सिंचाईका लागि कुलो मर्मत तथा पुनः निर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् ।
प्रति रोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेँलै सूर्यमुखी फूल्दा मनको पिडा, वेदना नै खुशीमा परिणत बनेको कृष्णकान्त पौडेल बताउनुहुन्छ ।
“राम्रै मकै उत्पादन हुने खेतमा सूर्यमुखीबाट अझ धेरै आम्दानी लिनका लागि मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउन सुरु गरेको छुँ, परिक्षणमै राम्रै फल लाग्यो अर्को वर्ष खेती बिस्तार गर्नेछु” उहाँले भन्नुभयो ।
तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएको हुदा सूर्यमुखी खेतीलाई व्यासायिक रुपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउनुहुन्छ ।
“मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, आफुले उत्पादन गरेको स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि व्यासायिक तवरले नै खेती गर्न थालेका छौँ” उहाँले भन्नुभयो ।
सामान्य तरिकाले लगाउँदा पनि राम्रै फल दिएकाले यस खेतीप्रति कृषक सन्तुष्ट रहेको र अर्को वर्षको लागि व्यवस्थित ढंगले समयमा नै खेती गर्ने सोँच राखेको वडा सदस्य विष्णुप्रसाद बस्यालले बताउनुभयो ।
रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परिक्षणका रुपमा लगाइएको सूर्यमुखी सोँचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउनुहुन्छ ।
रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रम अन्र्तगत सूर्यमुखी खेती सुरु गरेको वडा अध्यक्ष हिमाल मल्लले बताउनुभएको छ ।
रम्भा गाउँपालिका वडा नं १ सघाहा बस्ने ऋषिराम अर्यालले बिगत चार वर्ष यता बजारको तेल उपभोग गर्नुभएको छैन । आफैले घरमा उत्पादन गरेको सूर्यमुखीकै तेल उपभोग गर्नुहुन्छ ।
उहाँले गतवर्ष दुई रोपनीमा लगाएको सूर्यमुखीको घरायसी प्रयोजन बाहेक प्रति लिटर रु ४५० का दरले चालिस हजारको तेल बिक्रि गर्नुभयो । यो वर्ष चार रोपनीमा क्षेत्र बिस्तार गरी खेती गर्नुभएको छ ।
अहिले उहाँको खेतमा लगाइएको सूर्यमुखीको उत्पादन सुरु भएको छ । गाउँमै स्वस्थ तेल उत्पादन भएकाले माग बढ्न थालेपछि उहाँ यस व्यवसायमा हौसनुभएको छ । “चार वर्ष यता बजारमा खानेतेल किन्नु परेको छैन, गतवर्ष देखि बिक्रि गर्ने गरी खेती गर्न थालेको छु, आफैले उत्पादन गरेको तेल उपभोग गर्न थालेपछि हाम्रो परिवार स्वस्थ र फूर्तिलो बनेको छ, यो वर्ष चार रोपनीमा लगाएको सूर्यमुखी करिव नौ मुरी सम्म उत्पादन हुने अनुमान गरेको छु” अर्यालले भन्नुभयो ।
एक पाथी सूर्यमुखी प्रशोधन गर्दा डेढ लिटर तेल उत्पादन हुने उहाँ बताउनुहुन्छ । सूर्यमुखी खेती लगाउन थालेपछि बाँदर आतङ्क कम भएके छ । उहाँले बाँदर आतङ्कले मकै बाली स्याहार्नै पाउनुहुन्नथ्यो । सूर्यमुखी लगाउन थालेपछि भने उहाँ बाँदरको समस्याबाट मुक्त हुनु भएको छ भने आयस्रोतका हिसाबले यसबाट मकैको दाजोँमा धेरै फाइदा लिनुभएको छ ।
निस्दी गाउँपालिकाका कृषक पनि सूर्यमुखीमा आश्रित हुन थालेका छन् । गाउँपालिकाको वडा नं ४ को मुढाबास र लामेदमारका कृषकले व्यवसायिक ढंगबाट सूर्यमुखी खेती गरेका छन् ।
मुढाबासमा आर्थिक वर्ष ०७५÷०७६ मा ११० रोपनी क्षेत्रफलमा सूर्यमुखी पकेट कार्यक्रम अन्र्तगत गाउँपालिकाले रु एक लाख ५० हजार र आ.व.०७६÷०७७ मा लामेदमारमा ११२ रोपनी क्षेत्रफलमा रु दुई लाख वजेट सहयोगमा व्यवसायिक खेती थालनी गरिएको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ। गाउँमै प्रशोधन केन्द्रको व्यवस्था नहुदा यहाँ उत्पादन भएको सूर्यमुखी नवलपुरको अरुणखोला बजारमा पुगेर प्रशोधन गर्न कृषक बाध्य छन् ।
मुढाबास पकेट क्षेत्रका हर्षबहादुर सुनारीले सूर्यमुखी खेतीका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेपछि व्यसायिक रुपमा खेती गर्न थाल्नुभएको छ ।
बगनासकाली गाउँपालिकाले भने मौरीपालनलाई प्राथमिकता दिदै गतवर्ष तीस रोपनी क्षेत्रफलमा सूर्यमुखी खेतीका लागि कृषकलाई वीउ वितरण गरेको थियो । मौरी चरनको लागि राम्रो हुने भएकाले पनि सूर्यमुखी खेतीमा कृषकले जोड दिने गरेको बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ ।
कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनौट गरी खेती सुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको वजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम सुरु गरिएको छ ।
दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाल अर्याल बताउनुहुन्छ । कृषकले क्षेत्र बिस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञानकेन्द्रले लगानी गर्ने उहाँको भनाई छ ।
यसवर्ष रामपुर नगरपालिका संगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञानकेन्द्रले जनाएको छ ।
कुनै समय घर आँगनका वरिपरी, करेसाबारीमा शौखका रुपमा लगाइने गरेपनि पछिल्लो समय भने कृषकले व्यवसायिक रुपमा खेती सुरु गरेका छन् । मौरी चरनका लागी सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारणले व्यवसायीक रुपमा खेती गर्न थालेका हुन् ।
सौन्दर्यताका लागि केही बोट आँगनीको डिल, छेउछाउमा लगाउदै आइएपनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्धेश्यले कृषकले अहिले व्यवसायीक रुपमा खेती गर्न थालेको पाइन्छ । ठुलो क्षेत्रमा खेती गरेको खण्डमा यसको बजार राम्रो रहेको छ ।

एक बालीबाट तेब्बर बाली उत्पादन लिन सकिने हुदा पनि यस क्षेत्रमा कृषकको आकर्षण बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि रुपमा प्रयोग गर्न सकिन्छ ।
सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरण हुने अर्कोतर्फ वियाँबाट तेल आउने भएकाले व्यवसायिकतातर्फ कृषक लागेका छन् । खेतबारी जहाँ पानी जादैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महिना फूल फूल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिन्छ ।
१) ढकमक्क फूलेको सूर्यमुखी
रामपुर (पाल्पा), ३ असार ः रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा लगाइएको व्यावसायिक सूर्यमुखी खेती । सूर्यमुखी पकेट कार्यक्रम अन्र्तगत यहाँ करिव दुई सय रोपनी क्षेत्रफलमा खेती गरिएको छ । मकै बाली लगाउने कृषकले आम्दानीका लागि सूर्यमुखी खेती सुरु गरेका छन् ।

SHARE