संसद भवन झगडा गर्ने थलो बन्यो: ज्ञानेन्द्र शाही
प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित पक्राउ
चैत १६,२०७९ रुपन्देही :रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतअनन्तपाणि मरासिनीसहित ३ जनालाई घुस लिएको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ।
प्रमुख प्रशासकीय अधिकृत मरासिनी, ७ नम्बरका वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रका प्रवक्ता भोला दाहालले जानकारी दिए।
नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा गाउँ कार्यपालिकाको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए।
गुल्मीका भुस्याहा कुकुर छोप्दै स्थायी बन्ध्याकरण गर्दै विज्ञ केन्द्र
चैत १६,२०७९ गुल्मीः गुल्मीमा भुस्याहा कुकुरहरुको आतंक बढेपछि तम्घासका कुकुरलाई छौप्दै स्थायी बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा कुकुरको आंतक अत्याधिक भएपश्चात बजारका भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ ।
कुकुरहरुले बालबालिका झम्टने ,रातिको समयमा यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले कुुकुरहरुमा स्थायी बन्ध्याकरण गर्ने अभियान चलाएको भेटिरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख भरत काफलेले जानकारी दिए ।
कुकुरहरुमा बन्ध्याकरण गर्दा रेविज बिरुद्धको खोप दिएर गरिने भएकाले रेविजको जोखिम पनि कम हुने ,कुकुरहरुमा स्तन र पाठेघरको क्यान्सर कम हुने , भएकाले उत्तम विकल्प भनेकै स्थायी बन्ध्याकरण रहेको काफ्लेले बताए ।
यसरी स्थायी बन्ध्याकरण गर्दा कुकुरहरुको आयु पनि बढी हुने ,मोटाउने र स्वच्छ रहने काफलेको दाबी छ ।
अहिले कम्तिमा एक सय कुकुरको बन्ध्याकारण गरिने कार्यालयले जनाएको छ ।
रातीको समयमा टोलटोलमा कुुकुरहरु जम्मा भएर सुत्न पनि नदिने ,बालबालिकाहरुको पनि जोखिम भएको र सवारी दुर्घटना समेत पर्न सक्ने भएकाले कुकुरको ब्यबस्थापन गर्न रेसुंगा नगरवासीहरुले नगरलाई समेत आग्रह गर्दै अएका छन् ।
आजै मन्त्रिमण्डल विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड
चैत १६,२०७९चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन्।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आज साँझ सम्म मन्त्रिमण्डल विस्तारको तयारी रहेको बताए।
‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम हाम्रो सकिएको छ। एकदुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ,’ उनले भने।
नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको उनले बताए।
मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिने
चैत ६,२०७९ कर्णलीः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री भइसकेपछि चैत १७ गते दोस्रो पटक विश्वासका मत लिने भएका हुन् ।
गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपरेको हो । कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेस गर्ने वातावरण मिलाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद् सचिवालयलाई पत्र पठाएको छ । यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले पहिलोपटक संसदबाट विश्वासको मत पाएका थिए । त्यतिबेला राप्रपासहितका २५ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।
लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन
चैत १५,२०७९ रुपन्देही :बुद्ध जन्मस्थल लुम्बिनीमा भोलि बिहीबारदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैछ । नेपाल पत्रकार महासंघले आफ्नो ६८ औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते दुई दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनका विषयमा बृहत बहस र छलफल गरिने जानकारी दिए ।
सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुने बताइएको छ । सम्मेलनमा देशभरीबाट २५० जना पत्रकार सहभागी हुनेछन् । सम्मेलनको सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले उदघाटन गर्ने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।
१६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरी गर्ने कार्यक्रम छ । परासीमै महासंघको आठौं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
आयोजककै हातमा ६१ हजारको पुरस्कार
न्यु मालिका युवा क्लब मालिका (५ को आयोजनामा तीन दिन सम्म चलेको भलिबल प्रतियोगिताको उपाधीमा आयोजकले कब्जा जमाएको हो ।
उसले फाइनलमा न्यु सनराईज युबा क्लब दर्लिङ्गलाई २(० को सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो ।
उपाधी सङै उसले ६१ हजार एक सय ६१ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय भएको न्यु सनराईज युवा क्लबले ४१ हजार एक सय ४१ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।
“खेलौँ, स्वस्थ बनौँ मालिका बासिको सान कला संस्कृति संरक्षण हाम्रो पहिचान” भन्ने मुल नाराका साथ न्यु मालिका युवा क्लबले खुल्ला भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
गुल्मीमा एसइईको तयारी पूरा
चैत १५,२०७९ गुल्मीः चैत १७ गतेदेखी सुरु हुने एसइई परीक्षाका लागि गुल्मीमा सबै तयारी पूरा भएको छ ।
शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
कार्यालय प्रमुख लोकनाथ मरासिनीका अनुसार जिल्लामा १४० बिद्यालयका ४ हजार ७२२ बिद्यार्थीहरु सहभागी हुनेछन् । जसमा १६ वटा प्राविधिक धार बिद्यालयका ३४२ जना परीक्षार्थीहरु सहभागी हुनेछन् भने खुल्ला बिद्यालयका ४२ जना पनि परीक्षामा सहभागी हुने मरासिनीले बताए ।
जिल्लामा कुल २८ वटा केन्द्रहरुका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण गरि परीक्षा केन्द्रहरुमा पठाई सकिएको छ ।
परीक्षा केन्द्रमा परीक्षाको अनुगमन गर्दा भिडभाड नहुने गरी ब्यबस्था मिलाइएको छ । वडा स्तरमा वडा अध्यक्ष र पालिका स्तरमा प्रमुख तथा अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका कर्मचारीहरुबाट अनुगमनको ब्यबस्था मिलाइएको मरासिनीले बताए । यसका साथै जिल्ला स्तरबाट पनि अनुगमनको ब्यबस्था गरिएको हो ।
गुल्मेली अधिकृत समाजद्धारा रेसुङ्गा संरक्षण समितिलाई डोको वितरण
सूर्य सुनार
चैत १५,२०७९ गुल्मीः गुल्मेली अधिकृत समाजले रेसुङ्गा संरक्षण समितिलाई बातावरण मैत्री डोको वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच अधिकृत समाजबाट ५० वटा डोको वितरण गरिएको हो ।
रेसुङ्गा क्षेत्रमा सफा र स्वाच्छ राख्न सहयोग पुग्ने उदेश्यले डोको वितरण गरेको संस्थाका अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिब शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न किसिमका फोहोरले गर्दा वातावरणमा नकारात्मक असरहरु देखा परेको उहाँले बताउनुभयो । दिगो विकासको महत्वपूर्ण पाटो भनेको वातावरण संरक्षण भएको हुँदा त्यसको संरक्षणमा लागि परेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले आफू पहिले देखी अहिले सम्म निरन्तर रुपमा रेसुङ्गा क्षेत्रको विकासकोे निम्ती काम गरेको बताउनुभयो । रेसुङ्गा क्षेत्रको सिडि देखी गर्जुरामा पार्क निर्माण सम्म रेसुङ्गाको पर्यटकीय विकासमा काम गरेको बताउनुभयो । रेसुङ्गाको भ्रमण गर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको बारेमा प्रशंसा गर्दा धेरै खुशी लागेको भुसालले बताउनुभयो । साथै आगमी दिनमा पनि रेसुङ्गाको विकास गर्न आफू तयार रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले रेसुङ्गा धार्मिक र पर्यटकीय हिसाबले धेरै महत्वभएको ठाउँ हुँदा यसको विकासको निम्ती सबै लाग्नुपर्ने बताउनुभयो ।
रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले यहाँको वातावरण सफा र स्वाच्छ राख्नुपर्छ भन्ने उदेश्यले पवित्र काम गुल्मेली अधिकृत समाजले गरेको प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, गुल्मेली अधिकृत समाजका उपाध्यक्ष दामोदर भणडरी, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसाल लगायतको उपस्थित रहेको थियो ।
चैते दशैंको दिन सार्वजनिक बिदा
चैत १४,२०७९गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।
हिन्दुहरुको पर्व चैते दशैंको दिन गाउँपालिका भित्रका विभिन्न मठ, मन्दिरमा धार्मिक पूजापाठ हुनुका साथै मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।
चैत १३ गते बसेको कार्यापालिकाको वैठकले उक्त निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तराज भुसालले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।
सार्वजनिक बिदाको दिन गाउँपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, शिक्षण तथा स्वास्थ्य संस्थाहरुका साथै अन्य सार्वजनिक संस्थाहरु बन्द हुनेछन् ।


















