Thursday, June 4, 2026

जिप दुर्घटनामा तीन जनाको मृत्यु

0

मंसिर २६,२०८२ पाल्पा : पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, को मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ ।

आज दलले निर्वाचन चिह्न पाउँने

0

मंसिर २६,२०८२ काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज शुक्रबार० प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने कार्यक्रम रहेकामा कुनै दलबाट नाम फिर्ता लिने निवेदन आएको छैन । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ । परेको निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न करिब दुई साताको समय दिने छ । सोबमोजिम दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ गते पेस गर्नुपर्ने छ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम माघ ६ गतेदेखि मात्रै सुरु हुने छ । गोरखापत्रबाट

सुनचाँदीको मूल्यमा वृद्धि

0

मंसिर २५,२०८२ काठमाडौँ : सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो । चाँदीको मूल्य तीन हजार ७५० मा कारोबार भएको थियो ।

सुनको मूल्य बढ्यो

0

मंसिर २२,२०८२ काठमाडौँ : सुनको मूल्य आज केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँमा पुगेको छ ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य क्रमशः ८००, ९०० र २०० रुपैयाँले घटेको थियो । आइतबारसम्मको निरन्तर गिरावटपछि आज सुनको बजार मूल्यमा सानो सुधार आएको महासंघले जनाएको छ ।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मको सबैभन्दा उच्च दर हो ।

आज चाँदीको मूल्य भने घटेको छ । प्रतितोला २० रुपैयाँले कमी आउँदा चाँदीको मूल्य ३ हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर

0

मंसिर २२,२०८२ : भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उहाँकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिनुभएको थियो ।

बेहोस अवस्थामा रहेका दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उपचारमा रहेका भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशङ्का गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीले जनाएको छ । बट्टा जलेको अवस्थामा बरामद गरिएको छ ।

घटनामा प्रयोग गरिएको विष र कारणबारे पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र निश्चित जानकारी आउने प्रहरीले जनाएको छ । प्रहरीले सुनीताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

वृद्ध दम्पत्तिसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा घटनाको योजना भएको हो । घटनाका कारणबारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ ।

घटनापछि स्थानीयले निष्पक्ष र व्यापक रुपमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । प्रहरी टोली इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ । गोरखापत्र

लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थप

0

मंसिर २२,२०८२ देउखुरी : लुम्विनी प्रदेशमा आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २४ वटा मतदान स्थल थप भएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् ।

नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ ।

लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदान स्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो
मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदान स्थल थप गरेको बताउनुभयो ।

सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा, गुल्मीमा चार वटा, प्युठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्लामा एक, एक वटा मतदान स्थल थपिएका छन् ।

झोलुङ्गे पुलबाट खसेर महिलाको मृत्यु

0

मंसिर २२,२०८२ धनकुटा : धनकुटामा लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ६ की ७८ को बिस माया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं। ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट लिम्बु खोलामा खसेको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

गुल्मीमा एक हप्तामा १८१ जनाले राहदानी बनाए, नौँ लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

मंसिर २२,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा १८१ जनाले राहदानी बनाउँदा नौँ लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १८१ जनाले राहदानीका बनाउँदा नौँ लाख २७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता १७८, प्रतिलिपि १६२, नावलक परिचयपत्र छ , राहदानीको आवेदन संकलन १८१, राहदानी वितरण २७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ४८९, राष्ट्रिय परिचयपत्र वितरण ३५५, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १८ भएको छ ।

यस्तै पाँच वटा संस्था दर्ता तथा नविकरणबाट छ हजार, राष्ट्रिय परिचयपत्रबाट आठ हजार पाँच सय गरी कुल नौँ लाख ४२ हजार रुपियाँ राजस्व संकलन भएको हो ।

सुनको मूल्य घट्यो

0

मंसिर २१,२०८२ काठमाडौँ : आइतबार सुनको मूल्य तोलामा दूई लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा दूई लाख ५२ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य साताको पहिलो कारोबार दिनमा २०० रुपैयाँले घटेको हो । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा तीन हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तीन हजार ६०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

३८ फरार प्रतिवादी पक्राउ

0

मंसिर १६,२०८२ लमही : दाङ प्रहरीले प्रहरीले १५ दिनको अवधिमा ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

मंसिर १ गतेदेखि सोमबारसम्म १५ दिनको अवधिमा ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुबाट ६ लाख पाँच हजार ९०७ रुपैँया जरिवाना समेत असुल गरिएको छ । यस्तै उनीहरुलाई ९ वर्ष २ दिन कैद सजाय हुने डिएसपी शाहले बताउनुभयो ।