Friday, June 5, 2026

कृषि ज्ञान केन्द्र गुल्मीले युवा उद्यमशिलता र रोजगारीलाई प्राथमिकता दिने

0

तिलाचन पाण्डे
वैशाख २५,२०८१ गुल्मी : कृषि ज्ञान केन्द्र गुल्मीले आगामी आर्थिक वर्षमा युवा उद्यमशिलता र रोजगारीलाई प्राथमिकता दिने भएको छ ।

आर्थिक वर्ष २०८१।०८२ मा संचालन हुने वार्षिक कार्यक्रम सम्बन्धी स्थानीय सरकार र सरोकारवालाहरुसंगको छलफल तथा सुझाब संकलन कार्यक्रममा युवा उद्यमशिलता र रोजगारीलाई प्राथमिकता दिएको कार्यालयले जनाएको छ ।

यसका साथै खाद्य तथा पोषण सुरक्षा र समावेशी कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी योजना बनाएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । समावेशी कृषि क्षेत्रबाट महिला ,दलित र विपन्नलाई उकास्ने र ब्यवसायीक बनाउनमा जोड दिइने भण्डारीले दाबी गर्नुभयो ।

पछिल्लो समयमा अनुदान दिने कार्यक्रम भन्दा पनि कृषि क्षेत्रमा टिकाई राख्ने र सामुहिकतामा जोड दिन आवश्यक देखिएको भण्डारीले बताउनुभयो ।

कार्यक्रममा स्थानीय सरकारहरुले कृषिउपज बस्तुहरुलाई बजारीकरण गर्न आफूहरुले योजना बनाएको बताएका छन् । उनीहरुले अनुदानका कार्यक्रममा धेरै रकम खर्चिने र उपलब्धी कम हुने गरेकाले ध्यान दिन सुझाब दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले ब्यवसायीक कृषि र पशुपालनको माध्यमबाट रोजगारीका साथै आत्म निर्भर बनाउन सकिनेमा जोड दिनुभयो । पछिल्लो समयमा युवाहरु विदेश पलायन हुने गरेको उदाहरण दिँदै खत्रीले युवाहरुलाई स्वदेशमानै टिकाई राख्न र ब्यवसायीक बनाउने गरी तीनै तहका सरकारले कार्य गर्नुपर्ने बताउनुभयो ।

जाँउ हिँड रेसुंगा कार्यक्रम प्रभावकारी : मेयर पन्थी

0

तिलाचन पाण्डे
वैशाख २४,२०८१ गुल्मी : रेसुंगा नगरपालिकाले आयोजना गरेको जाँउ हिँड रेसुंगा कार्यक्रम प्रभावकारी भएको नगरले दाबी गरेको छ ।

रेसुंगा क्षेत्रको प्रचाारप्रसार गरी देशभर रेसुंगालाई चिनाउने अभियान अन्र्तगत वैशाख २० गते काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेको कार्यक्रम प्रभावकारी भएको नगरप्रमुख खिलध्वज पन्थीले दाबी गर्नुभयो ।

सोमबार कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पन्थीले काठमाडौंमा भएको कार्यक्रम प्रभावकारी भएको दाबी गर्दै अन्य मुख्य शहरहरुमा पनि कार्यक्रमहरु आयोजना गरि रेसुंगाको प्रचारप्रसार गर्ने बताउनुभयो ।

काठमाडौंमा भएको कार्यक्रमल आफूलाई थप उत्साह जागेको बताउँदै आन्तरिक र वाहय पर्यटकहरु रेसुंगा आउनेमा आफू ढुक्क रहेको पन्थीले दाबी समेत गर्नुभयोे । लुकेको रेसुंगालाई शहरमा देखाउने सुरुवाती कार्यक्रम प्रभावकारी भएको बताउँदै पन्थीले यस अभियानलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।

यस कार्यक्रमको माध्यमबाट युवा र निजी क्षेत्रलाई जोडेर थप बिकास गर्ने बताउँदै उच्च बसाई सराई र विदेश पलायन हुने युवाहरुलाई समेत रोक्न सकिने उहाँको विश्वास छ ।

मुसिकोटमा ७४ जनाको आँखाको शल्यक्रिया

0

टोपलाल अर्याल

वैशाख २३,२०८१ गुल्मी :गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा संचालन भएको निशुल्क आँखा उपचार शिबिरमा मोतियाबिन्दुको समस्या भएका ७४ जनाको शल्यक्रिया गरिएको छ ।

 

शिबिर कृष्ण हरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामी टक्सारको आयोजनामा बैशाख २१ र २२ गते संचालन भएको थियो । शिबिरमा २ सय ८२ जनाको आँखाको जाँच गरिएको नेपाल नेत्र ज्योति सघ आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी वीर बहादुर कार्कीले जानकारी दिए ।

 

 

शिबिरमा आँखा जाँच तथा शल्यक्रिया लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाको सह-प्रध्यापक डाक्टर लक्ष्मीदेवी मानन्धर र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको प्राविधिक टिमले गरेको कार्कीले बताए ।

शल्यक्रियाको लागि सहयोग डार्क फाउन्डेसनले गरेको थियो । शिबिरमा स्थानीय व्यवस्थापन कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामी र मुसिकोट नगरपालिकाले गरेको सूचना अधिकारी कार्कीले बताए ।

गुल्मीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

0

वैशाख २३,२०८१ गुल्मीः गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

 

जिल्लाको रेसुंगा नरपालिका वडा नम्वर १४ पराल्मीकी ५५ बर्षिय विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

 

सोही घटनामा ५४ वर्षिय हुमकला राना घाइते भएको र निजको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मधुमेह र उच्च रक्त चापका कारण मिर्गौला फेल : विशेषज्ञ डाक्टर अग्रवाल

0

तिलाचन पाण्डे
वैशाख २१,२०८१ गुल्मी : मधुमेह र उच्च रक्त चापका कारण मिर्गौला फेल हुने गरेको मृगौला रोग विशेषज्ञ डाक्टर कृष्णकुमार अग्रवालले बताउनुभएको छ ।

तम्घासमा रहेको शुभलक्ष्मी फर्माले मिर्गौला रोग सम्बन्धी जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अग्रवालले सो बताउनुभएको हो ।

पछिल्लो समयमा मिर्गौला रोग धेरै मानिसहरुमा देखा पर्न थालेकाले यस सम्बन्धी हुने समस्या र समाधानका बारेमा जानकारीका साथै मिर्गौला रोग सम्बन्धी चेक जाँच वैशाख २२ गते शुलक्ष्मी फर्मामा हुने भएकाले सो बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

प्रत्येक १०० जना बिरामी मध्ये ३ जनामा डायलायसिस गर्नुपर्ने हुने भएकाले यो रोग ५० प्रतिशतको मात्रा पछि मात्रै देखा पर्ने उहाँको भनाई छ । ४० वर्ष उमेर माथिका ब्यक्तिहरुले पिसाव चेक मार्फत जाँच गर्नु उत्तम हुने उहाँले बताउनुभयो ।

यसका लक्षण के के हुन त ?

खुट्टा सुनिनु,रातको समयमा पिसाब बढी लाग्नु, आँखा वरीपरीको भाग सुनिनु, खाना मन नलाग्नु, उच्चरक्त चाँप कन्ट्रोल नहुनु जस्ता लक्षणहरु देखा पर्ने गर्दछन् ।

विदेश गएका युवाहरुमा बढी देखा पर्ने 

विदेश गएका युवाहरुमा यो रोग बढी देखा पर्ने गरेको पाइएको छ । अन्य ब्यक्तिहरुको तुलनमा खाडी मुलकमा गएका युवाहरुमा यो रोग बढी देखा पर्ने गरेको पाइएकाले यसको कारण अनुसन्धानकै क्रममा रहेको उहाँको भनाई छ । विदेश गएका युवाहरुमा यो रोग देखा परेपनि उपचार पछि निको हुने गरेकाले नआत्तिन र सजग रहन उहाँले आग्रह समेत गर्नुभएको छ ।

बढी मात्रामा रातो मासु भएको मासु खान नहुने भएकाले मृगौला रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु फैलाउनु उपयुक्त हुने अग्रवालले बताउनुभयो ।
विश्वब्यापीरुपमा मृत्यु हुनेको कारण मध्ये पाँचौं नम्वरमा यो रोग पनि रहेको उहाँको भनाई छ ।

सामाजिक उत्तरदायीत्व कार्यक्रम : शुभलक्ष्मी फर्मा

आफूहरुले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत जिल्ला स्थित स्वास्थ्यकर्मीहरु र डाक्टरहरुसंग मिर्गौला रोग सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको शुभलक्ष्मी फर्माका संचालक होम पल्लीले बताउनुभयो ।


पछिल्लो समय मिर्गौला रोग सम्बन्धी समस्या बढी देखा पर्ने गरेकाले मृगौला रोग सम्बन्धी उपचार र देखा पर्ने समस्याहरुका बारेमा स्वास्थ्यकर्मीहरुसंग पौवा होटलमा अन्र्तक्रिया गरिएको पल्लीले बताउनुभयो ।

वैशाख २२ गते शनिवार शुभ लक्ष्मी फर्मामा मिर्गौला रोग सम्बन्धी चेकजाँच र शिविर आयोजना गरिएकाले मौकाको फाइदा लिन समेत पल्लीले गुल्मी लगायत आसपासका बिरामीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

 

गुल्मीमा औषधि लिन हिडेका लालबहादुर मृत फेला

0

वैशाख २१,२०८१ गुल्मीः गुल्मीमा औषधि लिन स्वास्थ्य संस्थामा हिडेका मानिस मृत फेला परेका छन् ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १ का ४७ बर्षिए लालबहादुर बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

 

गएराती बेलुका ८ बजेको समयमा टाउकोमा चोट छ भनी घरबाट हिडेका बिक घर नजिकै २५ मिटर तल खसेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो ।

 

बिकको घरमा आमा, श्रीमती, बुहारी रहेको र छोरा कामको शिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

गुल्मीमा दुई हजार बढी हेक्टर वन डढेलोले नष्ट , वनमा आगो लगाउने  दुई जना पक्राउ

0

तिलाचन पाण्डे
वैशाख १८,२०८१ गुल्मी : गुल्मीमा दुई हजार बढी सामुदायीक वन डढेलोले नष्ट भएको छ ।
जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सामुदायीक वनमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
डिभिजन वन कार्यालय गुल्मीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

वनमा आगो लगाउने २ जना पक्राउ

वनमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ७ सिस्न्यारा पातल सामुदायिक वनमा आगोे लगाउने सोही स्थानका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रेसुगा नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय कार्यालय गुल्मीका डिभिजन वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए ।

उनीहरुलाई वन ऐन २०७६  अनुसारको मुद्धा दर्ता गरिएको छ । वन ऐन २०७६ अनुसार वनमा डढेलो लगाउनेलाई  तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ब्यबस्था रहेको छ ।

आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरुले आगो लगाएको स्विकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए ।

गाउँमा बस्ती रित्तिदैं गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको निमित्त वन अधिकृत पंकज कुमार ठाकुरले बताए । उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए ।

सूचना दिनेलाई उचित पुरस्कार

आगो लगाएको सुराकी दिने ब्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

वनमा आगो लगाएको सूचना दिनेलाई उचित पुरस्कारको ब्यबस्था गरिएको बताउँदै ठाकुरले सबैको सहयोगले मात्रै अगाडि बढ्न सक्ने बताए ।
जिल्लामा आगालागीका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जनचेतनामूलक प्रचार सामग्रीहरु जिल्लाका संञ्चार माध्यमहरुबाट प्रकाशन तथा प्रसारण गरिएको कार्यालयले जनाएको छ ।

आगलागीका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको ठाकुरले बताए ।

पाँच सय बढी रोपनी बाझो जग्गामा पैँचोको तरकारी खेती

0

तिलाचन पाण्डे
वैशाख १८,२०८१ गुल्मीः गुल्मीमा पाँच सय बढी रोपनी जग्गा भाडामा लिई तरकारी खेती गरिएको छ ।

पैँचो नमूना कृषि उत्पादन केन्द्रले जिल्लाका तीन स्थानमा पाँच सय रोपनी बढी जग्गा भाडामा लिई ताजा तरकारी लगाएको पैँचो पसलका प्रबन्ध निर्देशक धुर्वराज न्यौपानेले जानकारी दिए ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर ५ खरज्याङमा ६० रोपनी जग्गामा विभिन्न जातका टमाटर,गुल्मीदरबार गाउँपालिका वडा नम्वर ३ को पुर्खेमा १५० रोपनी जग्गामा टमाटर र मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरमा ३०० सय रोपनी जग्गामा  अकबरे खुर्सानी  र काक्रा लगाइएको न्यौपानेले बताए ।

पाँच सय रोपनी जग्गा ब्यबस्थापन गर्नका लागि करिब एक करोड ५० लाख रुपैयाँ खर्च भएको र तीन सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएको उनले बताए । गाउँमा रहेको बाँझो जग्गालाई लिजमा लिई बसाई सराई कम गर्नका लागि थप टेवा पुर्याउने गरी आफूहरुले काम गर्दै आएको न्यौपानेले बताए ।


विगत १० वर्षदेखी आफूहरुले पैँचो पसल प्रालि चलाउँदै आएको अनुभवलाई कृषि क्षेत्रको उत्पादनमा प्रयोग गर्ने गरी योजना बनाएको बताउँदै न्यौपानेले पैँचोलाई देशभर फैलाउने बताए ।

छत्रकोट गाउँपालिका वडा नम्वर ५ को खरज्याङमा सोमबार पैँचो नमूना कृषि उत्पादन केन्द्रको सुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पैँचोसंग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताए ।

 

पैँचोको निरन्तरताले नेपालका पहाडी क्षेत्रबाटै कृषिबाट आत्म निर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए ।  पालिकाले कृषकहरुलाई उत्पादनका आधारमा अनुदान दिने गरी कार्यविधि तयार गरेको बताउँदै निजी क्षेत्रहरु र सहकारीलाई साथमै लिई बजारीकरणको काम गर्न सक्ने योजना पनि सुनाए ।

यस्तै कृषि ज्ञानकेन्द्रका प्रमुख नवराज भण्डारीले युवाहरुलाई देशमा रोजगारी सृजना गर्नका लागि उत्तम बिकल्प भनेको ब्यवसायीक रुपमा कृषि र पशुपालन नै रहेको बताए ।

शान्ती प्रक्रियाका बाँकी कार्य पूरा गर्नु नै पार्टीको मूख्य एजेण्डा  ः चक्रपाणी खनाल

0

तिलाचन पाण्डे
वैशाख १६,२०८१ गुल्मी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनालले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निश्कर्षमा पुर्याउनु नै माओवादीको मूख्य एजेण्डा भएको बताउनुभएको छ ।

नेकपा माओबादी केन्द्र गुल्मीको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले शान्ती प्रक्रियाका बाँकी कार्यहरुलाई पूरा गर्नु र देशलाई सही बाटोमा हिडाउनका लागि माओबादी नै सक्षम रहेकाले पनि सरकारको नेतृतव माओबादीले गरेको बताउनुभयो ।

नेपाली काँग्रेससंगको गठबन्धनबाट शान्ती प्रक्रियाका बाँकी कार्यलाई पूरा गर्नका लागि सकारात्मक नभएकाले गठबन्धन परिवर्तन गर्न परेको उहाँको भनाई छ ।

यस्तै बर्तमान गठबन्धन भएपछि देशको आर्थिक वृद्धिदरमा पनि सकारात्मक सूचकहरु देखा परेको भन्दै देश र जनताका निम्ती नै बर्तमान गठबन्धन हितमा रहेको बताउनुभयो ।
जिल्लाका १२ वटै स्थानीय तहका नेताहरुले पालिकाको बारेमा रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

यस्तै जिल्ला संयोजकको रुपमा तेजिन्द्र सलामी मगरले पदभार ग्रहण गर्नुभएको छ । निवर्तमान जिल्ला संयोजक युवराज केशीले सलामीलाई माइन्युट हस्तान्तरण गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।


सलामीले पदभार ग्रहण गर्दै पार्टीलाई चलायमान बनाउँदै लैजाने दाबी गर्नुभयो ।

जिल्लामा पार्टी सदस्य नविकरण गर्ने अभियान चलेको बताउँदै जेठ १५ गतेसम्म नविकरण सक्नुपर्ने र बैठकहरु निरन्तर बस्नुे गरी परिपत्र गरिएको जिल्ला सचिव अशोक थापाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जिल्लामा आगलागीबाट भएका घटनाहरुप्रति पार्टीले दुःख ब्यक्त गरेको छ   ।  जिल्लामा भएको क्षतीको वास्तविक विवरण संकलन गरी ब्यबस्थापन गर्नका लागि पार्टीले शहिद स्मृति प्रतिष्ठान गुल्मीको  विपत कोष स्थापना गरी राहत पुर्याउने थापाले बताउनुभयो ।

गुल्मीमा मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते

0

अनिल खत्री
१६ वैशाख, गुल्मी । गुल्मीमा गएराती मलामी बोकेको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् ।दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

गएराती जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ मौरीओडार स्थित शाहाघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणी बाट मलामी लिएर लिम्घा तर्फ फर्कीने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडानम्बर–५ निवासी ३१ वर्षका कृष्ण थापा, ३५ वर्षका यस बहादुर बुढाथोकी, ४० वर्षका खेमु श्रीस, ६० वर्षका दुर्गाबहादुर राना, ३१ वर्षका भुपेन्द्रदेव खप्तरी (थापा) घाइते भएका छन् । त्यस्तै ५३ वर्ष पदम बहादुर बुढाथोकी, ३१ वर्षका भरत बुढाथोकी, २६ वर्षका मिलन राना, २६ वर्षका ठगबहादुर बुढाथोकी घाइते भएका छन् ।

३४ वर्षका घनश्याम बुढाथोकी, ६ वर्षका चिनबहादुर राना, चालक जिल्ला गुल्मी सत्यवती गा.पा.४ लिम्घा बस्ने २९ वर्षका शंकर बि.क घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये ४ जनालाई थप उपचारको लागी पाल्पा पठाइएको छ ।

अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ । घाइते मध्ये केहिको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जीप ब्रेक फेल भई सडक देखी अन्दाजी ४० मिटर तल खसेको  पोखरेलले बताउनुभयो ।