गुल्मीमा दुई हजार बढी हेक्टर वन डढेलोले नष्ट , वनमा आगो लगाउने  दुई जना पक्राउ

0
128

तिलाचन पाण्डे
वैशाख १८,२०८१ गुल्मी : गुल्मीमा दुई हजार बढी सामुदायीक वन डढेलोले नष्ट भएको छ ।
जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सामुदायीक वनमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
डिभिजन वन कार्यालय गुल्मीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

वनमा आगो लगाउने २ जना पक्राउ

वनमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ७ सिस्न्यारा पातल सामुदायिक वनमा आगोे लगाउने सोही स्थानका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रेसुगा नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय कार्यालय गुल्मीका डिभिजन वन अधिकृत पंकजकुमार ठाकुरले जानकारी दिए ।

उनीहरुलाई वन ऐन २०७६  अनुसारको मुद्धा दर्ता गरिएको छ । वन ऐन २०७६ अनुसार वनमा डढेलो लगाउनेलाई  तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने ब्यबस्था रहेको छ ।

आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरुले आगो लगाएको स्विकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए ।

गाउँमा बस्ती रित्तिदैं गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको निमित्त वन अधिकृत पंकज कुमार ठाकुरले बताए । उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए ।

सूचना दिनेलाई उचित पुरस्कार

आगो लगाएको सुराकी दिने ब्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

वनमा आगो लगाएको सूचना दिनेलाई उचित पुरस्कारको ब्यबस्था गरिएको बताउँदै ठाकुरले सबैको सहयोगले मात्रै अगाडि बढ्न सक्ने बताए ।
जिल्लामा आगालागीका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जनचेतनामूलक प्रचार सामग्रीहरु जिल्लाका संञ्चार माध्यमहरुबाट प्रकाशन तथा प्रसारण गरिएको कार्यालयले जनाएको छ ।

आगलागीका घटनाहरुलाई न्यूनिकरण गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको ठाकुरले बताए ।

SHARE