तिलाचन पाण्डे
वैशाख २५,२०८१ गुल्मी : कृषि ज्ञान केन्द्र गुल्मीले आगामी आर्थिक वर्षमा युवा उद्यमशिलता र रोजगारीलाई प्राथमिकता दिने भएको छ ।
आर्थिक वर्ष २०८१।०८२ मा संचालन हुने वार्षिक कार्यक्रम सम्बन्धी स्थानीय सरकार र सरोकारवालाहरुसंगको छलफल तथा सुझाब संकलन कार्यक्रममा युवा उद्यमशिलता र रोजगारीलाई प्राथमिकता दिएको कार्यालयले जनाएको छ ।
यसका साथै खाद्य तथा पोषण सुरक्षा र समावेशी कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी योजना बनाएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । समावेशी कृषि क्षेत्रबाट महिला ,दलित र विपन्नलाई उकास्ने र ब्यवसायीक बनाउनमा जोड दिइने भण्डारीले दाबी गर्नुभयो ।
पछिल्लो समयमा अनुदान दिने कार्यक्रम भन्दा पनि कृषि क्षेत्रमा टिकाई राख्ने र सामुहिकतामा जोड दिन आवश्यक देखिएको भण्डारीले बताउनुभयो ।
कार्यक्रममा स्थानीय सरकारहरुले कृषिउपज बस्तुहरुलाई बजारीकरण गर्न आफूहरुले योजना बनाएको बताएका छन् । उनीहरुले अनुदानका कार्यक्रममा धेरै रकम खर्चिने र उपलब्धी कम हुने गरेकाले ध्यान दिन सुझाब दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले ब्यवसायीक कृषि र पशुपालनको माध्यमबाट रोजगारीका साथै आत्म निर्भर बनाउन सकिनेमा जोड दिनुभयो । पछिल्लो समयमा युवाहरु विदेश पलायन हुने गरेको उदाहरण दिँदै खत्रीले युवाहरुलाई स्वदेशमानै टिकाई राख्न र ब्यवसायीक बनाउने गरी तीनै तहका सरकारले कार्य गर्नुपर्ने बताउनुभयो ।