बाख्रापालनको माध्यमबाट गुल्मीका महिलाहरु आत्म निर्भर बन्दै

0
807

तिलाचन पाण्डे
असोज २८, २०७७ गुल्मी : इश्मा गाउँपालिका वडा नं ४ दोहोलीकी सीता अर्याललाई चुरा पोते केही किन्न परे पनि श्रीमानको मुख ताक्नु पर्दथ्यो ।
तर अहिले उनले आफनै सक्रियतामा घरमा आठवटा बाख्रा पालेकी छिन् । उनलाई अहिले पहिले जस्तो समस्या नभएको र आवश्यक परे गाउँमा सरसापट चलाउन समेत सक्ने भएको उनी बताउछिन् ।
उनका अहिले घरमा एक छोरा र २ छोरीलाई पढाउन समेत समस्या नभएको बताउछिन् । उनकी एउटी छोरीले १२ पास गरेकी छन् , अर्की छोरीले १० कक्षामा अध्ययन गर्दै छन् भने छोराले अहिले ११ कक्षामा अध्ययन गर्दै छन् ।
अहिले आफूलाई केही राम्रो लगाउन परे र मिठो मसिनो खान परे श्रीमानको मुख ताक्न नपर्ने गरी बाख्रा पालनबाट आफू आत्म निर्भर भएको उनी बताउछिन् ।
यस्तै सोही वडाकी २७ बर्षिय हुमकला जिशीलाई पनि पहिले कसरी बाख्रा पाल्ने र आर्थिक तबरबाट कसरी माथी उठ्ने भन्ने बारेमा केही थाहा नै थिएन ।
अहिले उनले राम्रो संग बाख्रा पाल्न र घाँसको नर्सरी संगै दाना पानी कसरी खुवाउने भन्ने बारेमा आफूलाई राम्रो संग थाहा भएको बताउछिन् । पहिले आफूहरु दूई चार जना भेला भएको ठाउँमा गएर आफना कुराहरु राख्न पनि नसक्ने महिलाहरु अहिले आफूलाई मनमा लागेका कुराहरु राम्रो संग राख्न सक्ने भएको उनी बताउछिन् । उनलाई पनि अहिले सामान्य खर्चका लागि कसैको मुख ताक्नुपर्ने अबस्था नरहेको र आवश्यक परे सहयोग गर्न सक्ने अबस्था बाख्रा पालनले बनाएको उनी बताउछिन् ।
गाउँमा अहिले हेफर परियोजना लागु भएपछि महिलाहरु आात्म निर्भर बनेको र ब्यबसायिक रुपमा बाख्रा पालमा लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ७५ प्रतिशत र हेफर परियोजनाको २५ प्रतिशत लगानीमा सो गाउँमा नबप्रभात युवा संघको सहकार्यमा कार्यक्रम लागू भएको हो ।


यस्तै इश्मा गाउँपालिकाले अहिले तत्कालका लागि मासुमा आत्म निर्भर बन्ने गरि र पछि खसी बोका गाउँपालिकाबाट निर्यात गर्ने गरि लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्टले बताए । आर्थिक तबले आत्म निर्भर बन्नका लागि कृषि र पशुपालनको माध्यमबाट मात्रै सम्भब भएको भन्दै गाउँपालिका भित्र बाख्रा पालनका लागि झण्डै गाउँपालिकाले तीन करोण रुपैयाँ वीनियोजन गरेको उनले बताए ।


यस्तै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले महिलाहरु अब चुलो चौकोमा मात्र सीमित नभई बाख्रा पालनको माध्यमबाट आत्म निर्भर भएको दाबी गरिन् । पहिले चुरा पोते र राम्रा कपडाहरु किन्न परे पनि श्रीमानको मुख ताक्न पर्ने महिलाहरु अहिले आबश्यक परे श्रीमानलाई नै पैसा दिन सक्ने अबस्थामा पुगेको उनले दाबी गरिन् ।
इश्मा गाउँपालिकाको वडा नं १देखि ४ वडामा २० वटा मुल समूहहरु बनाई करिब २२ सय महिलाहरु बाख्रा पालमा आबद्ध भएको हेफर परियोजनाका कार्यक्रम अधिकृत शरदकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै सोही गाउँपालिकाको वडा नं ५ र ६ मा सहकारीको माध्यमबाट करिब १६ सय महिलाहरु ब्यबसायीक रुपमा नै बाख्रा पालनमा आबद्ध भएको श्रेष्ठले जानकारी दिए ।

 

 

SHARE