महिलाहरुलाई बाख्रा उपहार

0
619

हुमाकान्त पोखरेल
असोज २७,२०७७ गुल्मी :महिलाहरुलाई आत्मनिर्भर बनाउन उपहारस्वरुप बाख्रा प्रदान गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीका ६५ घरका महिलाहरुलाई आइतबार एक÷एक वटा बाख्रा उपहारस्वरुप प्रदान गरिएको हो ।

इस्मा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नवप्रभात युवा संघद्धारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनामार्फत बाख्रा प्रदान गरिएको हो । दाङ जिल्लाबाट जमुनापारी र अजिमेरी क्रस जातका बाख्रा ल्याइ प्रदान गरिएको छ । औषतमा एउटा बाख्राको मुल्य ६ हजार तोकी कुल तीन लाख ९७ हजारभन्दा बढीका बाख्रा महिलाहरुलाई प्रदान गरिएको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शरद कुमार श्रेष्ठले जानकारी दिए ।

दोहोलीमा गठन गरिएका ६ वटा मुल समुहका सबै महिला सदस्यहरुले बाख्रा पाएका छन् । यसरी प्राप्त गरेका बाख्रा एक बर्षसम्म पाल्ने र त्यसपछि त्यसैबाट जन्मिएको बीउ हुन लायक एउटा पाठी बहिनी समुहलाई प्रदान गर्ने कार्यक्रम रहेको छ । अहिले बाख्रा पाएका महिलाहरुलाई खोर बनाउनको लागि १० हजार अनुदान उपलब्ध गराइएको कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिए ।

दोहोलीकी विष्णु बस्नेत हेफर प्रोजेक्टरमा ०७६ माघदेखि आवद्ध भइन् । अहिलेसम्म उनले हेफर आधारशिला तालिम, पशु व्यवस्थापन तालिम, लगायतका तालिम लिइसकेकी छिन् । आइतबाट गाउँपालिका र परियोजनाको सहयोगमा एउटा बीउ पाठी पाएपछि राज्यप्रति थप आशा पलाएको छ ।

‘दाङबाट ल्याएका उन्नत जातका पाठी लिए, यो हाम्रो गाउँपालिकाले गरेको गरेको सहयोग हो ।’ उनले भनिन्, ‘अब श्रीमानको भर नपरिकन आत्मनिर्भर हुने सोच बनाएकी छु ।’ उनका श्रीमान नेपाली सेनामा हाल जनकपुरमा कार्यरत छन् । उनी लालिगुँरास स्वाभलम्बन महिला समुहमा आवद्ध छिन । सुरुदेखि नै मासिक एक सयका दरले बचत उठाउँदा अहिलेसम्म धेरै रकम बचत पनि भइसकेको उनी बताउछिन् ।
दोहोलीकै कल्पना तिमिल्सिना विगतदेखि नै हेफरमा आवद्ध थिइन् । अहिले घरमा अशंवण्डा गरेपछि एक्लै भएकी उनी बाख्रा किन्ने सोचमा थिइन् । तर आइतबार गाउँपालिकाको सहयोगमा संचालित परियोजनाले बाख्रा दिएपछि उनी खुसि भएकी छिन् । ‘श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ, तर मैले बाख्रापालनमार्फत घरखर्च धान्ने सोच बनाएकी छु ।’ उनले भनिन्, ‘अहिले एउटाबाट सुरु गरेपनि १० ओटासम्म माउ बाख्रा पाल्ने योजना बनाएकी छु ।’ परियोजनाबाट विभिन्न प्रकारका तालिमहरु लिएपछि उनमा क्षमता विकास हुनुका साथै आत्मबलमा पनि बृद्धि भएको छ ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्षमण विष्टले राज्यलाई देखाउन नभई व्यवसायीक बन्ने उदेश्यले काम गर्न आग्रह गरे । कतिपय अवस्थामा आफुहरु अनुगमनमा जाँदा छिमेकीकोबाट केहीबेरलाई पैचोँ बाख्रा ल्याएर देखाउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले महिलाहरुको आर्थिक उन्नतीका लागि आवश्यक पर्ने बजेट गाउँपालिकाले बिनियोजन गर्ने प्रतिवद्धता गरिन् । गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको भन्दै धेरै उत्पादन गरी गाउँपालिकाबाट समेत पुरस्कृत हुन आग्रह गरिन् ।
इस्मा गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ गरी चारवटा वडामा सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना लागु भएको छ । यो परियोजनाले चारओटा वडामा २० वटा मुल समुह गठन गरेको छ भने केहीमा उपाहार समुह पनि गठन गरेको छ । अहिलेसम्म आधारशिला तालिम, सहभागितामुल स्व–समिक्षा तथा योजना तर्जुमा तालिम प्रदान गर्नुका साथै घाँसको बीउ पनि उपलब्ध गराएको छ । चारवटै वडामा ६० वटा बीउ बोका पनि उपलब्ध गराएको नव प्रभात युवा संघका फोकल प्रसन ज्ञान बहादुर महतराले जानकारी दिए ।

अहिले महिला समुहहरुले मासिक बचत उठाउन सुरु गरिसकेका छन्् । चारवटा वडामा कम्तिमा ८० वटा समुह निर्माण गरी सबै महिलाहरुलाई कार्यक्रममा समेट्ने योजना बनाइएको छ । समुहमा आवद्ध भइसकेपछि सहकारीमा परिणत हुने र उक्त सहकारीको संरक्षक इस्मा गाउँपालिका रहने महतराले जानकारी दिए ।

 

SHARE