विद्यालय, जात्रा र पर्व संचालनमा रोक

0
437

सुशीला रेग्मी

रामपुर (पाल्पा), १७ साउन : कोरोनाको जोखिम कायमै रहेकाले सङ्क्रमणबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय पाल्पाले जोखिमलाई मध्यनजर गर्दै विद्यालय, जात्रा तथा पर्व संचालन नगर्न अनुरोध गरेको छ ।

मास्क, स्यानीटाइजरको प्रयोग बिना जथाभावी हिड्डुल गर्ने क्रम बढेपछि प्रशासन कार्यालयले एक सुुचना जारी गरी निर्देशन उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ ।

बन्दाबन्दी खुकलो भएसंगै पाल्पाका विभिन्न विद्यालयले पठनपाठन सुरु गरेपछि पुनः विद्यालय संचालन गर्न रोक लगाइएको छ । जिल्लाका केही विद्यालयले बन्दाबन्दी खुकुलो भएसंगै विद्यालयको पठनपाठन सुरुवात गरेका थिए ।

शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने सर्तमा केही सेवा र कार्यहरु संचालन गर्न खुला एवम् सहजिकरण गरिएकोमा न्यूनतम सामाजिक दुरी कायम नगर्ने, मास्क र स्यानिटाइजरको प्रयोग बिना घर बाहिर जथाभावी हिड्ने, बजार चोक तथा खुल्ला क्षेत्रमा अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक निकाय वा संस्थाले पनि स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने गराउनेतर्फ वेवास्त गर्ने, विद्यालयहरुमा कक्षा संचालन गर्ने जस्ता गतिविधिहरु बढ्दै गएको सूचना प्राप्त भएकाले यस प्रकारका कार्यबाट कोभिड –१९ को सङ्क्रमणको जोखिम बढ्दै जाने उल्लेख गरिएको छ ।

स्वास्थ्य मापदण्डको वेवास्त गर्दा कोरोना सङ्क्रमणको अवस्था झन भयाबह हुने भएकाले घर बाहिर निस्कनु पर्ने अवस्थामा अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नु गराउनुुको साथै जिल्लाभित्र संचालन हुने मेला, जात्रा, उत्सव, तथा मन्दिरहरुमा गरिने नित्य पूजा बाहेकका पूजाहरु र विद्यालयमा कक्षा संचालन गर्ने गराउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रशासनले सूचनाको उल्लंघन गर्ने गरेको पाइएमा त्यस्ता व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कडा कारवाही गर्ने सुचनामा उल्लेख गरेको छ । जिल्लामा अहिलेसम्म मास्क नलगाई घरबाहिर जथाभावी हिड्डुल गर्ने एक सय भन्दा बढी कारबाहीमा परेका छन् ।

ऐतिहासिक भगवति जात्रा स्थगित

पाल्पाको प्रख्यात जात्रा ऐतिहासिक भगवति तथा रजउजिश्वेरी जात्रा कोरोनाका कहरले यो वर्ष नगरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिकाको निर्यणअनुसार यसवर्षलाई जात्रा ननिकाल्ने निर्णय भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए ।

विजयउत्सवका रुपमा मनाइने भगवति जात्रा हेर्न विभिन्न जिल्लाबाट दर्शकहरु आउने गर्छन् । जात्रामा मानिसको ठुलो भीड लाग्ने भएकाले निरन्तर मनाउँदै आएको जात्रा यस पटक स्थगित गरिएको अध्यक्ष उदय बताउछन् ।

कर्णेल उजीरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो ।

युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसंग भाकल गरेका थिए । आफ्नो भाकल पूरा भएपछि उनले तानसेनमा भगवतिको मन्दिर बनाएका हुन् ।

राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासंग गाँसिएको छ । विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको जात्रा निकालिदै आइएको छ ।

यसैगरी पाल्पामा निकालिने गाईजात्रा, रोपाई जात्रा, बाघ जात्रा, नारायण जात्रा, गणेश जात्रा, कृष्ण जात्रा लगायतका जात्रा तथा पर्व यो वर्ष नगरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, तानसेन नगर सरकार, विश्व हिन्दू महासंघ, विभिन्न गुठीसंघ संस्थाहरु र सरोकारवालाको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा यसवर्ष जात्रा तथा पर्व, महोत्सव नगर्ने तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही बताउछन् ।

SHARE