
जेठ ८,२०८३ पाल्पा : पाल्पामा जङ्गली विषालु च्याउ खाँदादुई महिलाको जयान गएको छ । जिल्लााको रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा मगरको ज्यान गएको हो ।
जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरूसहित ५० वर्षीया याममाया जर्घा मगर पनि बिरामी परेका थिए । गत जेठ १ गते साँझ च्याउ सेवनपछि वान्ता र झाडापखाला भएपछि उपचारका लागि उनीहरूलाई युनाइटेड मिसन अस्पताल तानसेन ल्याइएको थियो ।
कामु मगरको जेठ ४ गते र खाम्चा मगरको जेठ ५ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

जर्घा मगरको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । मनसुन नजिकिँदै जाँदा जिल्लामा विषालु च्याउ सेवनबाट एक दर्जनभन्दा बढी बिरामी परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
निस्दी गाउँपालिका–४ भिरपानीमा पनि विषालु च्याउ सेवनबाट दुई जना बिरामी भएका छन् । जेठ ४ गते जङ्गलको च्याउ सेवन गरेका उहाँहरूमा जेठ ५ गते लक्षण देखिएको थियो । उपचारका लागि मध्यविन्दु अस्पताल नवलपुर लगिएकोमा दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले जानकारी दिनुभयो ।
यता तानसेन नगरपालिका–११ भालुवन घर भई तानसेन नगरपालिका–४ मा बस्दै आएका एकै परिवारका चार जना पनि विषालु च्याउ सेवनबाट बिरामी भएका छन् । उनीहरूको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, माथागढी गाउँपालिका–३ कसेनी भैंसीकट्टाका विषालु च्याउ खाएर बिरामी परेका चार जना उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईले बताउनुभयो ।
तानसेन नगरपालिका–८ मदनपोखराको कोकलमा बस्ने दुई जना पनि उपचारपछि घर फर्केका छन् । उनीहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा गरिएको थियो ।











