रामपुरमा रोटा भाइरस बिरुद्धको खोप कार्यक्रम सुरु

0
722
फाइल फोटो

सुशीला रेग्मी

साउन १६,२०७७ पाल्पा :पाल्पाको रामपुर नगरपालिकामा रोटा भाइरस बिरुद्धको खोप कार्यक्रम सुरु भएको छ ।
रामपुर नगरपालिका वडा नं ५ स्थित आयुर्वेद औषधालयको खोपकेन्द्रमा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले कार्यक्रमको उद्घाटन गरिन् । नगर उपप्रमुख आचार्यले बच्चालाई नियमित खोप लगाएर विभिन्न रोगबाट बचाउन सकिने हुदा नछुटाइकन खोप लगाउनु आवश्यक रहेको बताइन् ।

उनले भोलिका भबिष्यका कर्णधार साना साना बालबालिकालाई नजिकको पायक पर्ने केन्द्रमा पुगेर नियमित खोप कार्यक्रममा सहभागी भई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन अभिभावकलाई आग्रह गरिन ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले गरेका थिए ।

नगरपालिकाका आयुर्वेद शाखा प्रमुख कविराज चेमनप्रकाश पोखरेल, स्वास्थ्यकर्मीहरु कमला श्रेष्ठ, पुनम धिताल, स्वयम्सेविका लगायतको टोलीले खोप कार्यक्रममा सहभागी भई सेवा दिएका हुन् ।
बच्चा जन्मेको छ हप्ता देखि दश हप्ता सम्मका बालबालिकालाई रोटा भाइरस बिरुद्धको खोप दिइयो भने झाडापखाला हुनबाट बचाउने गर्दछ । रामपुर नगरपालिका सबै केन्द्रमा रोटा भाइरस बिरुद्धको खोप कार्यक्रम संचालन भएको छ ।

रामपुर नगरपालिका १० स्थित गेझा स्वास्थ्य चौकीमा रोटा भाइरस बिरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष लिलबहादुर गाहाको अध्यक्षतामा एक कार्यक्रम गरी खोप लगाइएको छ । यस कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख बिक्रम भण्डारी र शहरी स्वास्थ्य क्लिनिक प्रमुख जगन्नाथ भण्डारी लगायतका स्वास्थ्यकर्मी सहितको टोलीले सेवा दिएका हुन ।

SHARE