
सुशीला रेग्मी
साउन १४,२०७७ पाल्पा : पाल्पाको रामपुरमा झाडापखालाका कारण एकै गाउँका २८ जना बिरामी परेका छन् ।
रामपुर नगरपालिका वडा नं ७ स्थित मोहटीमा ओमबहादुर सुनारका बुबा मानबहादुर सुनारको १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद ग्रहण गरेका २८ जना बिरामी परेका हुन् ।
आईतवार दिउँसो पितृप्रसाद खाएपछि साँझपख देखि वान्ता आउने टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखा परेपछि गाउँका २८ जना अहिले रामपुर अस्पतालमा उपचाररत छन् ।

बिरामी परेका २८ मध्ये एक जना २८ वर्षका बिमला सुनारलाई पाल्पा रिफर गरिएको अस्पतालका सुचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिए । सोमवार अस्पतालमा छ जना भर्ना भएका थिए भने २२ जना मंगलवार बिहान सवा १० वजेमात्रै उपचारका लागि आएको मेडिकल अधिकृत कुशल खनालले बताए ।
ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या लिएर बिरामी उपचारका लागि आएको डाक्टर खनाल बताउनुहुन्छ । बिरामीमध्ये २० महिला, छ पुरुष तीन बालक रहेका छन् ।
शुद्धशान्तिमा खिर तरकारी अचार पितृ प्रसाद ग्रहण गरेपछि साँझपखबाट स्वास्थ्यमा समस्या आएको बिरामी तथा अस्पतालका प्रशासन सहायक हिरा विकले बताए । करिव एक सय भन्दा बढी शुद्धशान्तिमा सहभागी थिए ।
गाउँमा अझैपनि केही बिरामी भने घरमै रहेका छन् । साथै रामपुर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई प्रदेश नम्बर पाँच प्रदेश सभा सदस्य युवराज खनालले स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका छन् ।








