पाल्पामा सवारी दुर्घटनाको दर घट्दो

0
319

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ साउन : पाल्पा जिल्लामा पछिल्ला वर्षमा सवारी दुर्घटनामा कम आएको पाइएको छ । पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा वर्षेनी सवारी दुर्घटनाको दर जिल्लामा घट्दो अवस्थामा छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा २३ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । जसमा पुरुष २१ र महिला दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

एक वर्षको अवधीमा सवारी दुर्घटनामा परी ३५ पुरुष, पाँच महिला र एक बालिका गरी ४१ जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइतेको संख्या ३१ रहेको छ । जसमा पुरुष २२, महिला सात, बालक दुई छन् ।

आ.व. ०७५÷०७६ मा २४ पुरुष, ११ महिला, तीन बालक र दुई बालिका सहित ४० जनाले सवारी दुर्घनामा ज्यान गुमाएका थिए भने आ.व. ०७४÷०७५ मा पुरुष ३१, महिला ११, बालक एक, बालिका तीन गरी ४६ जनाले सवारी दुर्घनामा परी ज्यान गुमाएको तथ्याङ्क छ ।

“ट्राफिक नियम पालना, सडक दुर्घटना न्युनिकरणका लागि कार्यालयले चालक तथा यात्रु संगको सचेतना कार्यक्रम, सडकको अवस्थामा क्रमिक सुधार हुदै जादा दुर्घटनाको दरमा कमी आएको छ” उनले भने ।

ट्राफिक प्रहरीले राजमार्ग तथा विभिन्न सडक, सदरमुकाम तानसेन लगायतका क्षेत्रमा सवारी साधन रोकेरै चालक तथा यात्रुलाई ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा ६९ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमा ट्रक दुई, ट्रिपर नौ, बस चार, जिप भ्यान र कार १३, ट्याक्टर ११, मोटरसाइकल २८ र डोजर दुईवटा रहेका छन् ।

गएको वर्षमा जिल्लामा १३ हजार सात सय ८२ वटा सवारी साधन कारबाहीमा परेका छन् । ट्रक, ट्रिपर तीन हजार ३१६, बस दुई हजार ३५१, जिप, कार र भ्यान तीन हजार ९५, ट्याक्टर एक हजार ४१८, मोटरसाइकल तीन हजार ६०२ सवारी कारबाहीमा परेका छन् । मापसे सेवन गरी सवारी चलाउनेमध्ये एक सय ८७ कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न सवारी कारबाहीबाट रु ८३ लाख ७३ हजार ५००, आ.व. ०७५÷०७६ मा रु ९१ लाख १९ हजार ५०० र ०७४÷०७५ मा ७९ लाख २५ हजार राजश्व सङ्कलन भएको छ ।

SHARE