बर्दलेफाँट सिंचाई आयोजनको कुलो पुनः निर्माण

0
799

सुशीला रेग्मी

साउन ४,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं १० मा रहेको बर्दलेफाँट सिंचाई आयोजना जल उपभोक्ता समितिको कुलो पुनः निर्माण पछि पानी सुचारु गरिएको छ ।
कुलोको मुहान झम्मखोलाको केउरादी गैरामा वैदिक परम्परा अनुसार पुजा गरेर पानी संचालन गरिएको हो प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य युवराज खनालले पुजा गरेर कुलोमा पानीको शुभारम्भ ग।े ।
कृषिबाट आम्दानी लिनका लागि सिंचाई हुनुपर्ने बताउँदै प्रदेश सभा सदस्य खनालले सिंचाई सुबिधा पुगेपछि अब कृषकहरु उत्पादन बढाउनतर्फ लाग्नुपर्ने बताए । छोटो समयमा कुलो पुनः निर्माण गरिएकोमा समितिलाई धन्यवाद दिदै कृषिमा आधुनिकीकरण गरेर रामपुर नगरलाई नमुना कृषि क्षेत्रका रुपमा बनाइने उनले बताए ।

गत मङ्सीर देखि एक वर्षको समय भित्र निर्माण काम सम्पन्न गर्ने गरी पुरानो कुलोलाई पुनः निर्माण गरी पक्की नहर बनाउने काम सुरु गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ को असारमा आरसिसि पर्खाल लगाउने र ग्याबिङ्ग उठाएर राखिएको आयोजनाको पुनः निर्माणको काम मङ्सीरबाट मात्र थालनी गरिएको हो ।

प्रदेश नम्बर पाँच सरकारको रु चार करोड ९३ लाखमा ठेक्का आह्वानमा केविसि विल्र्डस ईको ईन्जिनियरिङ्ग कम्पनी चितवनले रु तीन करोड ९० लाखमा ठेक्का सम्झौता गरी काम गरिएको हो । तीव्र गतिमा काम गरेपछि तोकिएको समय भन्दा पाँच महिना अगावै निर्माणको काम सम्पन्न भएको आयोजनाका अध्यक्ष बैकुण्ठ खनाल बताउछन् ।

यस आयोजनाको छ किलोमिटर नहरमा अहिले साढे चार किलोमिटर नहर पुनःनिर्माणको काम सम्पन्न भइसकेको छ र बाँकी डेढ किलोमिटर पुनः निर्माणका लागि प्रदेश तथा स्थानीय सरकार संग सहयोग माग गर्ने समितिले जनाएको छ । आयोजनाबाट चार सय ३२ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । कुलो निर्माण कार्यमा स्थानीय उपभोक्ताले रु १५ लाख ४४ हजार सात सय २४ रकम बराबरको श्रमदान गरेका छन् । पाँच वटा शाखा रहेको यस आयोजना अन्र्तगत एक सय पाँच हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुबिधा पुग्नेछ । खेतबारीमा सिंचाईका लागि पक्की नहर कुला नहुदा सिंचाई गर्न समस्या थियो । पक्की कुलो बनेपछि उपभोक्तालाई खेतबारीमा सिंचाई गर्न सजिलो हुनेछ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष कमलराज भट्टराई र उपभोक्ता टंकनाथ खनालले कच्ची कुलो हुदा खेतबारी सम्म पानी पु¥याउन समस्या झेल्दै आएका उपभोक्तालाई अब पक्की कुलो बनेपछि सिंचाई गर्न सजिलो पर्ने बताउनुभएको छ । कार्यक्रम संचालन उपभोक्ता टिकाराम पौडेलले गरेका हुन् ।

खेतीयोग्य जमिनमा सिंचाईको समस्या परेपछि विसं २०५१ मा यहाँका स्थानीयले झम्मखोलामा बाँध बाधेर सानो कुलो बनाएर पानी लगिएको थियो । सानो कुलोमा लगिएको पानीले प्रयाप्त सिंचाई नपुग्ने र बेला बेलामा भत्किने समस्याले कृषकलाई खेती लगाउन समस्या परिरहेको थियो । कुलोलाई प्रदेश सरकारले पुनः निर्माणका लागि वजेट उपलब्ध गराएपछि पक्की बनाइएको हो । आयोजना पुनः निर्माण भएपछि सिंचाई समस्याले बाँझिन पुगेका खेतीयोग्य जमिनमा अन्नबाली, तरकारी, फलफूल लगाएर प्रशस्त आम्दानी लिने उपभोक्ता बताउँछन् ।
सो आयोजनाको नहरको तीन हजार आठ सय मिटर लम्बाईसम्म ८० मिटर चौडाई र ६० मिटर उचाई छ । गेझा शाखा क्षेत्रमा चौडाई र उचाई ६०÷६० मिटर, गोकर्णेश्वर शाखामा चौडाई ४५ मिटर र उचाई ५० मिटर रहेको छ ।

SHARE