पाल्पामा घाँस खेतीलाई व्यवसायिकरण गरिदै

0
1086

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ असार : पशु आहारका लागि पोषिलो घाँस उत्पादन बृद्धि गर्न घाँस खेतीलाई व्यवसायिकरण गर्न थालिएको छ । जिल्लाका तानसेन नगरपालिका, रामपुर नगरपालिका, रम्भा गाउँपालिका लगायतका विभिन्न पालिकाका कृषकहरु व्यवसायिक घाँस उत्पादनमा लागेका छन् ।

भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले कृषक तथा समुह सहकारीको मागको आधारमा घाँस खेतीमा सहयोग गर्न थालेपछि विभिन्न जातका विरुवा कृषकले लगाउने गरेका छन् । जिल्लामा पशुपालन क्षेत्रमा कृषकको आकर्षण बढ्दै जान थालेपछि पशु आहारा आपूर्तिका लागि खाली रहेका जमिनमा घाँस लगाएर हराभरा पार्न थालिएको छ ।

यस आर्थिक वर्षमा भेटरीनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले रामपुर नगरपालिका स्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थालाई घाँसको नर्सरी स्थापना गर्न सहयोग गरेको छ ।

पशुविज्ञ केन्द्रको रु दश लाख र सहकारीको रु दश लाख समन्वयमा घाँस खेती प्रवद्र्धन कार्यक्रम गर्न सम्झौता भई प्रक्रिया अगाडी बढाएको केन्द्रका प्रमुख डाक्टर चन्द्रबहादुर राना बताउँछन् ।

“पशुपालन बढेसंगै व्यवसायिक रुपमा घाँसको खेती गर्न थालिएको छ, कृषकले खाली रहेका भिराला जमिन, पोखोपखेरा तथा खेतबारीका कान्लामा घाँस लगाएर पशु आहार आपूर्ति गर्न थालेका छन्” उनले भने ।

सहकारीले यो वर्ष ६० कृषकलाई रामपुरमा नर्सरी स्थापना गर्न रु एक लाख बराबरको घाँसको वीउ वितरण गरेको अध्यक्ष कृष्णकुमार अर्यालले बताउनुभयो । पशु आहारका लागि प्रशस्त घाँस आपूर्ति हुन नसक्दा लगानी अनुसारको कृषकले उत्पादन लिन नसकेको हुदा यो वर्ष घाँसको नर्सरी स्थापना गर्न जोड दिएर कृषकलाई विरुवा वितरण गरिएको उनी बताउँछन् ।

नेपाल सरकार संग खरिद गरेको सुपर नेपियर, सिओफोर, मुलाटो, बदामे, पासपलाम, सब्बा सेटरिया जातका घाँसको वीउ वितरण गरिएको व्यवस्थापक भविनारायण मरासिनीले बताए ।

रामपुरमा घाँसको नर्सरी व्यवस्थित नहुदा हरेक वर्ष बाहिरबाट विरुवा ल्याएर कृषकलाई उपलब्ध गराउनुपर्ने अवस्था छ । सहकारीले बाहिरबाट विरुवा खरिद गरेर कृषकलाई अनुदानमा उपलब्ध गराएपछि व्यवसाय गर्न सजिलो परेको अगुवा कृषक बलबहादुर राना बताउनुहुन्छ । प्रयाप्त घाँसको सुबिधा नहुदा सुक्खाजन्य पदार्थले व्यवसाय धान्नु पर्दा उत्पादनमा ठुलो अन्तर पर्ने उनको अनुभव छ ।

पशुविज्ञ केन्द्रले रामपुर नगरपालिका ४ स्थित सदावर्तमा संचालित होलस्टिन पशुफार्ममा करिव ८० रोपनी क्षेत्रफलमा पशु आहार आपूर्तिका लागि मकै र भट्टमास खेती गर्न समन्वय गरेको छ । केन्द्रले गतवर्ष देखि नै घाँस खेतीलाई व्यवसायिकरण गर्न अनुदान कार्यक्रम संचालन गरेको छ ।

नेपालकै एक मात्र सरकारी भेटरीनरी तथा पशुविज्ञ केन्द्रले संचालन गरेको पाल्पाको तानसेन नगरपालिका स्थित धु्रबघाटमा करिव ३१ रोपनी क्षेत्रफलमा घाँस खेती छ । यहाँ डाले प्रजातिका बडहर, किम्बु, राई खनियोँ, टाँकी, कोइरालो, इपिलिपी लगायतका घाँसका विरुवा उत्पादन गरिन्छ ।

यसभन्दा अघि निशुल्क घाँसका विरुवा वितरण गर्ने गरिन्थ्यो भने यो वर्ष देखि प्रदेश सरकारले तोकेको शुल्कमा बिक्रि गर्न थालिएको छ । यसवर्ष घाँसका विरुवा बिक्रि गरेर करिव रु तीन लाख बराबरको राजश्व सङ्कलन हुने भेटनरी तथा पशुविज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिका ११ स्थित बृज एग्रो एण्ड रिसर्च सेन्टर, रिसर्च सेन्टर बाख्राफार्म, रम्भा गाउँपालिका २ को फोक्सिङ्गकोट, रामपुर नगरपालिका ३ स्थित गण्डकीढिक र वडा नं ७ मोहटी लगायतका क्षेत्रमा समुह तथा व्यक्तिगत तवरले व्यवसायिक घाँस खेती गरिदै आइएको छ । जिल्लामा करिव एक दर्जन भन्दा बढी कृषक, समुह तथा सहकारीले व्यवसायिक घाँस खेतीको सुरुवात गरेका छन् ।

SHARE