गुल्मीदरवार गाउँपालिकामा “कस्तो छ आमा कार्यक्रम ” लागु हुने

0
1086

तिलाचन पाण्डे
असार ११,२०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिकामा कस्तो छ आमा कार्यक्रम लागु गरिने भएको छ ।
गाउँपालिकाले महिला गर्भवति भएपश्चात सुरक्षित मातृत्व , पोषण र बालस्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफनो अनि गर्भ र बच्चाको ख्याल गर्नुस है भन्दै कस्तो छ आमा कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८ का लागि पारित गरेको नीति तथा कार्यक्रममा सो कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष अशोक थापाले जानकारी दिए ।
गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा प्रसुति गराउन , बालस्वास्थ्य र पोषणलाई ध्यान दिनका लागि सो कार्यक्रमलाई प्राथमिकता दिएको थापाले बताए ।
केके गर्छ त यस कार्यक्रमले
यस कार्यक्रमले सुरुमा गर्भवती भएका महिलाहरुलाई घरमै गएर स्वास्थ्य कर्मीहरुले भेट्ने , बधाई दिने र उनीहरुलाई सम्झाउने कार्यक्रम गर्दछन् ।
गर्भवती भएको समयमा खानपानमा ध्यान दिनुपर्ने , हल्का हल्का मात्र कामहरु गर्ने र तनाब नलिने भन्दै गर्भबतीहरुलाई सम्झाउने काम गर्छन् ।
महिलाहरु गर्भवती भएको चौथो महिनामा स्वास्थ्य कर्मीहरुले फोन गरी भोली तपाईको चेकजाँच गर्ने हो भन्दै स्वास्थ्य संस्थामा आउनका लागि आग्रह गर्दछन् ।
गर्भवती महिलाको चेकजाँच पश्चात एक क्यारेट अण्डा , आयोडिन नुन र नेलकटर गाउँपालिकाको कोशेली स्वरुप प्रदान गर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । उनीहरुलाई छ महिना आठौ महिना र नौ महिनामा पनि गाउँपालिकाको कोशेली प्रद्रान गरिने छ ।
यस्तै गर्भवती महिलाहरुलाई स्वास्थ्यको अबस्था कस्तो छ भन्दै समय समयमा फोन मार्फत पनि बुझने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ । आफनो अनि गर्भ र बच्चाको ख्याल राख्नुहोस है भन्दै स्वास्थ्य कर्मीहरु घरमै जाने सम्झाउने र फोन मार्फत सुनौला हजार दिनसम्म ३० पटक सम्म जानकारी लिइने छ ।
गर्भवती महिलाहरुलाई घरमा सुत्केरी हुन नदिनका लागि ख्याल गर्ने र अनिवार्य रुपमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनका लागि यस कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले बिश्वास लिएको छ ।
गर्भमा रहेको बच्चाका बाबालाई चिठी
महिला गर्भवती भएपश्चात गर्भमा रहेको बच्चाको बाबालाई पनि चिठी पठाइने गाउँपालिकाले जनाएको छ ।
महिला गर्भवती भएको समयमा श्रीमानले निभाउनु पर्ने भूमिका गर्भमा रहेका बच्चाले के कस्तो सोचेका हुन्छन् र बच्चाको बाबाको दायित्वलाई समाबेश गरी चिठी पठाइने यस कार्यक्रममा रहेको छ ।
बच्चा गर्भमा रहेको बेला गर्भवती महिलालाई मानसिक तनाब नदिने , खानपान र स्वास्थ्यको बारेमा ख्याल गर्ने लगायत बिषयबस्तुहरुलाई समेटी चिठी पठाउने कार्यक्रम यसमा रहेको छ ।
श्रीमान घरमै भएको भए घरमै चिठी बाचन गरेर सुनाउने बिदेशमा भएको भए फोन मार्फत बाचन गरेर सुनाउने कार्यक्रम रहेको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।
गर्भवती महिलाको घरमा हरियो झण्डा
यस्तै गाउँपालिका भित्रमा गर्भवती भएका महिलाहरुको घरमा हरियो झण्डा राखिने भएको छ ।
गर्भवती भएका महिलाहरुको घर पहिचान गर्न सहज होस भन्नका लगि घरमा हरियो झण्डा राख्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
हरियो झण्डा राख्दा पहिचान हुने र स्वास्थ्य कर्मीहरुलाई पनि गर्भवती महिलाको घरमा जान सहज हुने पालिकाले जनाएको छ ।
सुत्केरी पश्चात घरमै गएर स्वास्थ्य जाँच
महिला स्वास्थ्य संस्थामा सुत्केरी भई घरमा गएपश्चात उनीहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
महिला र बच्चाको स्वास्थ्य अबस्था बुझदै घरमै गएर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ ।

बच्चाको तौल लिदाँ २ वटा अण्डा
स्वास्थ्य संस्थामा बच्चाको तौल लिन आउँदा उनीहरुलाई २ वटा अण्डा दिने पनि गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य संस्थामा बच्चाको तौल लिन आँउदा उनीहरुलाई २ वटाका दरले अण्डा दिने र बच्चालाई अण्डा खुवाउनु पर्छ भन्ने बानी पार्नका लागि यस्तो अभियान लिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका लागि नौ लाख बजेट
यस कार्यक्रमका लागि गाउँपालिकाले तत्काललाई नौ लाख रुपैयाँ बजेट बिनियोजन गरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
तत्कालका लागि नौ लाख बजेट बिनयिोजन गरेको र कार्यक्रमका लागि बजेट अभाब हुन नदिने पाण्डेले दाबी गरे ।

SHARE