इस्मा गाउँपालिकाको नीति कार्यक्रममा रोजगारीलाई प्रथामिकता, उद्यम विकास कोष, भुमि र श्रम बैंकमा जोड

0
879

टोपलाल अर्याल
गुल्मी, १० असार

इस्मा गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले नीति कार्यक्रम प्रस्तुत गरेका थिए । भने उपप्रमुख बिमला खत्रीले ४२ करोड १६ लाख बराबरको आर्थिक तथा बिनियोजन बिध्येक गाउँ सभामा प्रस्तुत गरेकी छन। इस्मा गाउँपालिकाले कोरोना महामारीको नियन्त्रण, रोजगारी सिर्जना, कृषि, पशुपालन र उद्यम व्यवसायलाई उच्च प्राथमिकता दिई यो बर्षको नीति कार्यक्रम निर्माण गरेको छ । नीति तथा कार्यक्रममा विभिन्न वर्ग विकास समितिहरु गठन गरी विकासमा सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, महिला शसक्तिकरण, खानेपानी सुविधाको लागि ‘एक घर एक धारा’ तथा गाउँपालिकाको सेवालाई नागरिकमैत्री बनाउने कामलाई समेत प्राथमिकतामा राखिएको छ । साथै यो बर्ष गाउँपालिकाको केन्द्र निर्धारण गरेर प्रशासनिक भवन र वडा नं। २ को कार्यालय भवन निर्माण कार्य अघि बढाइने तथा गाउँपालिकाको उपयुक्त स्थानमा अतिथि गृह निर्माणका लागि सम्भाव्यता अध्ययन नीति तथा कार्यक्रममा उल्लेख छ ।

बाख्रा श्रोत केन्द्र स्थापनादेखि सहुलियत कर्जा

इस्मा गाउँपालिकार्ले आगामी २ बर्षभित्र मासु, दुध र अण्डामा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रम अगाडी सारेको छ । त्यस्तै नीति तथा कार्यक्रमा गाउँपालिकालाई बाख्राको श्रोत केन्द्रको रुपमा विकास गर्दै जीवित खसी बोका तथा मासु निर्यातको लागि सक्षम तुल्याउन तथा कृषि उत्पादन बढाउन कृषकहरुलाई सीप, प्रविधि र पूर्वाधारमा अनुदान दिने, कृषि र पशु बीमा प्रिमियममा कृषकले भुक्तानी गर्ने रकमको ५० प्रतिशत गाउँपालिकाको तर्फबाट भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिने उल्लेख छ । कृषकसँग प्राविधिक कार्यक्रम‘लागु गरी घर–घरमा कृषि र पशुप्राविधिक सेवा उपलब्ध गराउने, कृषक पाठशाला संचालन, मल, बीउ, प्रविधि, सिंचाइको व्यवस्था मिलाउने, पशुमा कृत्रिम गर्भाधान, नश्लसुधार, खोप तथा औषाधीको व्यवस्था, कृषकको उत्पादनलाई सुरक्षित भण्डारण र बजारीकरणमा आवश्यक सहयोग, वडा नं।–२ को उपयुक्त स्थानमा गाउँपालिका स्तरको कृषि तथा पशु उपज संकलन केन्द्र र शीतभण्डार निर्माण गर्न यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने नीति तथा कार्यक्रम अगाडी बढाइएको छ ।

उद्यम विकास कोष मार्फत निर्व्याजी कर्जा

गाउँपालिकाले उद्यम गर्न चाहने युवाहरुकोे वित्तीय पहुँच विस्तार गर्न “उद्यम विकास कोष” स्थापना गरी निव्र्याजी सहुलियत कर्जाको कार्यक्रम लागू गर्ने नयाँ योजना यो बर्ष अगाडी बढाउने भएको छ । भने कोरोना महामारीबाट प्रभावित भई विदेशबाट सीप सिकेर गाउँ फर्किएका युवाहरुलाई लक्षित गरी “विदेशी सिप स्वदेशी लगानी, इस्माको समृद्धि गाउँमै आम्दानी” को नारालाइ व्यवहारमा कार्यन्वयन गर्ने नीति कार्यक्रममा उल्लेख छ । यसको कार्यान्वयनका लागि आवश्यक कानुनी र आर्थिक व्यवस्था मिलाई सहकारी तथा अन्य वित्तीय संस्थासँग सहकार्य गरिने छ ।

भुमि र श्रम बैक स्थापना श्रमशक्तिको उपयोगमा जोड

गाउँपालिकाले जमिन बाँझो रहन नदिन र काम गर्ने युवाहरुहरुलाई आवश्यक जमिन उपलब्ध गराइ करार खेतीको व्यवस्था गर्न भूमी बैंक स्थापना गरी कार्यन्वयन गर्ने र स्थानीय श्रमशक्तिको उपयोग गर्ने नीति अगाडी सारेको छ । भने वैदेशिक रोजगारीबाट फर्किएका र यस गाउँपालिकाका युवाहरुलाई सूचीकरण, सीप पहिचान र आवश्यकताको आधारमा परिचालन गरी रोजगारी दिने कार्यलाई व्यवस्थित गर्न श्रम बैंकको स्थापना गर्ने भएको छ । जसका कारण कोरोना महामारीका कारण हुनसक्ने खाद्यान्न संकट तथा भारत प्रवास, तेस्रोमुलुक र देशका शहरी क्षेत्रबाट गाउँपालिकामा फर्केको जनशक्तिलाइ रोजगारी दिन सकिने भएकाले “हाम्रो श्रम हामै्र विकास“ मार्फत अत्यावश्यक अवस्थामा बाहेक मेशिनको प्रयोगमा रोक लगाएर श्रमिकको प्रयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै युवाहरुलाइ रोजगार÷स्वरोजगार बनाउन पम्प अपरेटर तथा मर्मत सम्भार, प्लम्बिङ्ग, डोजर चालक, गाडी मर्मत, हेयर कटिङ्ग, व्युटीसियन, ग्रामिण पशु तथा कृषि कार्यकर्ता लगायतका तालीमहरुमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाइने भएको छ । भने सहकारी मार्फत् सुपथ मुल्य पसल संचालन गरी किसानलाई मल, विउ, विषादी र अन्य आवश्यक वस्तुहरु उक्त पसलबाट उपलब्ध गराइने भएको छ ।

विकास बोर्ड र समिति स्थापना

गाउँपालिकाले आगामी २ वर्षमा प्रत्येक घरमा स्वच्छ खानेपानी उपलब्ध गराउन “एक घर एक धारा” निर्माण कार्यलाई प्राथमिकता दिने र आगामी बर्ष ३५ सय घरधुरीमा ‘एक घर एक धारा’ पु¥याइने गरेर नीति तथा कार्यक्रम र बजेटको व्यावस्था गरेको छ । त्यसका लागि गाउँपालिकामा सञ्चालनमा रहेका ठूला खानेपानी आयोजनाहरुको नियमित मर्मतसम्भार गरी खानेपानी सेवा उपलब्ध गराउन गाउँपालिका स्तरिय खानेपानी तथा सरसफाइ विकास बोर्ड स्थापना गर्ने र बोर्ड मार्फत खर्च गर्ने गरी बजेट विनियोजन समेत भएको छ । साथै विकासमा जनसहभागिता वृद्धि गर्न आवश्यक नीतिगत व्यवस्था गरी गाउँपालिका स्तरीय खेलकुद, युवा, बाल क्लव, अपाङ्ग, महिला, दलित, जनजाति तथा ज्येष्ठ नागरिक विकास समितिहरु गठन गरी परिचालन गर्ने नीति र कार्यक्रमसहित बजेटको व्यावस्था गाउँपालिकाले गरेको छ ।

बहुप्राविधिक शिक्षालय संचालन सहुलियत कर्जा र छात्रवृति

इस्मा गाउँपालिका वडा नं ५ मा सञ्चालन हुन लागेको बहुप्राविधिक शिक्षालयलाई छिटो सञ्चालन गरेर द्वन्दपीडित, सहिद परिवार, घाइते तथा अपांगका परिवार, वेपत्ताका परिवार, अभिभावक विहीन बालबालिका, दलित, जनजाति तथा विपन्न समुदायका विद्यार्थीको प्राविधिक शिक्षामा पहँुच स्थापित गर्न विभिन्न स्थानमा प्राविधिक धारको उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई सहुलियत कर्जा वा छात्रवृत्तिको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । खेल, कला, सँस्कृति, मनोरञ्जन लगायतका क्षेत्रमा आवश्यक क्षमतावान घुम्ती शिक्षकको व्यवस्था समेत गरिने भएको छ ।

उज्यालो इस्मा र छरका छाना मुक्त घोषणा

गाउँपालिकाले “जनतालाई हाम्रो भर, विपन्नलाई सुरक्षित घर” अभियान अन्तरगत कोभिड–१९ को संक्रमणका कारण घोषणा गर्न नसकिएको खरे छाना मुक्त गाउँपालिका र उज्यालो इस्मा आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्र घोषणा गर्ने, आगामी २ बर्षभित्रमा पालिकाको केन्द्रमा कालोपत्रे सडक पु¥याइने, ५ बर्षभित्र सबै वडाहरुमा कालोपत्रे सडकको पहुँच विस्तार गर्ने योजना अगाडी बढाएको छ । साथै गाउँपालिकाको गौरवको आयोजनाको रुपमा वातावरणमैत्री चक्रपथ निर्माण कार्यको ट्रयाक खोल्ने कार्य यसै वर्ष सम्पन्न गर्ने र अन्य सडकको नयाँ ट्रयाक खोल्न निरुत्साहन गर्ने, भइरहेका सडकहरुको मर्मत सम्भार र स्तरोन्नति गर्न मानव श्रमको उपयोग गरी रोजगारी सिर्जना गर्ने नीति लिने भएको छ । गाउँपालिका उपप्रमुख बिमला खत्रीले सभामा पेश गरेको आर्थिक तथा बिनियोजन बिध्येक आउने असार १५ सम्म छलफल गरेपछि १७ गते गाउँ सभा मार्फत पारित गर्ने योजना रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।

SHARE