
सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ असार : पहिले पहिले पठनपाठन चौतारी, प्रतिक्षालय तथा ठाँटी र पौवामा हुन्थ्यो भन्दा अहिलेको पुस्तालाई अचम्म लाग्न सक्छ ।
विगतको त्यो कुरा अहिले भने पाल्पाको रामपुरमा चरितार्थ भएको छ । यहाँका विद्यार्थीलाई पढाईमा ध्यान केन्द्रित गराउन गाउँका चौतारी, प्रतिक्षालयमा पढाउन थालिएको छ ।

भौतिक दुरी कायम गरी मास्क स्यानीटाइजरको प्रयोग, साबुनपानीले हात धुन लगाएर टोल टोलमा रहेका चौतारी, प्रतिक्षालय, खुल्ला चौरमा विद्यार्थीलाई राखेर शैक्षिक पठनपाठन कार्य सुरु गरिएको हो ।
सानो सानो समुह बनाएर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सजगता अपनाउँदै पढाउन थालिएको छ । यसले शैक्षिक कार्यमा विद्यार्थीलाई आकर्षित बनाएको पाइएको छ । रामपुर नगरपालिकाका सामुदायिक सँगै केही संस्थागत विद्यालयले पनि टोल टोलमा विद्यार्थी बोलाएर पढाउने गरेका छन् ।
विद्यार्थीले विद्यालय बन्द रहेपछि घरमा खेलेर, मोबाईल हेरेर मात्र समय बिताउन थालेपछि उनीहरुलाई पढाईमा ध्यानाकर्षण गराउन शिक्षकलाई टोल टोलमा पठाएर सिकाई सहजिकरण कार्य सुरु गरेको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार विद्यालयले २२ समुह विभाजन गरेको छ भने एक समुहमा तीन जना शिक्षक परिचालन गरी १५ देखि २० जना विद्यार्थीलाई सहभागी गराइएको छ ।

“साना साना कक्षामा पढ्ने विद्यार्थीहरु असाध्यै खुशी भएर लेख्ने र पढ्ने गरिरहेका छन्, यसरी पढाउन थालिएपछि विद्यार्थीले घरमा बसेर गृहकार्य गर्ने, पढ्ने लेख्ने गरेको पाइयो” प्रअ लम्सालले भने ।
उच्च शिक्षातर्फ कक्षा १२ मा शिक्षा र व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या धेरै हुदा शिक्षण कार्य कसरी गर्ने भन्ने विषयमा भने विद्यालयले छलफल गरिरहेको छ । विज्ञापन सङ्कायका विद्यार्थीलाई अनलाइन मार्फत पढाउन थालिएको छ ।
टोल टोलमा राखेर शिक्षण गर्दा कोरोनाको जोखिमको साथमा व्यवस्थापनको चुनौती रहेको रामतुलसी माविकै शिक्षक भरत घिमिरे बताउछन् । उनका अनुसार विहान ६.०० वजेदेखि ९.०० वजे समय तालिका बनाएर पढाउने गरिएको छ ।
जसमा विहान ६.०० वजेदेखि ७.०० सम्म कक्षा ९ र १०, ७ देखि ८.०० वजेसम्म कक्षा नर्सरी देखि ५ र ८ देखि ९.०० वजेसम्म कक्षा ६,७ र ८ का विद्यार्थीलाई विभाजन गरी पठनपाठनको कार्य भइरहेको छ ।
विद्यालय बन्द रहेको समयमा पढ्न पाउँदा पढाईमा चासो बढेको र घरमै बसेर पनि पढ्ने कार्यमा ध्यान गएको रामतुलसी मावि कक्षा ८ मा पढ्ने छात्रा श्वेता रेग्मी बताउछिन् ।
रामपुर नगरपालिका संगै निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयले टोल टोलमा पठनपाठन कार्य सञ्चालन गरेका छन् ।
निस्दी गाउँपालिकाले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरिएकाले टोल टोलमा शिक्षक परिचालन गरेर समूह समूहमा विद्यार्थीलाई पढाउन थालेको स्रोतव्यक्ति नरबहादुर थापा बताउछन् । रैनादेवी छहरा गाउँपालिकाले खुल्ला चौरमा विद्यार्थीलाई राखेर पढाउने गरेको छ ।
वैकल्पिक शिक्षा सहजिकरण निर्देशिका २०७७ अनुसार पाँच श्रेणीमा विभाजन गरेर शिक्षा संचालन गर्न भनिएको छ ।
रेडियो टेलिभिजन आधुनिक प्रबिधिबाट वन्चित भएका, यी सेवा सुबिधाको पहुँचमा रहेका, कम्प्युटर भएको तर इन्टरनेट जडान नभएको, एफ एम् रेडियोको मात्र पहुँच पुगेको र रेडियो टेलिभिजनको मात्र पहुँच यी प्रबिधिको पहुँचमा भएका वा नभएका विद्यार्थीलाई वैकल्पिक रुपमा सिकाई सहजिकरण गराउन शिक्षा विभागले अनुरोध गरेपछि भौतिक दुरी कायम गर्दै विद्यार्थीलाई पढाईमा ध्यानाकर्षण गर्न थालिएको छ ।

कोरोनाको जोखिम दैनिक बढ्दै गएको र विद्यालयलाई क्वारेन्टिन बनाइएको हुदा फोनमार्फत वा सामाजिक संजालबाट विद्यार्थी संग सम्पर्कमा रहेर पढ्ने कार्यमा उत्प्रेरणा दिन सबै विद्यालयका शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षा समन्वय तथा ईकाइ प्रमुख रमेशराज पौडेल बताउँछन् ।
“केही पालिकामा टोलका चौतारी, चौर, प्रतिक्षालयमा राखेर सुरक्षित तरिकाले पढाउन थालिएको खबर आएको छ, बेला बेलामा विद्यार्थीको घर घरमा पुगेर विद्यार्थीले पढे नपढेको शिक्षकबाट निगरानी गर्ने काम भइरहेको छ” उनले भने ।
पाल्पामा चार सय ९३ सामुदायिक विद्यालयमध्ये एक सय ६५ विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ । जसमा तानसेन नगरपालिकामा २०, रामपुर नगरपालिकामा ३० छन् भने गाउँपालिकातर्फ पूर्वखोलामा १४, रम्भामा सात, निस्दीमा १२, माथागढीमा १४, तिनाउमा छ, बगनासकालीमा १५, रिब्दिकोटमा ३२ र रैनादेवी छहरामा १५ विद्यालय छन् ।








