लिचीको उत्पादन घटेपछि पाल्पाका कृषक चिन्तामा

0
946

सुशीला रेग्मी

रामपुर, २ असार (पाल्पा) :  रम्भा गाउँपालिका १ हुँगीका कृषक स्वतन्त्रदेव पन्तले लिची बिक्रि गरेर गतवर्ष रु चार लाख आम्दानी गर्ने गर्थेे । लिची व्यवसायबाटै आफ्नो पहिचान बनाउका पन्त यो वर्ष भने उत्पादन घटेपछि चिन्तामा छन् ।

उनको घरमा साना ठुला गरी करिव दुई सय बोट लिची छन् । गतवर्ष छ हजार किलो लिची बिक्रि गरेका पन्तले यो वर्ष उत्पादन घटेपछि मुस्किलले दुई हजार किलो सम्म उत्पादन भएको बताए ।

“लिचीको फल कम लागेपछि व्यवसायीलाई समस्या परेको छ, अघिल्ला वर्षमा लिची टिप्न भ्याईनभ्याई हुन्थ्यो, अहिले उत्पादन घटेपछि आयस्रोत नै गुम्यो” उनले भने ।

व्यवसायिक रुपमा दश वर्ष अघि देखि खेती गर्नुभएका पन्तले उत्पादनमा ठुलो अनुपातले कमी आएको अनुभव अहिले पहिलो पटक मात्र भोगेको बताए । यसवर्ष करिव रु एक लाख पनि कमाई लिन नसक्ने अवस्था रहेको उनको भनाई छ ।

सोही ठाउँकै अर्का व्यवसायी युवराज पन्तले घरमा ठुला १५ र अन्य साना गरी करिव २५ बोट लिची लगाउनुभएको छ । वर्षनी रु ६० हजार देखि ८० हजार सम्म आम्दानी गर्ने उनले यसवर्ष अघिल्लो वर्षको तुलनामा आधा भन्दा कम फलेकाले लिचीको आयस्रोत नै घटेको बताए ।

“बोटमा लिची बिक्रि गर्न तयार भएपनि बजार लैजान पाइएको छैन, यसवर्ष कम उत्पादन त्यसमा पनि बन्दाबन्दीका कारण बजार पु¥याउनै समस्या परेको छ” । बजार तथा सवारी साधन बन्द रहेकाले मुल्य पनि गतवर्षको तुलनामा कम परेको उनीगुनासो गर्छन् ।

लिची पकेट क्षेत्र रहेको रम्भा गाउँपालिका १ हुँगी क्षेत्रमा गतवर्ष करिव ६० टन उत्पादन भई बजारमा खपत भएको थियो भने यो वर्ष करिव १५÷२० टन मात्र उत्पादन हुने व्यवसायीको अनुमान छ ।

हुँगी क्षेत्रमा मात्र झण्डै चार सय घरपरिवारले लिची लगाएका छन् । यहाँका सबैका घर घरमा कम्तिमा एक बोट भएपनि लिची रहेका छन् ।

रामपुर नगरपालिका क्षेत्रका कृषक पनि लिची समयमा नै बजारमा बिक्रि गर्न नपाउँदा समयामा परेका छन् । लिची बोटमा पाकेर भुईमा झर्न थालिसक्यो तर बजारमा बिक्रि गर्न नपाउँदा रामपुर गेझाका कृषक पिताम्बर ओेस्ती चिन्तामा छन् ।

सात वर्ष अघिदेखि व्यवसायिक खेती गरेका ओस्तीले लिची बिक्रि गरेर गतवर्ष करिव रु ४० हजार बराबरको आम्दानी लिनुभएकोमा यसवर्ष भने २० हजार जति आम्दानी हुने अनुमान गर्छन । ओस्तीको घरमा हाल उत्पादनशिल ठुला तीन र साना १८ बोट लिची छन् ।

गतवर्ष प्रतिकिलो रु ६५ देखि ८० सम्ममा लिची बिक्रि गरेका कृषकले यसवर्ष भने रु ५०÷५५ मा बिक्रि गर्न बाध्य छन् । नियमित रुपमा गाउँमा नै पुगेर बोट नै खरिद गर्ने व्यापारीहरु पनि यो वर्ष बन्दाबन्दीले जान नपाउँदा उत्पादित लिची बिक्रि गर्न समस्या परेको हो ।

केही व्यापारी खरिद गर्न गाउँमा पुगेपनि थोरै थोरै मात्रामा मात्र खरिद गरेर लैजाने गरेकाले उत्पादन भएका लिची बजार पु¥याउन सकस छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले गतवर्षको तुलनामा करिव ७० प्रतिशतले उत्पादन घटेको बताए । कृषकले पुराना बगैचाको व्यवस्थापन नगर्नु, उन्नत प्रबिधिका कृषि क्रियाकलापको अभाव, लिचीमा लाग्ने सुलसुले किराको बिगबिगी, रासायनिक तथा प्राङ्गारीक मलखाद व्यवस्थापनमा कमी भएकाले उत्पादन घटेको उनले जानकारी दिए ।

जिल्लाका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकाका केही क्षेत्र लिची उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा दुई सय ९२ हेक्टर क्षेत्रफलमध्ये उत्पादनशिल एक सय ५१ हेक्टर क्षेत्रफलमा लिची खेती गरिन्छ । मलजल र सिंचाईको मात्रा मिलेमा एक बोटमा पाँच सय किलो सम्म उत्पादन लिन सकिन्छ ।

साविक जिल्ला कृषि विकास कार्यालयले अनुदानमा लिचीको विरुवा वितरण गरेपछि व्यवसायिक रुपमा लिची खेती गर्ने कृषकको जिल्लामा आकर्षण बढ्दो छ । जिल्लास्थित विभिन्न स्थानीय तहले पनि खाली रहेका जमिनबाट आयस्रोत लिने गरी अनुदानमा लिचीका विरुवा उपलब्ध गराएपछि विरुवा खरिद गर्न कृषकलाई सजिलो भएको छ ।

SHARE