बाँझो जमिनमा अलैँचीले दियो मनग्य आम्दानी

0
713

सुशीला रेग्मी

रामपुर(पाल्पा), ३१ जेठ : रुख विरुवाले झाङ्गिएको पाखोबारीमा खेती गरेर आयस्रोत होला भन्ने निस्दी खाँदरका तुलबहादुर बयम्बुले कहिल्यै सोचेनन् । न अनाज न त काठ दाउराबाट आम्दानी लिन नसक्ने भएपछि जग्गा त्यसै खेर गएको थियो ।

अहिले भने हिजो प्रयोगमा नआएका पाखो जमिनमा अलैँची भरिएर आयस्रोत भित्रिदाउनी दंग छन् । उनले पाखो पन्ध्र रोपनी जग्गामा अलैँची लगाएका छन् । बिगत तीन वर्ष यता उत्पादन लिन सुरु गरिसके ।

उत्पादनको पहिलो वर्ष पन्ध्र हजार, दोस्रो वर्ष एक लाख ५० हजारको अलैँची बिक्रि गर्न सफल भए भने तेस्रो वर्ष (गतवर्ष) मौसम उपयुक्त नभएकाले उत्पादन कम हुदा रु ५० हजारको आम्दानी भएको छ । यो वर्ष करिव दुई क्वीन्टल उत्पादन हुने उनको अनुमान छ ।

“खेती गर्ने तरिका जान्यो भने पनि खेर गएका पाखो जग्गा पनि पैसा फल्ने हुदो रहेछ, वर्षेनी पाँच सय देखि छ सय सम्म विरुवा थप गर्दै गइरहेको छु” बयम्बुले भने ।

छ वर्ष अघि इलाम भ्रमणमा गएका बेला एक वटा विरुवा ल्याएर खेती सुरु गर्नुभएका बयम्बु नै अलैँचीको खेती सुरु गर्ने पहिलो व्यवसायी हुन् ।

यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यसभन्दा अगाडि कसैलाई पनि जानकारी थिएन । बयम्बुले लगाएको अलँैचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको छ ।

गाउँका करिव एक सय ५० रोपनी क्षेत्रफल अलैँचीले भरिदा गाउँको वातावरण नै हरियालीमय बनेको अलैँची पकेट क्षेत्र बिस्तार कार्यक्रमका अध्यक्ष मानुराज खाम्चा बताउछन् ।

गाउँपालिकाको सहयोगमा यहाँका ७५ घरपरिवारले व्यावसायिक रुपमा खेती गर्न थालेका छन् । आठ रोपनीमा अलैँची खेती गर्नुभएका खाँम्चाले अझै सात रोपनी जग्गामा बिस्तार गर्ने योजना रहेको उनले बताए ।

निस्दी गाउँपालिकाले अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा रु एक लाख ८७ हजार ५०० सहयोग गरेको छ । जसबाट अलैँचीको विरुवा, प्लाष्ट्रिक स्पेयर, विषादी, अलैँची सुकाउने भट्टी, फल काट्ने कैची खरिदमा खर्च गरिने भएको छ ।

पन्ध्र हजार अलैँचीका विरुवा खरिद गरी कृषकलाई वितरण गर्ने कार्यक्रम रहेपनि बन्दाबन्दीले लमजुङको भोटेओढारबाट विरुवा खरिद गरेर ल्याउन समस्या परेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउछन् ।

उनी भन्नुछन् “एक वडा एक पकेट क्षेत्र कार्यक्रम अन्र्तगत यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालिएको छ, खेती गर्न छाडिएका प्रशस्त पाखोबारी रहेको जग्गामा कृषकले अहिले अलैँची लगाएर हरियाली बनाएका छन्” ।

यहाँ उत्पादन भएको अलैँची कृषकले प्रतिकिलो रु ६०० मुल्यमा बिक्रि गरेका छन् । अलैँची खेती सुरुवाती चरणमा भएकाले गएको भदौ असोजमा यहाँका कृषकले एक क्वीन्टल ५० किलो उत्पादन गरी बजारमा बिक्रि गर्न सफल भएका छन् ।

गाउँपालिकाले दुई सय रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ । यहाँ उत्पादन भएको अलैँची नवलपरासीको अरुणखोला बजारमा खपत भएको छ ।

जिल्लामा हाल अलैँचीको झिरुवासको खाँदर क्षेत्रमा मात्र व्यवसायिक खेती गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

“खाँदर क्षेत्रमा ज्ञानकेन्द्रले अलैँची प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेपनि गाउँपालिका आफैले मात्र लगानी गर्ने भएपछि समन्वय गरेर कृषि ज्ञानकेन्द्रले सहयोग गर्न नपर्ने भएको हो, खाँदर क्षेत्र बाहेक जिल्लाका अन्यत्र क्षेत्रमा व्यावसायिक रुपमा खेती गरेको पाइएको छैन” प्रमुख अर्यालले भनेो ।

अलैँचीलाई व्यावसायिक खेती गर्ने गरी कृषकबाट कार्यालयमा माग आएको खण्डमा साझेदारीका कार्यक्रम संचालन गरिने प्रमुख अर्यालले बताए । अलैँचीको बजार मुल्य राम्रो रहेपनि खेती गर्ने कृषक भने जिल्लामा कमै मात्रामा छन् ।

अलँैचीको बजार अन्तर्राष्ट्रिय भएकाले भारत हँुदै अरब मुलुकमा निर्यात हुने भएकाले मूल्यमा उतारचढाव आइरहेको हुन्छ । बिरुवा लगाएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ ।

दुई दशकभन्दा अगाडि जिल्लाको साविक कसेनी गाउँ विकास समिति वलेसका कृषकले अलँैची खेतीबाट राम्रै आम्दानी गरेका थिए । एकाएक बोटमा विभिन्न रोगहरु लाग्न थालेपछि पूर्ण रुपमा लोप भइसकेको थियो ।

त्यस समयमा गाउँका धेरै कृषकको आम्दानीको स्रोत नै अलँैची खेती थियो । एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्ने गर्थे । सम्बन्धित निकायबाट बेवास्ताका कारण अलँैचीले भरिएका जग्गा वनमाराले भरिन पुगेका छन् ।

जिल्लाको ठिमुरे, कुसुमखोला, रुप्से लगायतका १० भन्दा बढी साबिक गाविसको उत्तर फर्किएको, ओसेप भएको जमिनमा खेती गर्न सकिने भएपनि त्यसतर्फ ध्यान जान नसक्दा लोप हुन पुगेको हो ।

तर अहिले निस्दी गाउँपालिकाले पकेट क्षेत्र विस्तार कार्यक्रम अन्र्तगत खाँदर क्षेत्रलाई अलैँचीको व्यावसायिक रुपमा खेती गर्न सहयोग गरेपछि कृषकको आकर्षण बढ्दो छ ।

अलैँची खेती गर्न समुद्री सतहबाट सात सय मिटरदेखि दुई हजार दुई सय मिटरसम्मको उचाइ, आठदेखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक एक हजार पाँच सय देखि पाँच हजार मिलीमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ । नेपालमा पूर्वी पहाडबाट सुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ ।

अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँस लगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भएपनि सजिलै बिक्री हुने कारणले कृषकले व्यवसायिक खेती गरेर मनग्य आम्दानी लिन सक्नेछन् ।

अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ । मध्यपहाडी, धेरै गर्मी नहुने, कागती, सुन्तला उत्पादन हुने क्षेत्रमा अलैँचीको व्यावसायिक खेती राम्रो मानिन्छ ।

अलैँचीको प्रयोग

अलैँची एउटा मसला बाली भएकाले प्राचीन समयदेखि नै यसलाई एक महत्वपूर्ण र महँगो मसलाको रूपमा प्रयोग गरिँदै आएको छ । यसको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ । यसको तेल मिठाइ, केक, पेस्ट्री आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ । बियाँ पानसँग पान मसालाको रुपमा खाइन्छ ।

आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनीपलक सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ । अरब देशहरुमा चिया र कफी बनाउन तथा युरोपियन देशहरुमा उच्चकोटीको मदिरा तयार गर्न टिन्चर र कफी बनाउन अलैँचीको प्रयोग गरिन्छ ।

SHARE