पाल्पामा बिकास निर्माणका काम धमाधम

0
476

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ जेठ  : महामारीका रुपमा विश्वव्यापी फैलिएको कोरना भाइरस(कोभिड–१९) को सङ्क्रमण बढ्न नदिन जारी बन्दाबन्दीले बीचमै पाल्पामा रोकिएका तथा सुरु हुन बाँकी विकास निर्माणका योजनाका काम यहाँका स्थानीय तहले अघि बढाएका छन् ।

बन्दाबन्दीको समयका बाबजुद सामाजिक दूरी कायम लगायतका आधारभुत आवश्यकतालाई पालना गर्दै कामहरू अघि बढाइएको हो ।

स्थानीय स्तरका जनशक्ति परिचालन गरी साना तथा ठूला ठूला विकास निर्माणका योजनाका काम तदारुकताका साथ सुचारु गरिएको स्थानीय तहले जनाएका छन् । पुल पुलेसा, सडक निर्माण, मर्मत, स्तरोन्नती, खानेपानी, सामूदायिक भवन, कुलो निर्माण लगायतका विभिन्न योजनाका काम सजगता अपनाउँदै सुरुवात गरिएको हो ।

रामपुर नगरपालिकाले वडा तथा नगरस्तरीय योजनाका काम अगाडी बढाएको छ । नगरपालिकाले बन्दाबन्दीको समय लम्बिदै जादा सामाजिक दूरी कायम गरी स्थानीय स्तरका मजदुरलाई परिचालन गरेर धमाधम काम गरिरहेको छ ।

नगरपालिकलो रु २५ लाखको लागतमा तरकारी ट्रष्ट निर्माण, वडा नं २, ४, ६, ७ र ९ मा स्वास्थ्य केन्द्र भवन निर्माणको काम अगाडी बढाएको जनाएको छ ।

रु एक लाख सम्मका योजना वडा तहबाट सम्झौता गर्ने व्यवस्था मिलाइएको छ भने रु एक लाख भन्दा माथिका योजना नगरपालिका कार्यालयमा सम्झौता गर्नुपर्ने प्रावधान छ ।

बन्दाबन्दीको समय लम्बिदै जादा गाउँ तथा नगरका विभिन्न विकास निर्माणका काम ठप्प हुदा विकासको गति अगाडी बढ्न नसक्दा धेरै योजना अलपत्र अवस्थामा छन् । विश्वको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै सजकताका साथ सामाजिक दूरी कायम गरेर स्थानीय कामदार खटाएर विकास निर्माणका आयोजना सुरु गर्न थालेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

“बाहिरबाट आएका मजदुर सबै आ आफ्नो क्षेत्रमा गएका छन्, स्थानीय स्तरकै मजदुर व्यवस्थापन गरी बन्दाबन्दीका बाबजुद पनि टाढा टाढा बसेर भएपनि विकास निर्माणका कामहरु गर्न लगाइएको छ, समय छोटो भएको हुदा तीव्र गतिमा काम अगाडी बढाइएको छ” – नगर प्रमुख थापाले भने ।

उनका अनुसार वडा तथा नगरमा सम्झौता भएका योजनाको काम सुरु भइसकेको छ भने टेण्डर आह्वान भएका ठूला ठूला योजना पनि सम्झौता गर्ने क्रममा रहेकाले क्रमिक रुपमा काम अगाडी बढ्नेछ ।

रम्भा गाउँपालिकाले साना ठुला सबैजसो योजनाका काम अगाडी बढाएको छ । गाउँपालिकाले ५० प्रतिशत योजनाको फरफारकको काम सम्पन्न गरिसकेको छ भने ५० प्रतिशत योजनाका कामहरु सुरु गर्दैछ । हालसालै बन्दाबन्दीको बाबजुद पनि ठुला भनिएका दुई सडक निर्माण तथा स्तरोन्नतीको काम धमाधम गरिरहेको छ ।

ओमभन्ज्याङ्ग सुरुमडाँडा पिपर्दी म¥याङ्ग बैरादी पन्टार मोटरबाटो ट्रयाक खोल्ने तथा स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै लसुने ओमभन्ज्याङ्ग सडक स्तरोन्नती कार्य पनि अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार यी दुबै आयोजना रु एक करोड लागतका हुन् ।

“यी दुई वटा सडक निर्माणका योजना बन्दाबन्दीको समय अगाबै सुरु गरिएका आयोजना हुन्, बीचमा कोरनाको कहरले बन्दाबन्दी सुरु भएपछि रोकिन पुग्यो, अहिले ठाउँ हेरिकन चार÷पाँच जना कामदार मिलाएर पुनः बन्द हुन पुगेको आयोजना सुचारु गरेका छौँ” – अध्यक्ष भण्डारीले भने ।

गाउँपालिकामा अहिले योजना संचालनका लागि सम्झौता गर्ने र फरफारक गर्ने कार्य भइरहेको छ । कोरना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको पालना गर्दै वडामा फाइल बुझाउने र त्यहाँ वडा कार्यालयले फाइल हेरेपछि वडा अध्यक्षको सिफारिसमा गाउँपालिका कार्यालयको लेखा शाखामा पेश गरिने भएको छ ।
लेखा शाखाबाट एक÷दुई जना व्यक्ति मात्र बोलाएर चेक काटेर दिने काम भइरहेको छ । यहाँ एक हप्ता अघिबाट पूर्वाधार निर्माण लगायत विभिन्न योजनाका काम सुरु भएका हुन् ।

बगनासकाली गाउँपालिकाले एक हप्ता अघिबाट योजनाका काम सुचारु गरेको छ । भौतिक पूर्वाधारका काम, कृषकलाई धानको वीउ वितरण लगायतका काम सुरु गर्न थालेको छ ।
गाउँपालिकामा करिव ६० देखि ६५ प्रतिशत साना ठुला योजनाका काम भने सम्पन्न भइसकेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । विपद व्यवस्थापन समिति पाल्पाले बन्दाबन्दीको समयमा सामाजिक दूरी कायम गरी स्थानीय स्तरका मजदुर व्यवस्थापन गरेर काम गर्न निर्देशन दिए बमोजिम नै विकास निर्माण योजनाका काम सुरु गरेको अध्यक्ष बस्यालको भनाई छ ।

त्यसैगरी माथागढी गाउँपालिकाले कोरनाको कहरका बाबजुद पनि सजकता अपनाउँदै खानेपानी, पुल पुलेसा, मोटरबाटो निर्माण तथा स्तरोन्नतीको कामलाई जोड दिएको छ ।
यहाँ अहिले सिंचाईका लागि कुलो निर्माण, सामुदायिक भवन निर्माण लगायतका काम भइरहेको छ । पन्ध्र दिन अघिबाट वडा तथा गाउँपालिका स्तरीय योजनाका कामहरु सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

बन्दाबन्दी समय भएका कारण बाहिरबाट समयमा निर्माण सामग्री ल्याउन नसक्दा भने काममा कठिनाई भएको उनले बताए ।

“विपद व्यवस्थापन समिति पाल्पाले निर्माण कार्य बन्द रहेका र निर्माण सुरु नभएका योजना सुचारु गर्न निर्देशन दिएपछि वडा तथा गाउँ स्तरिय योजनाका काम सुरु गरियो, निर्माणको क्रममा सामग्री अभाव हुदा दु्रत गतिमा काम गर्न भने सकिएको छैन” – उनले भने । काम नरोक्नका लागि थोरै थोरै मजदुर परिचालन गरेर भएपनि योजनाका कामहरु संचालन भइरहेको उनको भनाई छ ।

कोरनाको कहरको विषम परिस्थिती सिर्जना नभएको भए अधिकांश स्थानीय तहमा यतिबेला विकास निर्माणका आयोजनाका कामहरु फस्र्यौट गर्ने कार्य हुन्थ्यो । स्थानीय तहले जोखिम परिस्थितीका बाबजुद पनि पूर्वाधार निर्माणका काम सञ्चालन गरिरहेका छन् ।

विकास निर्माणका साना ठूला विभिन्न आयोजनामा तराई लगायत विभिन्न क्षेत्रका मजदुर परिचालित हुन्थे । कोरनाको कहरले विभिन्न स्थानीय तहले आ आफ्नै क्षेत्रमा मजदुरलाई फिर्ता पठाएपछि भने अहिले जनशक्तिको अभाव परेको छ ।

स्थानीय तहका जनशक्तिले मात्र छोटो समयमा धेरै आयोजनाका काम सम्पन्न गर्न अप्ठ्यारो पर्ने सम्बन्धित स्थानीय तहका प्रमुखको गुनासो छ । सञ्चालन हुन बाँकी योजना र कोरनाको कहरले बीचमै अलपत्र अवस्थामा रहेका योजना सुचारु गर्न विपद व्यवस्थापन समितिले अनुरोध गरेपछि जिल्लाका सबैजसो स्थानीय तहमा कामहरु सुचारु भएका हुन् ।

साना ठुला योजनाका कामहरु सुरु हुन थालेपछि काम नपाएर बसेका मजदुर भने उत्साहित हुदै काममा निस्किएका छन् । एक्कासी काम बन्द हुदा बिहान साँझको गुजारा चलाउन हम्मे हम्मे परेको अवस्थामा बन्दाबन्दीको समयमा पुनः काम गर्ने वातावरण मिलेपछि केही भएपनि राहत मिलेको रामपुर नगरपालिका ५ बस्ने जमुना नेपाली बताउछिन् ।

“बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म निरन्तर काम गर्ने हो, दिनभरी काम गरेर साँझ फर्कने बेला रु पाँच सय ज्याला पाइन्छ, त्यसैबाट चामल, नुन, तेल किनेर छोराछोरी पाल्ने हामी जस्ता मजदुरलाई लगातार काम गर्न नपाउँदा बन्दाबन्दीको समयमा हातमुख जोड्नै साह«ै अप्ठ्यारो प¥यो” उनको अनुभब छ ।

सरकारले बन्दाबन्दीको समयमा हातमुख जोर्न समस्यामा परेका नागरिकलाई राहत वितरण गरेपनि ठुलो परिवार भएकालाई लामो समय सम्म राहतले परिवार धान्न नसक्ने अवस्था रहेको नेपालीको गुनासो छ ।

उहाँले राहतस्वरुप सरकारले मापदण्ड गरे अनुसार छ जना परिवारलाई पच्चीस किलो चामल साथमा दाल, खानेतेल, नुन, चना, साबुन बुझ्नुभयो । परिवार ठुलो हुदा राहत अप्रयाप्त भएकोले लामो समय सम्म दैनिक गुजारा चलाउन समस्या परेको उनको भनाई छ ।

राहतबाट पेट पाल्न भन्दा मजदुरी गरेर नै जीवन धान्न सहज भएको सोही ठाउँकै सुमित्रा थापा बताउछिन् । सरकारले मजदुरलाई राहत दिएर राम्रै गरेको छ, बन्द पनि एक दिन दुई दिन भए पो, महिना दुई महिना सम्म लगातार हुदा राहतको सट्टा काम गर्नु नै बेस रहेको थापा बताउछिन् ।

लक्षित वर्गका लागि विनियोजन गरिएका कार्यक्रमहरु भने सुचारु भएको छैन । गाउँपालिका तथा नगरपालिकाले लक्षित वर्गलाई छुट्टयाइएका वजेटहरु यस पटक भने राहत वितरणमा खर्चेको जनप्रतिनिधि बताउँछन् ।

पूर्वाधार विकासका कामहरु टाढा टाढा रहेर पनि गर्न सकिने भएको हुदा यस कार्यमा स्थानीय तहले जोड दिएका हुन् । वर्षायाम अघि नै सक्नुपर्ने विभिन्न खोला, कुला, सडकका पुल पुलेसाका कामलाई बढी महत्व दिइएको छ ।

जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । यहाँका स्थानीय सरकारले विकास निर्माण, कृषि उत्पादन तथा पर्यटन क्षेत्रको विकासमा जोड दिएका छन् । बन्दाबन्दीका कारणले पर्यटन क्षेत्रको विकासमा भने शुन्यता छाएको छ ।

कोरनाको कहरले अहिले यहाँका स्थानीय सरकारले कृषि तथा पशु उत्पादन बढाउन आगामी आर्थिक वर्षमा प्रयाप्त वजेट विनियोजन गरेर व्यवसायमा ऋण लगानी गर्ने योजना बनाएका छन् ।

SHARE