विदेशबाट फर्कने युवालाई कृषिमा लगाइदै

0
438

सुशीला रेग्मी

रामपुर (पाल्पा), ७ जेठ  : कोरनाको कहरका कारण वैदेशिक रोजगारबाट युवाहरु गाउँ फर्कने क्रम बढेपछि पाल्पाको रम्भा गाउँपालिकाले कृषि तथा पशुपालन कार्यमा लगाउने भएको छ ।

काम र दामको खोजीमा अरब र खाडी मुलुकमा पुगेका युवा कोरनाको कहरले गाउँ फर्केपछि यहीँ स्वरोजगार बनाउन अबको आर्थिक वर्षमा कृषि र पशुपालन क्षेत्रमा प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ ।

ऋण खोजेर रोजगारका निम्ति विदेश पुगेका युवा बीचमै रोजगार छाडेर फर्कन बाध्य भएपछि गाउँमै बसेर आयआर्जन गराउन सहयोग गरी कृषि र पशुपालनमा लगाइने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

“गाउँमा विदेशबाट घर फर्कने युवा बढ्न थालेका छन्, कोरनाका कहरले कतिपय गाउँ आउन पाएका छैनन्, उनीहरुलाई यहीँ व्यवसाय गराउन कृषि र पशुपालनमा लगानी गर्ने योजना बनाएका छौँ” अध्यक्ष भण्डारीले भने ।

कृषि तथा पशुपालनमा लगाइने योजना सहित गाउँपालिकाले पाँच वटै वडा वडामा पुगेर वैदेशिक रोजगारीमा रहने युवाको विवरण सङ्कलन गरेको उनले बताए । गाउँपालिका भित्र तीन हजार चार सय ३१ युवाहरु वैदेशिक रोजगारमा रहेको तथ्याङ्क छ ।

वडा नंं १ मा आठ सय ४६ जना,ंं २ मा नौ सय ४७, वडा नं ३ मा पाँच सय ८२, वडा नंं ४ मा तीन सय ७३ जना र ५ मा छ सय ८३ जना युवा वैदेशिक रोजगारमा आबद्ध छन् । गाउँपालिकाभित्र चार हजार छ सय ४८ घरधुरीका २५ हजार एक सय ९० जनसङ्ख्या रहेका छन् ।

तरकारी खेती, खाद्यान्न तथा फलफूल खेती, गाईभैसी, बंगुर, बाख्रा, कुखुरा, हाँसपालन व्यवसायमा प्रोत्सान गरी लगानी गर्ने गाउँपालिकाले जनाएको छ ।

बाँझिन पुगेका खेतीयोग्य भुमीलाई प्रयोगमा ल्याई कृषि र पशु उत्पादन गरी यसैबाट गाउँवासीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले यस क्षेत्रमा लगानी गर्ने भएको हो ।

कालीगण्डकी करिडोरको सडकसंग जोडिएकाले पनि यहाँ उत्पादित वस्तु बिक्रि वितरणमा समस्या नपर्ने भएको छ । यहाँ उत्पादन भएका कृषि उपज, मासुजन्य पदार्थ सदरमुकाम तानसेन, स्याङ्गजाको गल्याङ्ग, पोखरा लगायतका बजारमा खपत हुने गरेको छ ।

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

रामपुर नगरपालिकाले खाद्य सङ्कट हुन नदिन बाँझिन पुगेका खेतीयोग्य जमिनमा खेती गर्ने कृषकलाई अनुदान कार्यक्रम सुरु गरेको छ । खाद्यान्न तथा तरकारी बालीमा आत्मनिर्भर बनाउने उद्धेश्यले पहिला खेती गरेका र पछि बाँझिन पुगेका जग्गामा खेती गर्नेलाई अनुदानको कार्यक्रम ल्याइएको हो ।

हालको लागि बाँझो जग्गामा मकै खेती गर्नेलाई प्रतिरोपनी रु तीन हजार र तरकारी खेती गर्नेलाई रु पाँच हजार अनुदान उपलब्ध गराइने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

“गाउँका खेतीयोग्य जमिन अहिले बनमाराले भरिन थालेका छन्, बाहिरबाट ठुलो परिमाणमा खाद्यान्न तरकारीजन्य पदार्थ ल्याउनु परेको छ, यहीँको उत्पादनले रामपुरबासीलाई आत्मनिर्भर बनाउने र जमिन बाँझो नराख्न अनुदान कार्यक्रम ल्याएका हौँ” नगर प्रमुख थापाले भताए ।

नगरपालिका भित्र एक हजार एक सय २३ रोपनी क्षेत्रफलमा मकै र दुई सय २७ रोपनी क्षेत्रफलमा तरकारी खेतीका लागि एक सय ९७ कृषकबाट निवेदन परेको र उनीहरुलाई खेती गर्न अनुदान कार्यक्रम अगाडी बढाइएको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए ।

बाँझिएका जमिनमा खेती गर्नेलाई अनुदान दिइने भएपछि गाउँघरमा अहिले बाँझिन पुगेका जमिन खनजोत गर्ने, मकै छर्ने र तरकारी लगाउने कार्य सुरु गर्न थालिएको छ ।

कोरनाका कहरका कारण हालका लागि नगरपालिकाले छिटो उत्पादन लिन दुई वर्ष यता बाँझिन पुगेका जग्गालाई प्राथमिकता दिएको छ । अनुदान दिने भएपछि बाँझिएका करिव सात रोपनी जग्गामा मकै खेती लगाइएको पार्वती न्यौपाने बताउछिन् ।

नगरपालिकाले ल्याएको यो कार्यक्रमले खेती गर्न छाडेका जमिन सदुपयोगमा आउने र कृषि उत्पादनमा बृद्धि हुने हुदा यहाँका नागरिकको आयस्तर बढ्ने रामपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

नगरपालिकाको माथिल्लो भागमा मकै उत्पादन हुने प्रशस्त जग्गा रहेपनि बाँदरको समस्याले भने खेती लगाउनै छाडिएको छ । गत पुष १ गतेबाट बाहिरबाट आयातित कृषिजन्य पदार्थ रोक्न युवा लक्षित अनुदान कार्यक्रम पनि संचालनमा ल्याइएको छ ।

यसैगरी रैनादेवी छहरा गाउँपालिकाले पनि कृषि तथा पशुपालन उत्पादन लगायत स्वरोजगारमुलक कार्यक्रम ल्याउने योजना बनाएको छ ।

कोरना सङ्क्रमणका कारण विदेश पलायन भएका युवा गाउँ फर्कने क्रम बढ्ने अनुमानका साथ यहीँ रोजगार दिलाउने खालका कृषि, पशुपालन जस्ता कार्यक्रम ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।

जिल्लाका अन्य स्थानीय तहले पनि कोरनाको कहरका कारणले कृषि, पशु उत्पादन क्षेत्रमा प्राथमिकता दिने जनाएका छन् । गाउँमा बाँझिन पुगेका जग्गामा खेती गरी हराभरा बनाएर आयस्तर उकास्ने कार्यमा पालिकाकाहरुले जोड दिन थालेका छन् ।

SHARE