सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ चैत : सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले पच्चीस स्थानीय तहलाई राहत सहयोग गर्ने भएको छ ।
संस्थाको कार्य क्षेत्र रहेको पाल्पा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका स्थानीय तहको राहत कोषमा रकम सहयोग गर्ने संस्थाले जनाएको छ ।
सोमबार बसेको संस्थाको आपतकालिन बैठकले पच्चीस स्थानीय तहलाई रु दश÷दश हजारका दरले राहत रकम सहयोग गर्ने निर्णय गरेको कार्यकारी निर्देशक शालिकराम पाण्डेयले बताउनुभयो ।
“विपदका समयमा स्थानीय निकायले गरेको राहत वितरण कार्यमा ऐक्यबद्धता जनाउँदै कार्यक्षेत्रमा रहेका पालिकाहरुलाई सहयोग गर्न लागेका हौँ” पाण्डेयले भन्नुभयो ।
राहतको सुचिमा पाल्पा जिल्लाका रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ, बगनासकाली, रम्भा, माथागढी, पूर्वखोला, निस्दी गाउँपालिका रहेका छन् ।
पश्चिम नवलपरासीको सुनवल, रामग्राम र बर्दघाट नगरपालिका, पाल्हीनन्दन, सरावल, सुस्ता र प्रतापपुर गाउँपालिका, नवलपरासी पूर्वको मध्यविन्दु, कावासोती, देवचुली र गैंडाकोट नगरपालिका, बिनयीत्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकालाई राहत रकम प्रदान गरिने भएको छ ।
कोरना भाइरस (कोभिड —१९) को न्युनिकरण गर्न जारी लकडाउनका समयमा राहत वितरण अभियानमा स्थानीय तह संग समन्वय गरी सहयोग गर्ने पनि संस्थाले जनाएको छ । यस संस्थाले बाल अधिकारको वकालत, सचेतना संगै शिक्षा तथा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।