सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ चैत : कोरना भाइरसको महामारी जोखिम न्युनिकरण गर्न अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई पाल्पाको पूर्वखोला गाउँपालिकाले जीवन बिमा गरिदिने भएको छ ।
जोखिम परिस्थितीमा पनि नागरिकको सेवामा काम गर्ने स्वास्थ्यकर्मीलाई रु दश लाख बराबरको जीवन बिमा गरिदिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । जीवन बिमा बाहेक रु दश हजार प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ ।
कोरना भाइरस सङ्क्रमण फैलिन नदिन गाउँपालिकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । विभिन्न ठाउँ ठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी सेवा दिइएको छ भने सिमा नाकाको सुरक्षालाई व्यवस्थित पारिएको छ ।
भारत लगायत विभिन्न मुलुकबाट गाउँ फर्केका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडा नं १ स्थित सिलुवाको जनमार्ग माविमा तीस शैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको छ ।
यहाँ २१ जना नागरिकलाई राखिएको छ भने उनीहरुका लागि खाना, बास, खानेपानी, ईन्टरनेट तथा टिभीको सुबिधा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।
“क्वारेन्टाइन कक्षमा रहेका सबै नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको छ, बेला बेलामा स्वास्थ्य परिक्षण गर्ने काम गरिरहेका छौँ” उहाँले भन्नुभयो ।
गाउँपालिकाका प्रत्येक वडा—वडामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ । हालसालै भारत लगायत विभिन्न मुलुकबाट एक सय ९८ जना नागरिक गाउँ भित्रिएका छन् । विभिन्न सिमा नाकाहरु बन्द गरिएको छ भने सवारी साधन ठप्प छन् ।