पिपिई नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर

0
501

हुमाकान्त पोखरेल
गुल्मी १५,२०७६ गुल्मी  : कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ । प्रत्येक स्वास्थ्यकर्मीलाई एक÷एक वटाका दरले आवश्यक पर्ने पिपिई नहुँदा स्वास्थ्यकर्मीलाई मनोवैज्ञानिक असर पुगेको हो । रेसुङ्गा नगरपालिकाको मातहतमा ३० जना स्वास्थ्यकर्मी छन् । तर हालसम्म एकसेट पनि पिपिई छैन । सदरमुकाम समेत रहेको रेसुङ्गा नगरपालिका कोरोनाको जोखिममा छ ।

महेन्द्र नमुना माविमा १६ शैयाको क्वारेन्टाइन कक्ष छ । भने उपल्लो तम्घासमा २० शैयाको आइशुलेशन बन्दैछ । राज्यले आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मीलाई समेत काममा जागँर चलेको छैन । ‘पिपिई नहुनु भनेको हतियारबिना युद्धमा जानुजस्तै हो ।’ रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भने, ‘हामीजस्ता धेरै स्वास्थ्यकर्मी जोखिममा रहेका छौ ।’ त्यसका साथै उनले पिपिइका सँगसँगै माक्स र सेनेटाइजरको समेत अभाव भएको बताए । ‘सुरक्षित खालका माक्स छैनन, भएका पनि धेरै महङ्गो पर्न थालेको छ ।’ अर्यालले भने, ‘जति रकम तिरेपनि माक्ससम्म पर्याप्त हुन सकेको छैन ।’
मालिका गाउँपालिकामा १५÷१५ शैयाका आइसुलेशन र क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । हालसम्म कुल ३९ जना स्वास्थ्यकर्मी छन् । तर ५० सेट पिपिई माग गरिएकोमा जम्मा आठ सेट मात्र उपलब्ध छ । त्यसैमाथि मालिका गाउँपालिकामा ज्वरो नाप्ने आधुनिक मेसिन समेत छैन । जसले गर्दा स्वास्थ्यकर्मीहरुलाई नै कोरोनाको जोखिम बढ्दै गएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले बताए । ‘निरन्तर कोरोनाविद्धको लडाइमा छौं, तर पर्याप्त सामग्री समस्या परेको छ ।’ उनले भने । अहिले जिल्लाका धेरै स्थानीय तहमा पिपिई छैन । जसले गर्दा आम नागरिक, स्वास्थ्यकर्मी र सबैमा त्रास फैलिएको छ । जिल्लाकै प्रमुख नाका रिडीमा संचालन गरिएको हेल्प डेक्स समेत व्यवस्थित नहुनु, सदरमुकाममा संचालित क्वारेन्टाइन कक्षमा सबै स्थानीय तहको सहयोग नहुनु, उपचारमा आवश्यक सामग्री नहुनु जस्ता कारणले समस्या परेको छ ।

स्वास्थ्यकर्मीबाट नागरिक तर्कन खोज्छन
रोजगारीका लागि देशका विभिन्न ठाउँ तथा देश बाहिर गएका धेरै नागरिक अहिले घर आएका छन्् । सदरमुकाम तम्घासमा कोठा भाडामा बस्नेहरु पनि अधिकाशं गाउँ गएका छन् । बजारमा भन्दा गाउँमा मानिसहरुले कम सतर्कता अपनाउने गर्दछन् । एकातर्फ मानिसहरुको चापँ बढी छ भने अर्कोतर्फ पर्याप्त स्वास्थ्य सामग्री छैनन । जसले गर्दा आम नागरिकहरु स्वास्थ्यकर्मीहरुसँग नै तर्कन खोजेको मदाने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिर्थ पन्थीले गुनासो गरे । ‘हामीबाट सतर्क रहन खोजेजस्तो व्यवहार पाइएको छ ।’ उनले भने, ‘हामी आफै पनि मनोवैज्ञानिक असरमा परेका छौ ।’

सतर्कताभन्दा त्रास बढी
‘बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाओस् ।’ यो नेपाली उखान यतिबेला सत्य सावित भएको छ । गाउँदेखि शहरसम्म आम नागरिकमा कोरोनाको विषयमा त्रास बढी छ । सामाजिक संजालको बढ्दो प्रयोग, सञ्चार माध्यमका कोरोनाविशेष समाचार र कार्यक्रम, स्थानीय तह वा स्वास्थ्य संस्थाका जनचेतनामुलक सामग्री लगायतका कारणले अहिले कोरोनाबारे घरभित्रै पनि धेरै बहस हुने गरेको छ । ‘नागरिकहरुमा आवश्यक तयारीभन्दा बढी त्रास फैलिएको छ ।’ धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित खहरे स्वास्थ्य क्लिनिकका प्रमुख अर्जुन भण्डारीले भने, ‘मानिसमा सचेतनाको अझै अभाव रहेको छ ।’

SHARE