रामघाटको नवनिर्मित लक्ष्मीनारायण मन्दिर उद्घाटन

0
653

सुशीला रेग्मी

माघ १६, पाल्पा :पाल्पाको रामपुर नगरपालिका वडा नं ५ स्थित रामघाटमा वसन्त पन्चमीको अवसर पारी नवनिर्मित लक्ष्मीनारायण मन्दिरको उद्घाटन गरिएको छ । लक्ष्मीनारायण गुठी संचालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहेका थिए ।

प्रमुख अतिथि थापाले नवनिर्मित मन्दिरको उद्घाटन गर्दै रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा समावेश गरेको र यसको पर्यटन प्रवद्र्धनमा नगरपालिकाले चासो दिइरहेको दाबी गरे । पतन्जली योग पिठ नेपालले रामघाटमा संरचना बनाएर यो क्षेत्रको धार्मिक पर्यटकिय क्षेत्रको विकासमा सहयोग गर्ने सल्लाह भएको जानकारी गराउँदै नगर प्रमुख थापाले यो क्षेत्रलाई हरिद्धार जस्तै प्रसिद्ध धार्मिक तीर्थस्थल बनाउन सकिनेमा जोड दिए ।

लक्ष्मीनारायण गुठी संचालक समिति सदस्य किर्तिनाथ श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रममा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, गुठीका सल्लाहकार तथा नेपाली कांग्रेस जिल्ला उपसभापति देवराज ढकालले यस मन्दिर रामपुरको पुरानो रहेको बताउँदै रामपुरको पर्यटकिय तथा धार्मिक क्षेत्रको विकासमा टेवा पुगेको दाबी गरे ।

नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, चन्दादाता मथुरा मल्ल, मेगकुमारी खनाल, रेग्मी परिवारको ज्येष्ठ सदस्य तिलादेवी रेग्मीले नयाँ मन्दिरमा भित्र्याइएको लक्ष्मीनारायणको मूर्तिमा पन्चदिप प्रज्ज्वलन गरी पुजा आरम्भ गरे । भजनकृतका साथमा नवनिर्मित मन्दिरमा मूर्ति भित्र्याइएको छ ।

कार्यक्रमको संचालन गुठीका सचिव मिनराज रेग्मीले गरे । विसं १८८९ मा निर्माण भएको लक्ष्मीनारायणको मन्दिर २०७२ को भुकम्पले क्षति पुगेपछि पुरातात्विक विभागको सहयोगमा पुरानै शैलिमा मन्दिर पुनः निर्माण गरिएको छ । पर्यटकिय तथा धार्मिक क्षेत्र बनाउन २७ बुँदामा आधारित रहेर दशवर्षे गुरुयोजना सहित भौतिक पूर्वाधारका कामहरु भइरहेको छ । कालीगण्डकी नजिकै रहेको लक्ष्मीनारायण मन्दिर धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा मह्त्वपूर्ण मानिन्छ ।

पुरातात्विक विभागबाट आर्थिक वर्ष २०७५÷०७६ मा रु १५ लाख र आ.व. ०७६÷०७७ मा रु २८ लाख गरी रु ४२ लाखको लागतमा मन्दिर निर्माण कार्य सकिएको हो । लक्ष्मीनारायणको मन्दिर यो क्षेत्रकै धार्मिक गहनाका रुपमा लिने गरिन्छ । पहिले पहिले पैदल हिडेर एक दुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बुढापाका बताउँछन् ।

रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकिय क्षेत्रका रुपमा समावेश गरेको छ । कालीगण्डकीको तट, कालीगण्डकीको करिडोर नजिकै रहेकाले पनि यो क्षेत्रमा अवलोकन गर्न जानेको अहिले चहलपहल बढ्दैछ ।

मन्दिरसम्म पुग्ने सडक सुबिधा भएपछि यहाँ घुम्न जानेको आकर्षण बढ्दो छ । बिशेषगरी शनिवार र सार्वजनिक विदाका दिन रामघाट परिषर घुम्न पुगेका आन्तरिक पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसंग लोभिन पुग्छन् । यहाँ रामनवमी, कृष्णाजन्माष्टी, अक्षयतृतिया पर्व र नयाँ वर्षका दिन बिशेष मेला लाग्दै आइरहेको छ ।

रामघाटको महत्व

कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका ३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पुजाआजा गरी पुनः लक्ष्मीनारायण मन्दिरमा नै आएर पुजा गर्ने चलन रहेको छ । यसो गरेमा पुण्य प्राप्ती हुने विश्वास गरिन्छ

रामघाट पौराणिककाल देखी नै तीर्थस्थलको रुपमा चिनिदै आएको पवित्र धार्मिक तीर्थस्थल हो । भगवान् रामचन्द्रले त्रेता युगमा बनवासको क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनी बोलाई यज्ञ गरेको नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ । द्धापर युगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको र शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको वाणको सहयोगबाट जल आउने गरेको तथ्य गंगामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ ।

पौराणिक किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान् राम बनवास जादा कालिगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुदा यस घाटको नाम रामघाट हुन गएको हो ।

पौराणिक कालदेखी तीर्थालुहरु आउने स्नान गर्ने, यज्ञादी गर्ने आदी गर्दै आएतापनि दुई सय वर्ष अगाडी लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको विस १८८९ को सनतबाट प्राप्त प्रमाणबाट पाइन्छ । सामाजिक हितका राखिएको यो गुठी स्थापना कालदेखी नै दैनिक पुजाआजा व्यवस्थापन रेग्मी परिवारबाट गरिदै आएको छ । मन्दिरको अवस्था नाजुक बन्दै गएपछि विसं २०७४ देखी दश वर्षे गुरुयोजना तयार पारिएको छ । विसं १८७० को समयतिर स्थानीय तुल्सीराम रेग्मीलाई राती सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पुजाआजा गर्न दर्शन दिएपछि वि सं १८८९ मा मन्दिर स्थापना गरिएको हो ।

रामपुर नगरपालिका वडा नं ८ बस्ने स्थानीय कृष्णप्रसाद पौडेलको रु तीन लाख र संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीबाट रु ४२ हजारमा मुल गेट, वठा नं ५ बस्ने टिकाराम मल्लबाट रु एक लाख ५० हजार सहयोगमा मन्दिर प्रवेशद्धारा निर्माण गरिएको छ ।

प्रसिद्ध तीर्थस्थलका रुपमा रहेको रामघाट क्षेत्रलाई वडा र नगरले धार्मिक तथा पर्यटकिय विकासमा जोड दिएको रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल बताउछन् । मन्दिर संचालनका लागी रामपुर नगरपालिका वडा नं ४ र ५ मा करिव दर्ता भएको एक हजार रोपनी र दर्ता नभएको एक हजार एक सय रोपनी जग्गा रहेको छ । रामपुर नगरपालिका वडा नं ४ खोप्टारमा करिव १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जिर्ण अवस्थामा रहेको एउटा धर्मशाला पार्टी भवन पनि रहेको छ ।

SHARE