रामपुर नगरपालिकामा स्वागत तथा सम्मान कार्यक्रम

0
159

सुशीला रेग्मी
चैत २२,२०७९ पाल्पाःरामपुर नगरपालिकामा स्वागत तथा सम्मान कार्यक्रम भएको छ ।

नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा रामपुर आउनुभएका जिल्ला न्यायाधीश कमलराज बिष्ट, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्भ शर्मा, सशस्त्र प्रहरी नायव उपरीक्षक उद्दव वन लगायतलाई स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले ढाकाटोपी, खादा र मालाले स्वागत गर्नुभएको छ ।

नगर प्रमुख थापाले रामपुर नगरपालिका कार्यालयका गतिविधिबारे जानकारी दिनुहुदै रामपुरमा बाहिरबाट नै हेर्ने नजर नकारात्मक रहेको हल्ला फैलाउने गरेको र यहाँ नयाँ आउने कर्मचारीलाई नकारात्मक कुरा अनावश्यक सुनाउने गरेकाले लामो समयसम्म बस्न नचाहेको बताउनुभएको छ ।

नागरिकता, जन्मदर्तामा धेरै समस्या देखिएको, कतिपय सन्दर्भमा नियम र कानुन पालना गर्दै व्यावहारिक पक्षलाई पनि मध्यनजर गर्दै काम गर्नु परेको, कम जनशक्तिका बाबजुद पनि ईलाका प्रहरी कार्यालय रामपुरले सेवा दिईरहेको हुदा रामपुर क्षेत्रमा बसोबास गर्नेको जनघनत्व बढ्दै जादा शान्ति सुरक्षालाई थप मजबुत र व्यवस्थित बनाउन प्रहरी उपरीक्षक सहितको जनशक्ति थप गर्नुपर्ने नगर प्रमुख थापाले बताउनुभएको छ ।

कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नुभएको हो । वंशज, ठेगाना नखुलेको ज्येष्ठ नागरिकको नागरिकता, बालबालिकाको जन्मदर्ता, बालविवाह, अवैध गिट्टी बालुवा उत्खनन्, शान्ति सुरक्षामा चुनौती सम्बन्धी समस्याका बारेमा सहभागीले जानकारी गराएका छन् । जिल्ला न्यायाधीश कमलराज बिष्टले स्थानीय तहमा न्यायिक समितिले हेर्ने मुद्दा जिल्लामा आउने गरेको बताउनुहुदै सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउन अनुरोध गर्नुभएको छ । साथै उहाँले न्यायिक समितिमा परेका निवेदन मेलमिलापबाट भएन भने फैसलाबाट जानुपर्ने बताउनुभएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आफ्नो कार्यकालको पहिलो करिव एक वर्षको अवधिमा ६४ वटा निवेदन न्यायिक समितिमा दर्ता भएकोमा ३३ वटा मेलमिलापबाट मिलाइएको बताउनुहुदै सबैभन्दा धेरै निवेदन जग्गा विवाद सम्बन्धी आउने गरेको बताउनु भएको छ । उहाँले न्यायिक समितिले गरेका कामका सन्दर्भमा जानकारी गराउनुभएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जन्मदर्ता तोकिएको निश्चित समयभित्र बाहेक पछि सच्याउन नपाईने, नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम गल्ती भएमा शैक्षिक प्रमाणपत्रको आधारमा सच्याउन मिल्ने, नागरिक लिन वंशजको आधारमा खुलेको हुनुपर्ने, अंशवण्डा लगायतका कारणले नागरिक नबनेको अवस्था छ भने प्रहरीको सहयोगमा नागरिकता बनाउन सकिने, नागरिकता विधेयक संशोधन नहुदा समस्या परेको बताउनुभएको छ ।

वडामा विभिन्न प्रकारका विवरण आउने भएकाले वडा सदस्यलाई तालिमको व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्भ शर्माले प्रहरीमा आएका गुनासा र समस्याको समाधानमा नेपाल प्रहरी तल्लीन रहेको बताउनुहुदै कुनैपनि घटनाको निश्चित म्याद तोकिएको हुदा समयमा निवेदन दर्ता गर्न अनुरोध गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवि सन्दिप रानाले लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, १२ देखि १४ वर्षका उमेर समुहका बालबालिका असुरक्षित यौन सम्पर्कले गर्भपतन गराउदा स्वास्थ्य जोखिममा परेको बताउनुहुदै जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, सुरक्षाकर्मी, पत्रकार, सामाजिक व्यक्तित्वको सहभागीता थियो ।

 

SHARE